
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिशका लागि बसेको संवैधानिक परिषद् बैठक अनिर्णीत भएको छ । प्रधानन्यायाधीश सिफारिश सम्बन्धी एकमात्र एजेण्डामा बसेको बैठकबाट कुनै निर्णय नभएपछि बैठक अनिर्णीत भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार साँझ बालुवाटारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्न नसकेपछि अर्को बैठक भदौ ३१ गते सोमबारका लागि बोलाइएको छ ।
बैठकपछि उपसभामुख इन्दिरा रानाले संवैधानिक निकायमा सिफारिश गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै निर्णय नगरी बैठक सकिएको जानकारी दिनुभयो । रानाका अनुसार पहिलो नम्बरमा रहनुभएका न्यायाधीश प्रकाशमान सिंह राउतको नाममाथि छलफल केन्द्रित रहेको थियो । ‘सिनीयारिटीको हिसाबले त वरिष्ठ प्रकाशमान सिंह राउत नै हो । अस्तिको छलफल र सिफारिशमा हामी फेल भयौं । अब अध्ययन पनि गर्नुपर्छ भनेर आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ ।’
बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी हुनुहुन्थ्यो ।
प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज २० गते अवकाशमा जाने भएपछि न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठ न्यायाधीशको नाम पठाएको थियो । हालका प्रधानन्यायाधीश श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले आठजना वरिष्ठतम् न्यायाधीशहरूको नाम सिफारिश गरेको छ । वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषद्मा पुगेको छ ।
न्याय परिषद्ले सिफारिश गरेका न्यायाधीशको रोष्टरबाट प्रधानन्यायाधीश नियुक्त गर्ने अभ्यास रहेको छ । सर्वोच्च अदालतमा तीन वर्षे कार्यकाल पुगेपछि न्यायाधीश बन्न पाइने व्यवस्था बमोजिम आठजना न्यायाधीशको रोष्टरबाट अब संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्त गर्नेछ । वरिष्ठताका आधारमा सर्वोच्चको वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्ने अभ्यास रही आएको छ ।
त्यसो त प्रधानमन्त्रीले बिहीबार विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नु भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार नै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो । बुधबार स्थगित भएको बैठक शुक्रबार बसे पनि निर्णय हुन नसकेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच