पाल्पामा सम्भावित क्षेत्रको पहिचान गर्नुहोस्, लगानी हामी गर्छौं : चन्द्र ढकाल

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्लामा भएका सम्भावित क्षेत्रहरुको पहिचान गर्न पाल्पाली उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । पाल्पा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यहाँको पर्यटकीय विकासका लागि सम्भावित क्षेत्रको खोजी गरी अगाडि बढ्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष ढकालले पाल्पा सम्भावना नै सम्भावनाको जिल्ला भएकोले यहाँ गर्नु पर्ने के हो ? त्यसको पहिचान गरी प्रोजेक्ट तयार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो‘ पाल्पाको पर्यटकीय विकासका लागि यहाँका सम्भावित क्षेत्रहरु खोजी गरी के मा लगानी गर्नुपर्ने हो, तपाईहरुले भन्नुहोस्, हामी लगानी गर्न तयार छौं ।’ उहाँले सम्भावित क्षेत्रका स्थानीयहरु अगाडि सरेर लगानी क्षेत्रको पहिचान गरे लगानी गर्न आफुहरु तयार रहेको उल्लेख गर्नुभयो । ‘यहाँका पर्यटकीय स्थलहरु जहाँ केवलकारको सम्भावना छ, जहाँ होटलको सम्भावना छ, जहाँ करुवा, ढाकाको उत्पादन र कृषिको सम्भावना छ । तपाईहरु यो प्रोजेक्ट राम्रो छ, अगाडि बढाउनुपर्‍यो भन्नुहोस् म लगानीको लागि उद्योग वाणिज्य संघको अध्यक्षको तर्फबाट र उद्यमीको तर्फबाट कहाँ के मा गर्नुपर्ने हो ? हामी तयार छौं’ अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले सानो पुँजीलाई कलेक्टिपस हिसावले राख्न भन्दै यहाँको सम्भावित क्षेत्रमा स्थानीयको समेत लगानी राखी अगाडि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । तानसेनमा केवलकार सञ्चालन गर्ने कुरा भएकाले उहाँले त्यसमा स्थानीयस्तरबाट थोरै धेरै लगानी गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ढकालले भन्नुभयो ‘केवलकार सञ्चालनका लागि यहाँहरुले २०/३० प्रतिशत कति लगानी गर्न सक्नुहुन्छ गर्नुहोस् बाँकी लगानी जुटाउने काम उद्योग वाणिज्य महासंघको तर्फबाट मैले गर्छु ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत जिल्ला नगर अध्यक्ष कृष्ण बैद्यले ब्यवसायीका समस्या समाधान गर्न महासंघ निरन्तर लाग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ब्याज घटाउने कुरामा महासंघले काम गरेको छ , नापतौल नविकरणको समस्या समाधानमा काम भइरहेको छ ।’ उहाँले मुलुकको आर्थिक सूचकांकमा अहिले सुधार आएको बताउनुभयो । बैद्यले भन्नुभयो ‘रेमिटान्स बढेको छ, पर्यटकहरु पनि बढेका छन् तर पनि व्यापार ब्यवसाय राम्रोसँग चलायमान हुन भने सकेको छैन, महासंघले गर्नुपर्ने काम गरिसकेकाले अब सरकारले गर्नु पर्ने अवस्था आएको छ ।’

उहाँले पछिल्लो समय स्थानीय सरकारले मेला महोत्सव लगाएको प्रति लक्षित गर्दै भन्नुभयो ‘स्थानीय सरकारको काम मेला महोत्सव गर्ने होइन् त्यो त उद्योग वणिज्य संघले गर्छ । ’ महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्रको स्पष्ट मार्ग नहुँदा अहिले समस्या आएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको अवस्थामा स्थानीय सरकारले उद्योग वाणिज्य संघलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठले अहिलेको युग परिवर्तनको युुग भएको बताउनुभयो । उहाँले एकले अर्कोलाई आरोप लगाउने भन्दा पनि सकारात्मक सोंचका साथ सबै एक जुट भएर काम गर्ने बेला आएका उल्लेख गर्नुभयो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजुु महर्जनले हाम्रै कारण पाल्पाको शिक्षा स्वास्थ्य ,व्यसवायी चलायमान हुन नसकेको बताउनुभयो । उहाँले पाल्पाको विकास गर्न भिजन सहितको नेतृत्व आउनु पर्ने भन्दै राजनीति सोंच त्यागेर विकासमा लाग्न राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा सम्भावना नै सम्भावना भए पनि गलत सोंचका कारण समस्या आएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो‘ पाल्पा, दूध अदुवा र तरकारीमा आत्मनिर्भर छ तर यहाँ केही छैन् भन्ने भाष्य निर्माण गरिएको छ , जुन गलत हो ।’ सभापति श्रेष्ठले सकारात्मक सन्देश फैलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले देशभित्रको राजनीतिले स्पष्ट खाका कोर्न नसकिरहेको अवस्थामा नीजि क्षेत्रले उद्योग, व्यवसाय क्षेत्रमा लगानी मैत्री वातावरण बनाउँदै आर्थिक, सामाजिक रुपान्तरणबाट देशको विकासमा सहयोगी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले मुलुकको विकासमा ठूलो भूमिका खेलेका छौं तर सरकारले नै हामीलाई विश्वास गर्न सकेको छैन् , हाम्रा समस्याप्रति सरकार उदासीन छ ।’ राज्यले नीजि क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोसनी धौवाज, नेकपा एमालेका जिल्ला उपाध्यक्ष विमल काफ्ल्े, नेकपा माओवादीका प्रदेश सचिवालय सदस्य जितबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रमेश न्यौपाने, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, नेकपा समाजवादीका जिल्ला उपाध्यक्ष मोहनलाल गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव नरमती सिंजाली, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, नर्सिंङ्ग स्कूल अप हेल्थ साइन्सका प्रिन्सिपल सकुन्तला थान्जु लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?