काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारीको रकम हिनामिनामा जोडिनुभएको छ । संसदीय समितिमा ललितपुरको ‘मितेरी बचत तथा ऋण सहकारी संस्था’का अध्यक्षसमेत रहनुभएका कुम्मराज गुरुङले दिएको बयानपछि सांसदसमेत रहनुभएका गुरुङ पनि सहकारी प्रकरणमा मुछिनुभएको हो । अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिनुभएको थियो । बयानका क्रममा उहाँले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको बताउनुभएको थियो । त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको उहाँको भनाइ थियो । तर, पाँच वर्षअघि नै ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको गुरुङको दाबी छ । ज्योति चार वर्षदेखि फरार सूचीमा हुनुहुन्छ । तर, गुरुङ र ज्योतिबीच कागजी रूपमा मात्रै ‘डिभोर्स’ भएको दाबीसमेत पराजुलीले बयानमा गर्नुभएको छ । ज्योति सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको उहाँको आरोप छ । यसबारे संसद्मा समेत कुरा उठेको छ । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको पराजुलीको दाबी छ ।
तर, कांग्रेस उपसभापति गुरुङले भने श्रीमतीसँग पाँच वर्षअघि नै सम्बन्धविच्छेद भइसकेकाले रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउनुभएको छ । सम्बन्धविच्छेद भइसकेकी श्रीमतीबारे आफूलाई थाहा हुने कुरै नभएको उहाँले बताउनुभयो । सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी पनि आफूले नलिने उहाँको भनाइ छ । ‘सम्बन्धविच्छेद भएकी श्रीमतीबारे थाहा हुने कुरा भएन । सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी त लिनै पर्दैन,’ उहाँले भन्नुभयो । सहकारी ठगी प्रकरणमा आफूलाई जोड्न नमिल्ने उहाँले बताउनुभयो । ज्योतिसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धविच्छेद भएकाले आफूलाई सहकारी ठगी प्रकरणमा जोड्न नमिल्ने उहाँको भनाइ छ ।
ध्यान मोड्न ममाथि आरोप लगाइयो, छानविन गरियोस् : गुरुङ
कांग्रेस उपसभापति गुरुङले सहकारी ठगी प्रकरणमा आफूमाथि छानविन गर्न माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले ज्योतिसँग सम्बन्धविच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानविन गर्न माग गर्नुभयो । सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानविन गर्न माग गर्नुभएको थियो । गुरुङले भने आफू छानविनका लागि तयार रहेको बताउनुभयो । ‘संसदीय छानविनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, उहाँले भन्नुभयो ।
विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि छानविन गर्न माग गर्नुभयो । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उहाँले भन्नुभयो । सहकारीको रकम अपचलनबारे संसदीय छानविन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको उहाँले आरोप लगाउनुभयो । रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्न आफूमाथि आरोप लगाएको उहाँले जिकिर गर्नुभयो ।
ज्योतिसँगको सम्बन्धविच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको पनि उहाँले खण्डन गर्नुभयो । ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरूलाई नक्कली देख्नु स्वाभाविकै हो’, उहाँले भन्नुभयो । ‘संसदीय छानविन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि, प्रमाण लुकाउन सक्ने गृहमन्त्रीजस्तो जिम्मेवार पदमा म छैन । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु,’ उहाँले भन्नुभयो, ‘मेराबारे लागेको आरोपको सत्यतथ्य छानविन गरिदिन म सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु ।’ उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो ।
प्रश्न उठिसकेपछि छानविन हुनुपर्ने कांग्रेसको नीति छ : थापा
कांग्रेस महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको बताउनुभयो । गुरुङ आफैँले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने थापाको भनाइ थियो । कुनै पनि प्रकरणमा कानुनको उल्लंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताउनुभयो । गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने बताउनुभयो ।
१४ करोड पचाउन गुरुङले सहकारीसँग सम्बन्धविच्छेद गर्नुभयो : दाहाल
माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको टिप्पणी गर्नुभएको छ । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले गुरुङ केही समयअघि सम्बन्धविच्छेद भएको भनिएको श्रीमतीसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको टिप्पणी गर्नुभयो । १४ करोड पचाउन मात्रै गुरुङले कानुनी रूपमा सम्बन्धविच्छेद गरेको उहाँले आरोप लगाउनुभयो । दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने दोहोर्याउनुभयो । सहकारी छानविन समितिमा सहकारी ठगीसम्बन्धी पर्याप्त प्रमाणहरू जुटेको भन्दै कारबाहीका लागि सिफारिश गरिने दाहालको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच