
त्यो गाउँको भेलबाट यो शहरको जेल, यस शहरको जेलबाट ती गाउँका मेल निकै मीठा लाग्दा रहेछन् । गोठमा मात्र केन्द्रित हुनुको निरर्थकताबाट माथि, सार्थकताभन्दा पर पुगेर सम्झँदा नै सम्झनाको संसारमा सौन्दर्यको गुलाफ फुल्दोरहेछ । एकाबिहानै नाम्लाडोरी वा डोकानाम्ला बोकेर पटुकाभरि मकैका घान घुसार्दै, भटमास टोक्दै र गहुँका गेडा छाम्दै लम्मेतान लहरसँग जसमा भिन्न भिन्न जाति छन् तर भेद छैन । भिन्न भिन्न धार्मिक समुदायका अनुहार छन् तर पृथकता छैन । फरक राजनीतिक आस्थाका आवाज छन् तर वैमष्यता छैन । असाध्य धनी र तन्नम गरिब पनि छन् तर रबाफ एवं निरीहता छैन । बलिया जलगैँडे शरीर र परालत्यान्द्रे तनहरू छन् तर अहङ्कार र हीनताभासका सङ्केतहरू कतै छैनन् ।
काङ्ग्रेस, एमाले, माले, माओइष्ट वा राष्ट्रिय प्रजातन्त्रवादी भनौँ वा राष्ट्रिय स्वतन्त्रतावादी पार्टी भनौँ यी जम्मै अपराधका डम्फूहरू हुन् । वर्गीय स्वार्थका भेडाहरू । यिनमा न कुनै सहिष्णुता छ न कुनै समन्वयात्मक नवमार्ग अन्वेषणको दार्शनिक उत्खनन्को गहिराइ । यी भेडाका जमातहरू भोक लागे चिच्याउँछन् वर्गीय स्वार्थका आवाजमा ।
त्यो म त्यस बेला हिँडेको तत्कालको जमातमा आस्था छ कर्मप्रतिको । लक्ष्य छ यस बिन्दुमा पुगेर यो गर्छु म भन्नेभित्र हामीको । यति समयमा गर्छु भन्ने सीमा छ समयसीमा । त्यसभन्दा एक पल यताउता हुनुहुन्न । भयो भने अनर्थ हुन्छ । त्यो पनि कानुनी अनर्थ होइन, अदालती लम्मेतान अनर्थ होइन । यस्तो भएमा फेरि अर्को अनर्थ हुन्छ तर यो हुनै पाउन्न, हुँदै हुन्न प्रकृतिको विधानमा । त्यहाँ अन्य भिन्न लक्ष्यको घोडचढी दौड छैन । सारा भिन्नता अन्तरमा सञ्चित गरेर, गरेको छु भन्ने पनि थाहा नै नपाई एउटै लक्ष्यमा लम्मेतान जीवनयात्रा उठेको छ । झिनोमसिनोमा पसेर हेर्ने हो भने एउटै मूललक्ष्यका भिन्न शाखाहरू छन् त्यता ।
बडो रमाइलो साम्राज्य । न लिखित कानुनी दस्तावेज, न पुलिस्, न नियमको बन्धन । स्वतस्फुर्त यी सबै चिजहरू छन् त्यस संसारमा । लैना वस्तु घरमा हुनेहरू कलिला घाँस, लहरेदार जो खान चपाउन सजिलो हुन्छ, दूध मजाले जम्मा गर्छ अर्थात पघार्छ त्यस खालका घाँस चाहिनेहरूका बाटा निश्चित बिन्दुबाट मोडिन्छन्- देब्रेतिर जसलाई पाताल भनिन्छ । थुम्की, घुर्पिसे, खोक यसका अन्तर नामहरू अनगिन्ती छन् । राज्यव्यवस्थाको केन्द्र माथिदेखि तलसम्म, तलदेखि परसम्म हुँदै सात, सातबाट अनेकौँ वडामा विभाजित भएझैँ ।
पातालतिर लैना वस्तुका लागि खानका खोजमा जानेहरू दूधे लहरा तान्छन् । माल्कागिनो छान्छन् । दब्दबे भाँच्छन् । काइया चिमोट्छन् । काँडादार बल्छे जो रूखो जस्तो देखिए पनि अत्यन्त दूधालु हुन्छ सरक्क समात्छन् । झपक्क पार्छन् । यी नै यिनीहरूका आजका सीमाभित्रका कार्यसम्पादन हुन् । चुक हुन्न अचुक रहन्छन् यिनमा ।
भालेपोथीकै सुरक्षार्थ भालेपोथी नै समान रूपले मिलेर चलाइएको प्राकृतिक राज्य जति आनन्ददायी छ, जति समानुपातिक छ, जति न्यायिक छ ठीक उल्टो यी संसदमारकहरू, यी वर्गीय भारकहरू, यी कृत्रिम तर परिवार स्वार्थका मानवतस्करहरूले सञ्चालन गरेको देश नामको दुष्ट सत्ता छ विश्वभरि नै ।
धेरै वस्तुपाल्नेहरू-गाईभैँसी बाख्रा थुपार्नेहरूका लक्ष्य भिन्न छन् । गति फरक । त्यहीँ जम्मा भएर भाले हुन् वा पोथी, पोथी हुन् वा भाले लैङ्गिक भेद प्राकृतिक बनोटका दृष्टिले जति छ, जे छ, छँदै छ तर मान्छेका व्यवहारमा भिन्नता कत्ति पनि छैन, छँदै छैन । विचारमा भिन्नता छैन । सोचमा भिन्नता छैन । स्त्रीपुरुष सँगै गट्टा छिन्केर जितेर वा हारेर पनि उही हँसमुख चेहराले, पवित्र मनले नाम्लाडोरी र डोकासँगै दायाँ बाटो मोडिन्छन् । माथि मजुवामा पुग्ने, भस्मेमा खस्रुका रुख चढ्ने, गैरीमा लट्टा परेका खस्रुका डाला छप्काउँने । भालेपोथीकै सुरक्षार्थ भालेपोथी नै समान रूपले मिलेर चलाइएको प्राकृतिक राज्य जति आनन्ददायी छ, जति समानुपातिक छ, जति न्यायिक छ ठीक उल्टो यी संसद्मारकहरू, यी वर्गीय भारकहरू, यी कृत्रिम तर परिवार स्वार्थका मानवतस्करहरूले सञ्चालन गरेको देश नामको दुष्ट सत्ता छ विश्वभरि नै ।
त्यहाँ गति प्राकृतिक छ यहाँ कृत्रिम । त्यहाँ स्वभाविक छ यहाँ अस्वाभाविक । त्यहाँ सहज छ यहाँ असहज । त्यहाँ स्फुर्त छ यहाँ बनावटी । त्यहाँ सहज आफैँ बनेको समानुपातिक छ यहाँ बनाइएको भेदीकृत । त्यहाँ अखण्ड छ–विचारमा अखण्डता । बोलीमा अखण्डता । विश्वासमा अखण्डता । व्यवहारमा अखण्डता । मान्छेमा उच्च मानवीय अखण्डता । यहाँ यी सबैका वा सबैमा ठीक विपरीतता वा उल्टो छ । व्यक्ति स्वार्थमा अखण्डता । झुठ जिब्रोमा अखण्डता । बेइमानीमा अखण्डता । विभाजनमा अखण्डता । गालीगलौजमा अखण्डता । विकृत अनुहारमा अखण्डता । त्यता लक्ष्यमा कुनै व्यक्ति दुर्बल होस् अर्कोले आफू समानको आफू जस्तै गुण भएको अझ दुर्बलले चाहे जस्तै घाँस काटेर भारी छाँदिदिने, दाउरा खोजेर डोको भरिदिने कार्य त्यताको मानवीय धर्म हो, नित्यकर्म हो ।
कुनै पनि बलियो व्यक्ति दुर्बललाई छाडेर एक्लै हिँड्दैन असल दुर्बल छ भने । आफ्नो विचार पनि उसले उसमाथि लाद्धैन । दुर्बललाई सोचेर उसले जे चाहेको हो, जति चाहेको हो, मानवीय सीमामा त्यो त्यस्तै त्यति नै त्यसैगरी पूरा गराएर उही समयमा उसलाई सँगै लिँदै बासस्थान पुग्ने अपूर्व परम्पराको जगबाट कृत्रिम राज्यव्यवस्थाका कथित मलामीहरू हिँड्न सक्छन् ? असम्भव ! यो समानता ऋषिकुलको परम्परामा पनि छैन, पाउन सकिन्न ।
यिनीहरू पनि गुरुशिष्यबीच नै असमानताका भिन्न रेखाहरू कोरेर दौडन्छन् । दासता र मालिकीपनको गन्धे संस्कारबाट ग्रस्त छ कथित उत्कृष्ट ठानिएको यो परम्परा पनि । यसबाट नै परितोषित छ यो दुर्गन्धे भेल बग्न विवश बनेर निर्मित भएको जेल पनि । तिनै वास्तविक अपराधी चाहिँ जेलका हाकिम जेलर बनेर बसेका छन् । जसले मेडिसिनका म चिनेका छैनन् तिनै डक्टर छन् यहाँ । जो सज्जनको हत्यारा बनेर छिरेका छन् तिनै अहिंसाका प्रवचन मास्टर बनेर आसन कसेका छन् यता ।
धेरै यस्ता देखेर, खोज्दा पनि त्यस्ता नपाएर हृदय विदारक बनेको म चेतन आत्महत्याको निचोडमा त छँदै थिएँ समय अनुकूलको आगमनमा पनि व्यग्र । मैले भान्साका एक जनालाई मित्र बनाएँ– घनिष्ठ मित्र तर नामोल्लेख गर्न चाहिँ असमर्थ छु उनी जेलमा नै भएका कारण । अन्यत्र सम्भव कमै हुन्छ जेलमा आत्महत्या गर्न । एकान्तस्थल मिल्छन्, कोठो पाइसकेपछि त्यहाँ समय पनि मिल्छ तर साधन हुँदैनन् ।
लेखपढ गर्ने साधनले गर्न त सकिन्छ तर ज्यादै दुःखले मात्र । एक त संसारमा दुःख भयो भनेर मर्नु छ, मरेपछि पनि सुख छ कि दुःख थाहा छैन नै । मर्दा नै भयानक कष्ठ खप्नुप¥यो भने त्यो आत्महत्या के हत्या ? भान्साका एकान्तमा खुकुरी, चक्कु, खुँडा, तरवार, त्यहाँ त जे पनि छन् । मित्रसँग बिस्तारै योजनाका दृढतामा अगाडि बढ्दै जाँदै छु म ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच