संविधान दिवसको अवसरमा सरसफाइ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यहाँका सार्वजनिक स्थल सरसफाइसंगै स्थानीय तहहरुले आ-आफ्नै तरिकाले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको जिल्ला समन्वय समिति गुल्मीका समन्वय अधिकृत जगदीश अर्यालले जानकारी दिनुभयो ।

जिल्लास्थित सरकारी कार्यालय परिसर सरसफाइसंगै गुल्मी अस्पताल र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको बताइएको छ । तम्घासमा संविधान दिवस मुल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय तथा रेसुङ्गा नगरपालिकाको सहजीकरणमा जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलगायतको उपस्थितिमा सरसफाइ गरिएको हो ।

त्यस अवसरमा संविधान दिवस मुल समारोह समिति गुल्मीका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले पछिल्लो समय संविधान ठिक कि बेठीक भन्ने जस्तो विषयमा बहस हुने गरेको भन्दै उहाँले संविधान कार्यान्वयन गर्ने पक्ष ठिक भए संविधान ठिक हुने र राम्रोसंग कार्यान्वयन गर्न नसकिए बेठीक हुने बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा रहेकाले समयानुकूल परिवर्तन गर्दै पनि जान सकिने उहाँले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नेपालको संविधान २०७२ ले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको बताउनुभयो । यहि संविधानको जगमा शासकीय स्वरुप परिवर्तन भएको भन्दै उहाँले सबै पक्षलाई देश विकासको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नागरिकको आशा अपेक्षा अनुसार संविधानलाई समयानुकूल बनाउँदै संविधानलाई सफल बनाउन जरुरी रहेको बताउनुभयो । जिल्लाव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालयहरुले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको भन्दै उहाँले यहाँ सांकेतिक रुपमा सरसफाइ कार्यक्रम गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?