काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन् ।
विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू र नेकपा एमालेका नेताहरूले बिदाइ गर्नुभयो । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गरेको थियो । प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुने छ । अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनुहुने छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । मन्त्रिपरिषद्मा सिंह दोस्रो वरीयतामा भएकाले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोक्नुभएको हो । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन २०८१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, एमाले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेपछि उहाँले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच