हरेक वर्षजस्तै यसवर्ष पनि तीज नेपालीहरूको घर-आँगन आउँदै छ । यो हिन्दु नारीहरूको महत्वपूर्ण चाडको पर्व हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म लगातार चार दिन मनाइन्छ । तर, पछिल्ला दिनहरूमा यो चाड हाम्रा अन्य चाडभन्दा लामो हुँदै गएको हो कि भन्ने भान हुनथालेको गुनासो सुन्न थालिएको छ । तीजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ भने छोरीचेलीलाई घरमा बोलाएर मीठो खुवाउने प्रचलन रहँदै आएको छ । यसको अर्को मौलिक पक्ष भनेको नाचगान र मनोरञ्जन पनि हो । हिन्दु महिलाहरूद्वारा स्वतन्त्र तथा आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
नेपालका प्रायः सबै समुदायका महिलाले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको छ तीज । बहुसांस्कृतिक पर्वका रूपमा विकसित भइरहेको तीज अब हिन्दु महिलाहरूमा मात्र सीमित नरही, सबै जातजातिका महिलाले मनाउने साझा पर्वका रूपमा विकसित भइरहेको छ । नेपालीहरूका ठूला चाड दशैँ र तिहार पछिको तेस्रो ठूलो चाडका रूपमा स्थापित हुँदै गएको छ तीज ।
यो चाड मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै-कुनै प्रान्तमा पनि मनाउने गरेको पाइन्छ । तीजनजिकिँदै जाँदा बजारमा तीजसम्बन्धी गीतको चर्चा भइरहेको छ । तीजको सवल पक्ष भनेको गीतसंगीत हो । यो अवसरमा युट्युबमा तीज गीतले भरिएका छन् भने टेलिभजन, एफ रेडियोमा तीज गीतले महत्व पाइरहेका छन् । सबैतिर तीजमय बन्न थालेको छ । काठमाडौंका पाटी प्यालेस, प्रज्ञा भवन, राष्ट्रिय सभा गृह, यूएन पार्क, कृष्ण मन्दिर र अन्य मठ मन्दिरमा महिलाहरूले तीजका गीतमा कम्मर मर्काइ-मर्काइ नाचेको हेर्न पाइन्छ । काठमाडौंका विभिन्न ट्रेड सेन्टरमा तीज महोत्सव मेला नै लाग्ने गर्दछ । यस्तो मेला देशका अन्य शहरमा पनि लागेको पाइन्छ । तीज विशेष कार्यक्रम भइरहेका छन् । विभिन्न संघसंस्था तथा समूहको आयोजनामा यस्ता कार्यक्रम हुने गर्दछन् । तीज गीतका लागि लक्षित अवार्डहरू पनि भइरहका छन् ।
धर्म, संस्कृति जोगाउने नाममा आडम्बर सम्भ्रान्त समाजले भित्र्याएका तडकभडक जस्ता विकराल विकृतिलाई हटाउने प्रयत्न गर्नु सभ्य र सचेत नारीको कर्तव्य हो । परिवर्तन हुनु नराम्रो कुरो त होइन तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ ।
तीज आउन तीन महिनाअघिबाटै अन्य गीतलाई पन्छाएर म्युजिक कम्पनीहरू तीजका गीत बजारमा ल्याउन लागि पर्ने गर्दछन् । तीजका गीत धेरै बजारमा आउनु राम्रो हो । यसको भावना र मर्मलाई बुझेरमात्र गीत लेखन कार्यहोस् । तीजका गीतलाई रत्यौली नबनाइयोस् । गाईजात्रे गीत नबनाइयोस् । आफ्नो मौलिकपन कायम राख्न सकेनौ भने हाम्रो आफ्नो पहिचान नै खतरामा पर्नजान्छ भन्ने जस्ता आवाज हरेक वर्ष जस्तै यस वर्ष पनि सुनिए । तीज हो कि रत्यौली ? जस्ता प्रश्न हामीमाझ तेर्सिरहेका छन् ।
धार्मिक आस्था, संस्कारमा रहेर मानाइने तीज समयको मागअनुसार सही रूपमा परिमार्जन हनुपर्नेमा पवित्र धार्मिक संस्कारमा विकृति भित्रिन लाग्यो भन्ने सबैको चासो र चिन्ताले पनि होला यस्ता प्रश्न उठने गरेको । धर्म, संस्कृति जोगाउने नाममा आडम्बर सम्भ्रान्त समाजले भित्र्याएका तडकभडक जस्ता विकराल विकृतिलाई हटाउने प्रयत्न गर्नु सभ्य र सचेत नारीको कर्तव्य हो ।
तीज नेपाली महिलाहरूको आफ्ना भावना पोख्ने पर्वको रूपमा परिचित थियो र छ । तर, पछिल्लो समयमा आएर महिलाहरूको भावना पोख्नेभन्दा व्यवसायिक हुँदै गएको छ । परिवर्तन हुनु नराम्रो कुरो त होइन तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ । वर्तमान पुस्ताको जिम्मेवारी भनेको हाम्रा भाषा, साहित्य, कला र संस्कृतिलाई भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु हो ।
तीज पर्व नजिकिँदै गर्दा बजारमा तीज गीतको मूल मर्मबाट बाहिरिएर तयार पारिएका कतिपय गीतले तीजको मौसमी बजार पाए पनि यस्ता गीत मौसमीमात्र हुन् । परम्परागत सौन्दर्य गुमाएर ‘झाम्रे’ जस्तै भए कतिपय गीत भन्ने यसैसँग सम्बिन्धितको गुनासो आएको छ । यतिबेला जताततै तीजमय छ । जता गए पनि तीजकै रौनक छ । तर यो पर्वलाई कति हामीले सीमाभन्दा बढी त गरिरहेका छैन भन्ने देखिन्छ । दर खाने नाममा रेष्टुरेन्टमा गएर दारु खाने र भद्दा गीतमा भद्दा डान्स गर्नुलाई कसरी तीज भन्ने होला र ?
तीज गीत त हाम्रो मौलिक संस्कृतिको धरोहर हो । तर, हिजोआज मूल मर्मतिर छैनैँ कि जस्तो लाग्छ, पारिवारिकजस्तो छैन, बरू कतै उट्पट्याङ जस्तो भएको छ ।
लोग्ने विदेश छ भनेर टोलमा फुईं लाउँछे,
फेरि किन त्यसका बाजे तीन महिने सुई लाउँछे !
यस्ता गीतलाई कसरी तीज गीत भन्ने ?
‘विस्ताराले पोल्यो, ठेल न बुढी ठेल, नाइटो छेडी नत्थी लाउँछु ल, बालेन जस्तो केटा पाए पोइल गइदिन्छु, चेयर्स बियर, टिकटकमा भाइरल हल्लाएरै हो’ जस्ता द्विअर्थी र सिधै अश्लीलता व्यक्त हुने शब्द राखेर गीत निकाल्ने र भाइरल हुन खोज्ने प्रवृत्तिले तीज गीतको महत्वलाई ओझेल पार्दै गएको छ । अपाच्य शब्दको प्रयोग र त्यहीअनुसारको वेषभूषामा छायांकन भएका गीतका भिडियोले तीजको मौलिकतामाथि प्रहार गरेको छ । यसको विधान खल्बलिँदै गएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
तीज गीत घटनाप्रद हुने हुँदा यस गीतले घटना खोज्नेभन्दा पनि क्षणिक र सस्तो रमाइलो विषयवस्तु हावी भइरहेको कतिपय पुराना सर्जक गुनासो व्यक्त गर्नुहुन्छ । उहाँहरूका अनुसार ‘आज भोलिका तीज गीतको पौराणिक मान्यता, घटना, विषयवस्तुसँग जोडिएको र युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान भएको पाइँदैन । त्यस्तै वर्षभरिका आफ्ना दुःख, पीरवेदना र चोटहरू सार्वजनिक गर्ने माध्यम बन्थ्यो तीज, महिलाका कुण्ठित सिर्जनाबाहिर आउँथे, समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तीजका गीतहरूले तर अहिले त्यस्तो छैन गीत । अहिले सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ तीजका गीतमा ।’
हाम्रो संस्कृति र परम्परा पृथक छ । यसको जगेर्नामा हामी सबै लाग्नुपर्छ । तीजमा महिलाहरूले आफूले भोगेका सामाजिक बन्धन, पारिवारिक हिंसा र अत्याचारप्रति कटु व्यंग्य तथा विद्रोहका स्वरहरू तीजका गीतमा सुनिने भए पनि विगत केही वर्षदेखि त्यस्ता गीतभन्दा क्षणिक रमाइला गीतले बजार पाएका छन् । पछिल्लो समयमा तीज गीतको मौलिक र शास्त्रीय परम्परामा ह्रास आएको छ । तीज नारीहरूको पर्व हो गीत पनि त्यस्तै झल्किने खालका हुनुपर्थ्यो । तीजका गीत अन्धविश्वास, हिंसा, विसंगतपूर्ण व्यवहारका विरुद्ध र समानतामूलक समाज निर्माणका लागि हुनुपर्छ ।
दर खाने नाममा रेष्टुरेण्टमा गएर दारु खाने र भद्दा गीतमा भद्दा डान्स गर्नुलाई कसरी तीज भन्ने होला र ? तीज गीत त हाम्रो मौलिक संस्कृतिको धरोहर हो । तर, हिजोआज हामी मूल मर्मतिर छैनौँ कि जस्तो लाग्छ । पारिवारिकजस्तो छैन, बरू कतै उट्पट्याङ जस्तो भएको छ । अपाच्य शब्दको प्रयोग र त्यही अनुसारको भेषभूषामा छायांकन भएका गीतका भिडियोले यसको मौलिकतालाई गिज्जाइरहेको छ ।
तीजलाई महिलाहरूको चाडको रूपमा चिनिए पनि अहिले आएर पुरुषहरूले पनि तीज गीत गाउन थालेका छन् । तीज गीत र दोहोरी गीतमा फरक छुट्याउन गाह्रो भएको छ । गीत गाउने र चर्चा बटुल्ने नाममा अभद्र, अमर्यादित र छाडा गीतसंगीतले प्रश्रय पाउनु हुँदैन । तीजका गीतमा खासगरी माइतीघर र घरको बिम्ब पाइने गरे पनि अहिले भने युवायुवतीको प्रेमका गीतहरू बढी पाइने गरेको पाइन्छ । यो समयको माग हुनसक्छ । समय सधैं एकनासको त हुँदैन नि भन्दै समयको मागनुसार गीतसंगीतको बजारमा परिवर्तन आएको केही सर्जजकहरू दाबी गर्नुहुन्छ । उहाँहरू भन्नुहुन्छ, ‘दर्शक श्रोताले मन पराए भने भल्गर र अश्लील भए पनि केही फरक पर्दैन । फेरि हाम्रो गीतसंगीतको कुनै नियम, सीमा र परिधि पनि त हुँदैन’ उत्तेजक गीत र भिडियोतर्फ आकर्षण बढ्नु समयको माग हो कि विकृति ? त्यस्तै तीजमा सन्देशमूलक गीतहरू नआएका भने होइन तर चर्चा भने उट्पट्याङ गीतहरूको बढी भएको पाइन्छ ।
हरेक वर्ष तीजको अवसर पारेर सयौं गीत बजारमा आउने गर्छन् । पछिल्लो समय काठमाडौं बाहिर पोखरा, बुटबलबाट पनि थुप्रै गीत सार्वजनिक हुने गरेका छन् । हरेक वर्ष सयौंको संख्यामा नयाँनयाँ गीत बजारमा आए पनि स केही साल पहिले गुञ्जने तीजका गीतहरू आज पनि उत्तिकै कर्णप्रिय छन् जसले आमनेपाली नारीहरूको वेदनालाई एकमुष्ठ रूपमा सम्बोधन गरेका छन् । तर आज माया-पिरती, बिछोड र मिलनबाहेक कुनै सन्देश गीतहरूले दिएको उतिसारो पाइँदैन । अझ द्विअर्थी र भल्गर गीतको चर्चा बढी हुने गर्दछ । आधुनिकताको नाममा आफ्नो रीतिरिवाज, धर्मकर्म अनी अनुशासित परम्परालाई कुल्चँदै गए नेपाली र नेपालको अस्तित्व कता जाला ? तीज मनाइरहँदा सर्जकहरूले यसतर्फ सोच्न जरुरी छ ।
परम्परागत रूपमा चल्दै आएको तीज पछिल्लो समयमा भड्किलो बन्दै गएको भन्ने आवज उठन थालेका छन् । कतिपय महिलाले यसलाई मनोरञ्जनका रूपमा लिने गर्दछन् । बाध्यतात्मक रूपमा मनाउनुपर्ने पनि छ कतिपयलाई । एक महिनाअघिदेखि चहल पहल सुरु भएको छ । कतिपयले यसलाई रोक्नुपर्छ भन्ने गरेका छन् । महँगो पहिरन, अनावश्यक गरगहनाको प्रदर्शन वास्तवमा विकृति हो । तीजका अवसरमा पहिरनका लागि महँगा कपडा, गहनाको खरिद र प्रदर्शन पनि विकृतिकै रूपमा देखिन्छन् ।
परम्पराको असल पक्षको जगेर्ना गर्नु राम्रो हो तर यसलाई थप विकृति र भड्किलो बनाउनु अझ जडतामा जानु समग्र समाज तथा स्वयं वर्षैंदेखि पिछडिएका महिलाको उन्नतिका लागि बाधक बनिरहेकोतर्फ सबैको ध्यान जानु आवश्यक छ । राजनीतिक क्षेत्रमा जतिसुकै परिवर्तन भए तापनि पछिल्ला वर्षमा हामी बढ्दो महिला हिंसाका बीचमा तीज मनाई रहेका छौं । बोक्सी, दाइजोको नाममा हुने महिलामाथिको यातना र हिंसा, बलात्कार महिलामाथिको दुव्र्यवहार आदि सामाजिक जीवनका नियमित घटना बनिरहेका छन् । महिलाका भनिएका तीजजस्ता पर्व यस्ता घटनाका विरुद्ध केन्द्रित हुन जरुरी छ । तबमात्र यस्ता पर्व मनाएको सार्थकता हुनेछ । यस पर्वको अवसरमा महिलाले यही संकल्प लिनु जरुरी छ । हरितालिका तीज-२०८१ को अवसरमा सम्पूर्ण दिदी-बहिनीमा हार्दिक मंगलमय शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच