
न्यूयोर्क । अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्षमुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप जितेको हो ।
त्यसैगरी ४० वर्षमुनिका सिनियर युथ समूहबाट एफसी रिभाइभल, ४० वर्षमाथिका भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरूले क्रमशः १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीहरूका लागि मात्र यी खेलहरू आयोजना गरिएको थियो ।
अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा सेप्टेम्बर १ तारिखमा सम्पन्न भएका यी खेलका विजयी टिमलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभएको थियो । यी खेलहरूमा उपविजेता हुने टिमले क्रमशः १० हजार, आठ हजार र ५ हजार प्राप्त गरेका छन् ।
युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्स, भेट्रान्सतर्फ न्युयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपका लागि भने लगातार तीनपल्ट खेल जित्नुपर्ने नियम बनाइएको छ । उपविजेताहरूलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली जातिका दर्शकहरूको समेत ठूलो उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएको आयोजनास्थलका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो ।
जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योङ गाइज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी थिए ।
४० वर्षमुनिको सिनियर युथतर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्स, हृयारिसवर्ग भेट्रान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइबल, थ्री रिभर्स भेट्रान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेट्रान्स थिए ।
त्यसैगरी ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइबल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र हृयारिसवर्ग भेट्रान्स एफसीको प्रतिस्पर्धा छ ।
महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा भएको थियो । फाउण्डेसनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूल एवं नेपाली जातिका खेलाडीका लागि हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच