प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँ : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले खुशी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५/१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताउनु भयो । उहाँले उक्त निर्णय हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान भएको जिकिर गर्नुभयो ।

उहाँले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र विदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताउनु भयो । उहाँले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सिमित हुने बताउनु भयो । उहाँले आफू प्रधानमन्त्रीमा रहँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिले खुशी व्यक्त गर्ने बेला पनि हो यो । हामीले आजसम्म पनि जनयुद्धका महान शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्न सकेका थिएनौँ । यो पटक मैले प्रधानमन्त्रीको रुपमा गरेको एउटा गर्व गर्न लायक काम भनेको १५/१६ वर्ष अगाडिको सिंहदरबारको एउटा कोठामा थन्किएको माइनट खोजेर त्यतिबेला भएको डिसिजनलाई आधिकारिता, औपचारिकता दिने र राजपत्रमा प्रकाशित गर्ने काम भएको छ । यो हाम्रा हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान हो । त्यो अब मेटिने छैन । राष्ट्रिय शहीदका रुपमा उहाँहरु अब अजरअमर औपचारिक रुपमा पनि हुनुभएको छ । यही पटक हामीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा गर्‍यौँ । विदा दिने निर्णय पनि गर्‍यौँ । विदा दियाैँ पनि । जनयुद्ध दिवस राष्ट्रिय दिवस भनेर सरकारी क्यालेण्डरमा र अरु सबै औपचारिकता पूरा गर्‍यौँ । त्यो पनि खुशी र गर्वको कुरा हो । यदी हाम्रो नेतृत्वमा सरकार हुँदैन थियो भने जनयुद्धका हजारौँ शहीदलाई राष्ट्रिय शहीदको सम्मान या जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र विदाको कुरा कल्पना पनि सम्भव थिएन । १८ महिनादेखिको लगातार प्रयासले अन्तिममा तपाईंहरुले देख्नुभयो, बालुवाटारमा मेरो अन्तिम बैठक नै त्यही थियो । सर्वदलीय बैठक बोलाएर यो टिआसरीसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कार्यदल मैले नै प्रश्तावित गरेर टुंग्याइएको छ । त्यो अहिले अनुमोदन गर्ने काम भइसकेको छ ।’

अध्यक्ष दाहालले माओवादी नेताहरुको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले सबैले माओवादीलाई एकीकृत र केन्द्रिकृत गरेसँगै शक्तिशाली भइने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?