काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाभित्र खाद्य पदार्थको बजार अनुगमन गर्दै आएको छ । विभागको अनुगमन टोलीले बुढानीलकण्ठ नगरपालिका १२, शिव मन्दिर कपनस्थित भक्तपुर दही पसल अनुगमनका क्रममा पसलले दूध, दही, घ्यू, पनिर विभिन्न उद्योगबाट खरिद गरी बिक्रीवितरण गरेको तर प्याक गरिएका खाद्य पदार्थमा लेबल नराखी दुग्ध पदार्थ बिक्री गरेको तथा खरिद बिलसमेत पेश गर्न नसकेको, लेबल विवरण नभएको घ्यू पाँच सय मिलिलिटरका छ बट्टा र दुई सय मिलिलिटरका तीन बट्टा पाइएकोमा हाललाई सो घ्यू अर्को आदेश नभएसम्म बिक्रीमा रोक लगाइएको छ ।
त्यसैगरी बेकरी सर्टेनिङलाई शुद्ध घ्यू भनी प्याकिङ गरी बिक्री गर्ने नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रालिमा सिलबन्दी गरेको छ । ढुसी लागेको, लेबल विवरण उल्लेख नगरेको बटर १५ केजी ब्लक १६ थान र एक केजीको प्याकमा राखिएको बटर १० प्याकेट एकै ठाउँमा फ्रिजरमा राखेको पाइएको, ढुसी लागेको २५ केजी चिज भण्डारण कक्षमा फ्रिजमा राखेको पाइएको, लेबल विवरण नभएको रानसिड अफ फ्लेबर भएको घ्यू एक केजीको बट्टा ३० वटा र आधा केजीको बट्टा २८ वटा भण्डारण कक्षमा रहेको पाइएको, बटरबाट घ्यू तयार गर्ने भाँडो फोहोर अवस्थामा रहेको तथा घ्यू उत्पादनका लागि अनुमतिपत्र नलिएको पाइएकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रतिनिधिको रोहवरमा उद्योगको भण्डारण कक्ष सिलबन्दी गरिएको विभागले जनाएको छ ।
त्यस्तै अनुगमन टोलीले टोखा नगरपालिका ४ स्थित अक्वा एसएस वेभेरेज प्रालि र पिस स्प्रिंग वाटर प्रालि तथा खाद्य उद्योगहरूको अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुका साथै गुणस्तर परीक्षणका लागि नमुनाहरू संकलन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभएको छ । साथै विभागले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर सातदोबाटोमा पनि अनुगमन गरेको छ । उक्त खाद्य स्टोरमा अल्केन ब्राण्डको उत्पादन मिति २१ नोभेम्बर २०२३, उपभोग्य मिति २१ नोभेम्बर २०२४ भएका पाँच सय ५० ग्रामका स्विस स्टाइ मुस्ली आठ प्याकेट तथा सोही ब्राण्डको उत्पादन मिति २३ अक्टोबर २०२३, उपभोग्य मिति २३ अक्टोबर २०२४ भएका तीन सय ७५ ग्रामका स्विस स्टाइ मुस्लीका छ प्याकेटमध्ये एक प्याकेट खोली भित्रको खाद्य पदार्थको भौतिक अवलोकन गर्दा उजुरी गुनासोबमोजिम घुनकिरा नदेखिएको विभागले जनाएको छ ।
सिडिओहरूलाई मुख्य सचिवको निर्देशन
मुख्यसचिव एकनारायण अर्यालले एक्सन प्लान बनाई बजार अनुगमन प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेलामा खाद्यान्नमा मिसावट हुने, मूल्यवृद्धि र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै उहाँले एक्सन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले स्थानीय तहसँग समन्वय गरेर कुनै पनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाई गर्ने र मूल्यवृद्धि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो ।
कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि उहाँले सचेत गराउनुभयो । जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरू निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्ने कुरा सरकारलाई सहृय नहुने उहाँको भनाइ थियो । अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग चाडपर्वका बेलामा भएका आपराधिक गतिविधिको रिपोर्ट प्रस्तुत गर्न समेत निर्देशन दिनुभयो । त्यस्तै सडक खाल्डाखुल्डीरहित बनाउन, पहिरो पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापनाभन्दा १५ दिनअघिदेखि नै गाडीको टिकट खुलाउनसमेत उहाँले निर्देशन दिनुभएको छ । जागिर खानमात्रै कार्यालय आउने र झोला बोकेर नेताहरूकोमा धाउने कामको अन्त्य गर्न पनि उहाँले सचेत गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच