आहा ! ‘ढोरपाटन बुकी’ : जसले लोभ्याई रहेको छ पर्यटक

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू-भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारै तिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा-टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्र अहिले पर्यटकको चहलपहल बढ्न थालेको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ । त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाएको हो । प्राकृतिक सुन्दरताले परिपूर्ण ढोरपाटनमा धेरैको रोजाईमा परेको छ । ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए ।

बुकी पुगेका पर्यटकले त्यहाँको भिडियो तथा तस्बिर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फैलाएपछि भाइरल बन्यो । अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहान्छन् । दशक अगाडिदेखिनै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले वर्षेनी हजारौँको संख्यामा आउने गरेका छन् । ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ समय मिटरको उचाई पर्छ । ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नु पर्छ । पैदल यात्रामार्फ बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ । २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । यहाँ सयौँको संख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् ।

बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ । बर्खा याममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् । बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ । प्रचारप्रसारको अभावमा आझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार हुन थालेको छ । त्यसले गर्दा एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी चढ्ने गरेको ढोरपाटन नगरपालिका-९ का व्यवसायी सन्देश थापाले बताउनुभयो । गत असारदेखि हालसम्म ८० समूहका करिब ५०० पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उहाँको भनाइ छ ।

बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउराली लगायत थुप्रै ठाउँ पर्छन् । बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन् । यस वर्षदेखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठस्टे (गोठबास) स.चालन गरेको उहाँको भनाइ छ । बुकीमा टाढा-टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएको हुँदा गत असार २९ गतेदेखि गोठस्टे संचालन गरेको थापा बताउनुहुन्छ । बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठलो जीवन, धौलागिरी, माछापुछ्रे, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमश्रृङ्खला अवलोन गर्न सक्ने उहाँको भनाइ छ । बुकी चढ्ने सिजन जेठदेखि कार्तिक पहिलो साता भएको थापा बताउनुहुन्छ ।

थापाले भन्नुभयो - “बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र हो, यो ठाउँ निकै मनोरम छ, अहिल जति पनि ढोरपाटन उपत्यकामा पर्यटक आउनुहुन्छ, उहाँहरुले यहाँको कुनै महशुस गर्न सक्नु भएको छैन, ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एक पटक पुग्नै पर्छ, गत वर्षसम्म त खास्सै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले भिडियो र फोटो खिचेर जानु भयो, ति भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउने मान्छेको चाप बढेको छ ।”

कार्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ । गोठाला पनि बेसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिदैनन् । ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको बताउनुभयो । पाँच वर्षदेखि ढारपाटन उपत्यकामा आउने पर्यटकको संख्या बढेको भन्दै पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उहाँको भनाइ छ । बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा आफूहरुले प्राथमिक उपचारका बिधि सिकाउने र बेसीबाट आएकाहरुलाई एकै पटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउनुहुन्छ । यसै बर्खा लागे सयौँको संख्यामा पर्यटक बुकी उक्लिएको उहाँको भनाइ छ ।

“बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन, तर नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी उक्लिएको पाएका छौँ, शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन्, बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ” अध्यक्ष पुनले भन्नुभयो - “चार/पाँच घण्टा यात्रा गर्नु पर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरु छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीहरुलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ ।”

गलकोटबाट घुम्न जानु भएकी समिता अर्गेजाले बुकी निकै मनमोहक रहेको बताउनुभयो । ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा थकाई लागेको सुनाउँदै बुकी पुगेपछि देखिएको दृश्यले एकैछिनमा थकान मेटाएको उहाँको भनाइ छ । अर्गेजाले चार जनाको टोली गएको भन्दै बुकी पुग्ने ठाउँ-ठाउँमा सूचना बोर्ड राखे बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने बताउनुभयो । बुकी प्रचारप्रसार गर्न सके देशै उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुई मत नभएको उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?