काठमाडौं । नेपाल पौडी संघद्वारा आयोजित आधारभूत पौडी प्रशिक्षक तालिम सम्पन्न भएको छ । शनिबार सातदोबाटोस्थित पौडी पोखरीको कार्यालयमा नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर तालिमको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गर्नुभयो । ‘अहिले देशको परिस्थिति जुन छ, त्यसलाई ध्यान दिएर पौडी संघले यो तालिम आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो ‘आज हरेक गाउँमा पौडी पोखरी आवश्यक छ । हरेक गाउँमा पौडी पोखरीको निर्माण गर्ने हो भने गाडी दुर्घटना भएर खोलामा खस्दा पनि मान्छे बाँचेर फर्कन्थे ।’
प्रमुख अतिथि बस्नेतले पौडी संघको नवनिर्वाचित टिमलाई उत्कृष्ट काम गरेर अगाडि बढ्न सुझाव दिँदै आफ्नो ठाउँबाट संघलाई आवश्यक सहयोग हरेक पाइलामा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै पौडी संघका अध्यक्ष जगत्मान श्रेष्ठले नेपालमा पछिल्लो समय पौडी प्रशिक्षकको धेरै माग रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पौडी पोखरी निर्माण गर्दा मापदण्ड पूरा नगरी बनाउने गर्दा पोखरीमै मान्छेको ज्यान गएको गुनासो गर्नुभयो । ‘पछिल्लो दिन पौडी पोखरीमै मान्छेको ज्यान गइरहेको छ । जसको कारण भनेको पौडी पोखरी निर्माण गर्दा नै मापदण्ड पूरा नगरी बनेकाले हो,’ उहाँले भन्नुभयो ।
सरकारले पोखरी निर्माण गर्दा पौडीविज्ञको सुझाव लिएर निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो । उहाँले पौडी खेलमात्रै नभएर मान्छेको ज्यान जोगाउने कला पनि भएकाले यसलाई सरकारले छुट्टै नीति बनाएर अगाडि बनाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै संघको महासचिवसमेत रहनुभएका तालिमका मुख्य प्रशिक्षक ईश्वरमान कार्कीले पौडी स्वस्थ रहन अत्यन्त आवश्यक रहेको जिकिर गर्नुभयो । ‘मान्छेहरू स्वस्थ रहन व्यायाम गर्छन्, विभिन्न खेल खेल्छन् । अरू खेल खेल्दा हातखुट्टा भाँच्ने, चोटपटक लाग्ने गर्छ । तर, पौडी जानिसकेपछि त्यस्तो हुँदैन । यो सिक्दा पनि धेरै चोटपटक लाग्दैन,’ उहाँले भन्नुभयो । पौडी खेलबाट पनि नाम, दाम सँगै धेरै कुरा प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो ।
यही भदौ १३ गतेबाट सुरु भएको पौडी प्रशिक्षक तालिममा ३० जना सहभागी रहेका संघका सचिव गंगालाल गोलेले जानकारी दिनुभयो । तालिममा सहभागी भएकाहरूलाई प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच