दुर्गममा विकासको प्रभाव : गाउँगाउँमा सडक, टोल टोलमा पसल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । उत्तरतर्फ बेनी-जोमसोम र पश्चिमतर्फ बेनी-दरबाङ सडकको ट्याक खुलेर यातायातका साधनहरु संचालनमा आएपछि म्याग्दीको ग्रामीण क्षेत्रको मुहार फेरिएको छ ।

जिल्लाका करिब एक दर्जन बढी क्षेत्रमा बजार विस्तार हुन थालेको छ । सुगम मानिने सदरमुकाम बेनीबजारदेखि सबैभन्दा विकट मानिने पश्चिम म्याग्दीको गुर्जासम्म बजार विस्तार भएका छन् । सडकसंग जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका स्थानीयले बताएका छन् ।

“अहिले जताततै बजार विस्तार हुँदै गएका छन् । आम नागरिकले सेवा सुविधा पनि पाउन थालेका छन् । सामान्य समान किनमेलका लागि घण्टौँ समय लगाएर बजार धाउनु पर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन् ।” मालिका गाउँपालिका ५ की इन्द्रमती फगामीले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनी बजारेदेखि पश्चिम म्याग्दीको मुनासम्मका दर्जनौँ स्थानमा अहिले साना-ठूला बजार विस्तार भएका छन् । अझै विकास हुने क्रममा छन् ।

२०६३ सालमा ट्याक खुलेको बेनी-दरबाङ सडकले म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका २७ वटा गाउँ र बागलुङ जिल्लाका तमान, बुर्तिबाङ, ढोरपाटन क्षेत्रका ९ वटा गाउँलाई जोडेको छ ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ र मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट त्यसभेगमा जाने १८ वटा गाउँमा ग्रामीण सडक विस्तार भएका छन् । सोही सडकको सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका २ को रणबाङ खोल्सा सम्मको करिव १५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

सडकले जोडेका सिंगा, तातोपानी, वावियाचौर, रणबाङ, तोराखेत, दरबाङ, मुना, धारापानी, ताकम, बिम, मराङलगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन् । अहिले बजार विस्तार हुन लागेका ठाउँहरू सडक पुग्नुभन्दा पहिला सुनसान थिए । तर, अहिले यहाँ निकै चहलपहल बढेको छ दरबाङका गोपाल सुवेदीले बताउनुभयो ।

सडकले धेरै सहजता प्रदान गर्नुको साथै जीवननै परिवर्तन गरिदिएको धौलागिरि गाउँपालिका-५ का शेरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले यति ठूला घरहरू बने, पसलहरू छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोँच्दै नसोचको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोँचेको पनि थिएन ।”

त्यसैगरी सडक र बजार विस्तारले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाका जनता र मुस्ताङीहरुको पनि जीवन शैलीमा परिवर्तन ल्याइदिएको छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी-जोमसोम सडकमा गाडी गुड्न थाले । बेनी-जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी ठाउँहरुमा बजार विस्तार भयो । म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो ।

उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा भारी बोकेर खाद्यान्न लगाएतका सामाग्रीहरु लैजाने भरिया र खच्चडहरूको ठाउँमा गाडीहरुले ढुवानी गर्न थाले । गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष क्या.डमबहादुर पुनले बताउनुभयो ।

सडक छेउमा वस्ती विस्तार हुने क्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको दानाका होटल तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।“सडक आएपछि माथि-माथि गाउँबाट मान्छेहरू तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो ।” शेरचनले भन्नुभयो ।

उहाँले सडकले गाउँ-ठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँहरू जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य, शिक्षालगायत धेरै सेवा सुविधा उपभोग गर्न पाएको बताउनुभयो । स्वास्थ्य उपचारको लागि टाढा-टाढा जाने बाध्यता हटेको भन्दै अहिले नजिकै उपचार पाउन थालेको स्थानीयले बताए । “सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यही गएपछि उपचार हुन्छ,”शिखका इन्द्र बरुवालले भन्नुभयो “पहिले न मोटरबाटो न अस्पतालनजिक निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो बजार पनि बन्यो र अस्पताल पनि बन्यो,हामीलाई निकै सजिलो भयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?