कुको उवाच
महाभारतमा मलाई कृष्णले विश्वास गरेको भए तीन वाँणमा महाभारत सिध्याइदिने थिएँ भनेर बर्बरिकले सुनाएका कुरा पुराणमा आउँदा रहेछन् । अचेल कहिलेकाहीँ मलाई लेख्न पढ्न मन नलागेर यसो विद्युतीय सञ्चारसंयन्त्र खोलेर सोफामा अद्र्ध पल्टाइका सुतासनमा शरीर लडाएर आँखा भित्तामा भएको दिव्यदृष्टिको निर्जीव सञ्जयका मुखमा केन्द्रित गर्दछु । सञ्जय भन्छ संविधानलाई सर्वस्वीकार्य बनाउन परस्पर प्रतिस्पर्धी गाउँकै जोधाहा साँढे एकै किलामा बाँधिएर एउटै डुँडमा राखेको दानापानी खाइरहेका छन् । खानका निमित्त सिङ जुधे पनि थुतुनाले एक अर्कालाई घँचेडेर आफैँ मात्रै खान बल गरे पनि साँढे भने जुधेका छैनन् ।
दुईटा साँढे नजिकमा आए पनि तीनवटा साँढे भने जुधाइको आयोजना गरिएका बेलाका जिताहा ठानिएका बाहिरै परेर क्वाँक्वाँ गरिरहेका छन् । संवैधानिक स्वीकार्यता बढाउनुपर्छ त्यतातिर नवपुस्ताको नेतृत्व गरेर आउने बच्काना बछेडा साँढेले सोच्नुपर्ने भनेर लोते साँढे बेलाबेला डुक्रिए पनि अहिले गोठमा हालीमुहाली गरिरहेको दम्भी साँढे भने अझै २० वर्ष यी बछेडाले कोरली गाई डहरियो भनेर रसिलो मुख लाएर कोरली गाईतिर नचिहाए पनि हुन्छ भनेर सिँगौरी खेलेको देख्न पाइन्छ भनेर सञ्जयले रणमैदानमा भएका गतिविधि बताउन लागेपछि मेरो मनोतरंग विस्तारै विगततिर पो गएछ । सञ्जयको अदेही आत्माले के भन्यो मैले त सञ्जयको काम आफैँ पो गर्न लागेछु । अब मेरा अगाडि तलका कुरा दूरदर्शक पटमा देखिए झैँ विगत आएर देखिन लाग्यो । कतै दृश्य र शब्द संवादका साथै मान्छे पनि देखिन थाले । झालेमाले पुत्ले, पाङ्ग्रे, मुडुले, हृयाटे, नेप्टे, चेप्टे, होली वाइन काखी च्यापेका र नाक चुच्चेसमेत देखिए ।
तरङ्गोवाच
सञ्जयका ठाउँमा मनोतरङ्गले आसन जमाएपछि मैले सुनेँ । महाराज म भन्दा मेरो पार्टीका सभापति बढी योग्य छन् । अतः मलाई होइन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई निगाह बक्स होओस् । गणेशमान तिमी भए सबैले मान्दा रहेछन्, हाम्रो पनि खातिरदारी तिमीबाट हुने थियो नै । मलाई त दरबारमा चल्ने शब्द आउँदैन, तीनचार घण्टा शौचालयमा बस्नुपर्छ, भनेका बेला उठेर देशका कुना कन्दरामा पुग्न सक्दिनँ । अतः कृष्ण प्रसादले सबै गर्छन् । उनी योग्य छन् । सबै पक्षलाई मिलाएर अघि बढाउन पनि सक्छन् । लौ त त्यसो भए भनेको सुनेको एकै छिनपछि पानले बिग्रेका दाँत, तालुको कपाल झरेको लवाइबाटै गान्धीवादी जस्तो देखिने एकजाना मान्छे आएर राजालाई कुर्नेश गरेर सोफामा बसे ।
सञ्जयका ठाउँमा मनोतरङ्गले आसन जमाएपछि मैले सुनेँ । महाराज मभन्दा मेरो पार्टीका सभापति बढी योग्य छन् । अतः मलाई होइन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई निगाह बक्स होओस् । कृष्ण प्रसादले सबै गर्छन् । उनी योग्य छन् । सबै पक्षलाई मिलाएर अघि बढाउन पनि सक्छन् ।
बाहिर होहल्ला सुनियो देशमा चारैतिर खुसियाली छाउन लाग्यो भनेर राजाका नजिकमा ढाड कुप्रो पारेर बिन्ती चढाएको दृश्य देखिन लाग्यो । २२/२३ जना जर्नेल आएर ती गान्धीवादी जस्तालाई बुट बजारेर धम्क्याएको कुरो दृश्य र शब्दमा पनि सुनिन र देखिन लाग्यो । एकै छिनमा दृश्य परिवर्तन भएर राजाका बैठक कोठामा राजा अन्तरिम प्रधानमन्त्री बसेको देखियो । प्रधानमन्त्रीले हात जोडेको मुद्रामा भनेको सुनियो ‘सरकार ¤ भूतपूर्व महाराजाधिराज लेख्नुपर्छ भन्ने हुकुम हुन्छ भने पनि यो ताबेदार तयार छ तर सार्वभौमसत्ता चाहिँ जनतामा निहित रहनेछ भनेर नै लेख्न मलाई जनताको दबाब छ । यो नलेखे मुलुकमा के हुन्छ भन्न सकिँदैन ।
म त जनताको छोरो जनताकै लहरमा उभिउँला सरकार दरबारको मान, इज्जत र प्रतिष्ठाका साथै अनन्त कालका लागि हित सोचिबक्स्योस्’ । अहिले म जान्छु भनेर कुर्नेश गरेर उनी निक्लेर हिँडेको देखेँ । अब दरबार असामान्य बनेको सुइँको आउने गरी अनेकौँ प्रकारका भेषभूषा भएका मान्छे बिहान बेलुका दिउँसो दरबारमा आउने जाने र सेना प्रहरीका भेष र भेषविनाका पनि मान्छेको घुइँचो लागेको देख्न थालेँ । यता प्रधानमन्त्री भने जनता र दलका मान्छेसँग छलफल गर्न लागेको, मलाई विश्वास गर्नुस् समयमा नै संविधान ल्याउँछु भनेको सुन्न लागेँ ।
कम्युनिष्ट जो सरकारमा गएका थिए तिनले प्रधानमन्त्रीलाई नचाहिँदो दबाबमा राख्न लागेको दृश्य देखिन लाग्यो । कहिले जे. एन. त कहिले सहनाको आक्रोशित अनुहार बेला न कुबेला आएको देखिन थाल्यो । सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा ढोका बन्द भएका बेला के भयो जे. एन. र साहना मुख छोप्दै बाहिर आएको छाया सार्वजनिक भयो । धन्य छन् वामहरू । किनभने वाम मात्र भए देशले विकास गर्न सक्दोरहेछ चीन विकसितै छ । जातीय या प्रान्तीय चिन्तन भएको देश कहिल्यै पनि गरिखाने हुन सक्दैन विहार, नेपाल यसका उदाहरण छँदै छन् ।
समथर प्रदेशले राष्ट्रपति मात्रै पाएन प्रथम नै भयो तर पनि असन्तुष्टि र विरोधका आवाज आएकै छन् । राजधानीका रैथाने पनि जातीय सङ्कीर्णताका खाल्डामा पिल्सिएका छन् । त्यसैले संविधानको सर्वस्वीकार्यता बढेन कि जस्तो लागेको छ । लिङ्गवादी र आरक्षणवादी पनि भए भने त त्यो देश हजारौँ हजार वर्ष कङ्गाल बनेर मागिखानेबाट उठ्न नसक्ने रहेछ । आज मलाई यस टाकुरामा बसेर नेपालमा नेपालीका क्रियाकलाप हेर्दा यस्तै अनुभव भएको छ भनेर बर्बरिकले सुनायो ।
म ताक्छु मुढो वनचरो ताक्छ घुँडो
सबैतिरबाट भनेकै बेला संसारको राम्रो संविधान आयो भनेर नेपालैभरि मान्छे सडकमा गाउँमा टोलमा यत्रतत्र देखिन थाले । चुनावको घोषणा भयो, चुनाव गरियो परिणाम संविधान ल्याउने पार्टीको सभापति बनेर २६ वर्षदेखि बसेका मान्छे हारे । पार्टीले जित्यो महामन्त्री अब प्रधानमन्त्री हुने भए छन् । तीनजना बसेर चुनाव हारेकालाई ५ वर्षसम्म कुनै स्थान नदिने भनेर समझदारी पनि गरेका हल्लाहरू सुनिए तर चुनाव भएपछि देश झन् अशान्त बन्न लाग्यो । प्रधानमन्त्री जस्तो पद त्याग्ने त्यागी, पार्टी सभापति र प्रधानमन्त्रीका बीचमा भुसको आगो सल्केर वातावरण नै धुमिल हुन थालेको देखिन थाल्यो । तीनवटै टाउका बरालिने पोइका तालिमका सिलौटा बने ।
उठापटक, विश्वास, अविश्वासका कुहिराले नेपाल ढपक्क ढाकिन लागेको देखिन थाल्यो । आन्दोलनका हिरोहरू पुड्के बित्ते बनेको देखिन थाल्यो । सर्वमान्य अमान्यतिर बढेका हल्ला चल्न थाले । प्रधानमन्त्रीले शपथ लिनेबित्तिकै नेका महामन्त्रीबाट राजीनामा दिए । यसले उनी एकातिर निहत्ता बने । उनले पनि झ्वाँक्किएर बाहिर गएका मन्त्री आउनै नपाई मन्त्रीपदबाट निकालिए । चुनाव हारेका राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बनाइए । अब नेपली कांग्रेसका पहिलो नम्बरका नेता विभाजित भएर दुई एकतिर एक अर्कातिर भएपछि प्रधानमन्त्री एक्लै बनेको स्थिति देखेपछि प्रमुख प्रतिपक्षले २९ दिनमा यो सरकारलाई ढाल्ने भनेर घोषणा गरेर नै लाल सेना गठन गर्यो ।
सडक प्रदर्शनले मुलुक आक्रान्त भयो टेलिफोनका क्यबिनेट जले, सडकका रेलिङ भाँच्चिए । कर्मचारीले राजनीतिक पार्टीका सेनाको काम गरेको देखियो । शिक्षक, प्राध्यापक, वकिल, चिकित्सक र इञ्जिनियरहरू त आन्दोलनकै बेलादेखि पार्टीका घोडा बनेर सडकमा गएकै थिए । विद्यार्थी देशमा जति दल छन् त्यति नै जत्था बनेर झण्डा बनाएर आ-आफ्ना दलको युद्धमैदानमा उत्रेर विरोधीका टाउका फुटाउन गुलेली हान्ने र झोलामा बोकेका इँटका टुक्राले प्रहरी र बटुवाको टाउको फुटाएका दृश्य साधारण बन्दै गए । सबै कुर्सीमा पुग्न कपटपूर्ण खेलमा लाग्दै थिए कि बाबुराम र प्रचण्ड नामका काँचा वायु जागेर वनैमा सैन्य सङ्गठन गरे ।
गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता आदर्श चरित्रले नसकेको काम रवि लामिछानेका प्रतिस्पर्धी चरित्र र बुद्धि शून्यले गर्लान् भनेर विश्वास गर्ने नेपाली जनता, नेपाली घनटाउके धन्नका रहेछन् भन्दै बर्बरिक मनेर आएर भन्न थाल्यो ।
देशलाई कब्जा गर्ने योजनाका साथ हिंसा हत्या र छापामार युद्धले देश आक्रान्त हुन लाग्यो । सिङ्गो देश रक्तकुण्डमा परिणत भयो । लामो सङ्घर्षका क्रममा नेपाली कांग्रेसका दुवै बुढा नेता हारेर महामन्त्रीबाट प्रधानमन्त्री भएका नेता विजयी बने तर भुसको आगो भने देशभरि फैलियो । मान्छेहरू पहिलो आमनिर्वाचनमा भट्टराई नहारेका भए स्थिति सम्हालिन्थ्यो भनेर पनि अड्कल काट्न लागे । प्राप्तिमा असन्तोष र अप्राप्तका लालसाले नेपाली राजनीति सुँगुरले आहाल खेलेर बिगारेको बाटाको आहालमा परिणत भयो । राजनीतिक दल सँगसँगै जनता पनि सुँगुरका रूपमा परिणत भएर गन्दगीपूर्ण खेलका नायकलाई पटक-पटक जिताएर पठाउन लागे । आजको कष्टपूर्ण नेपालीको जीवन त्यसै कर्मको दूषित फल हो ।
प्रथमे नाधिता विद्या द्वितीये नार्जितं धनम् ।
तृतीये न तपस्तप्तं चतुथे किं करिष्यति ।।
कैशोर्यावस्थामा नपढेको विद्या, युवावस्थामा नकमाएको धन, प्रौढावस्थामा नगरेको धर्मकर्म गलित वृद्धावस्थामा के नै गर्न सक्छ र ? भनेजस्तै यो देश चलाउने सुरले कम्बर कसेर लागेका दलका अहिलेका नेता यही श्लोकले भनेका जस्ता छन् । यिनीसँग न विद्या छ न बुद्धि छ न त यी अरूले दिएको सल्लाह नै मान्छन् । दुवै अहं र दम्भले पाहा फुलेझैँ फुलेल भएर बसेका हुनाले यिनका बुताबाट न त संविधान संशोधन हुन्छ न त यिनले त्यसलाई सर्वस्वीकार्यता नै दिलाउन सक्छन् । हिजोका त्यत्रा त्यागी, जीवनभरि आदर्शमा रहेर आदर्श जीवनचरित्र बनाएका ऐतिहासिक पुरुषले जे काम गर्न सकेनन् त्यो काम यिनले गर्छौं भनेको सुनेर मान्छेहरू :- ‘बडे बडे हाथी घोडा धँसल जाय, नर घोंगि कहे कत्तेक पानी ?’
भयङ्कर भयङ्कर अग्ला हात्तीघोडा खोलाका छेउमा नै डुबेर बेपत्ता भए, जाँते किरो भन्छ कति रहेछ पानी ? गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता आदर्श चरित्रले नसकेको काम रवि लामिछानेका प्रतिस्पर्धी चरित्र र बुद्धि शून्यले गर्लान् भनेर विश्वास गर्ने नेपाली जनता, नेपाली घनटाउके धन्नका रहेछन् भन्दै बर्बरिक मनेर आएर भन्न थाल्यो ।
बर्बरिक उवाच
अठार अक्षौहिणी सेना कति पदाति, रथाति, अश्वाति, हस्त्याति र महारथी थिए । सबै मरे बाँकी रहेका ७ जनामा पनि मैले यो गरेँ र ऊ गरेँ भनेर झिँगाले झैँ बेला, बखत र शक्ति सामथ्र्य अनि आफ्नो चरित्र र रुचि नै नबुझीकन जसरी नर्कमा बस्ता पनि र भातका चोइलीमा बस्ता पनि पाखुरा सुर्कन्छ त्यसैगरी महाभारतको युद्ध समाप्तिपछिका समीक्षाका क्रममा भनेछन् रे । अनि कृष्णले बर्बरिकलाई बोलाएर सोद्धा मान्छेका खप्परको माला लाएर झाँक्रो फिँजाएर नाच्दै तन्तनी रगत प्युँदै रणमैदानमा सर्वत्र छाएकी द्रौपदी र सुदर्शन चक्र फालेर आनन्दले अठार दिनमा युद्ध सक्ने गरी रमिता हेरेर बसेका कृष्णबाहेक मैले कसैलाई पनि रणमैदानमा देखिनँ भनेको थियो रे ।
मैले पनि संविधान संशोधानका लागि मिलेका दलमा दुर्योधन र शकुनि चरित्र मात्रै देखेको छु जसले संविधान संशोधन होइन केही दिन महिना सत्तारोहण देशदोहन र जनता दलनबाहेक केही पनि गर्नेछैनन् हेर फन्टुस् कुको भनेर बर्बरिकले हुत्याएपछि डङरङ्ङ सोफाबाट भुईंमा पछरिएपछि पो म त झसङ्ङ भएछु । के यही नै सत्य हो त ? हुन त हाम्रा पुर्खाले ढाँटको निम्तो खाई पत्याउनु भनेर यसै भनेका होइनन् होला भन्दै टाउको ठोक्किएछ सुम्सुम्याएँ । अहिले पनि नमिठो गरी दुःखेको दुख्यै छ । नजाने, नेपाली जनता र नेपाल आमाको टाउको यी धन्नुकारीले कुन चट्टानमा लगेर ठोक्काउने हुन् ? के अब यद् भविष्यति तद्भविष्यति ठाँनेरै बस्ने त होला ? कि श्रीलङ्का र बङ्गलादेशको काँचो वायु बोलाउने हो युवा हो ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच