आफन्त मन र ब्ल्याक फ्राइडेका उपहार !

डा. नारायण चालिसे
Read Time = 16 mins

‘विदेशमा कोही आफन्त छ भनेपछि सबै संसार सोहोरेर ल्याइदेओस् वा पठाइदेओस् भनेर मुख ताकेर बस्ने इष्टमित्रहरूको इच्छा पूरा गर्न धेरै गाह्रो छ अङ्कल । तपाईंले पनि देखिहाल्नुभयो यहाँको जीवन कति जटिल छ । काम, काम अनि काम, जतिखेर पनि काम र मामकै दौड चलिरहन्छ यहाँ । कति स्टोरहरूका सेलचार्ट हेरेर सस्तोमा लागेका सामानहरू खोज्नुपर्छ र मात्र एक-दुई डलर बचत हुन्छ । कुरा बुझिएन भने यहाँ डलर चुहेको पत्तै हुँदैन । मलाई त लाग्छ अङ्कल जतिखेर पनि माइण्डमा नियम, कानुन, फाइन, ट्याक्स र दुई पैसा बचतका कुरा सोच्दैमा यहाँका औसत नेपालीको दिन बित्छ ।

त्यति गरेर यहाँ जसोतसो बसिएको हुन्छ, उता आफन्तहरूले पालै पालो फर्माइस गरिरहेका हुन्छन् । कसैले नयाँ मोडेलको घडी, पछिल्लो मोडेलको आइफोन, म्याकबुक कम्प्युटर, आइप्याड, ट्याब्लेट आदि । उनीहरूलाई लाग्दो हो विदेशमा जे गरे पनि डलरको ओइरो लाग्छ, या त यस्ता चिजहरू सित्तैमा पाइन्छन् । अथवा विदेशमा भएर यति एउटा सामान पठाइ दिन सक्दैन ? उनीहरू एकजनालाई एउटा कुरा थोरै पनि हो र त्यति इच्छा गर्नु सामान्य पनि हो तर यहाँ बस्नेको निम्ति एकजना होइन, दुईजना होइन दर्जनौं छन् त्यस्ता आफन्तहरू । त्यसको निम्ति हजारौं डलर चाहिन्छ ती आफन्तका इच्छा पूरा गराउन ।

जब कि यहाँ आएका धेरै कम मात्र नेपालीले महिनामा दुई चार हजार डलर बचाउँदा हुन् । होइन भने यता घरको किस्ता, गाडीको किस्ता, मोबाइल किस्ता, पानी, बिजुली, टेलिफोन अनि सबै प्रकारका इन्स्योरेन्स तिर्दैमा सकिन्छ । अनि क्रेडिट कार्ड घोटेपछिमात्र महिनाको खर्च मेन्टेन गर्ने हो । ल ! भन्नुस् त अङ्कल यो सबै कसरी सम्भव हुन्छ ?’

दीपकले यसरी आफ्नो दुःख सुनाइरहँदा म पनि आफ्नै अतीततिर घुमिरहेको रहेछु । मैले पनि धेरै वर्षदेखि दीपककै आफन्तले जस्तो यस्तै प्रकारका फर्माइस र गुनासाहरू पालेर बसिरहेको थिएँ उता । मलाई पनि भर्खरमात्र यी धेरै कुराहरूको पश्चातापबोध भइरहेछ, यतै आएपछि । मैले उनलाई भने ‘ठीक कुरा ग¥यौं बाबु, तिम्रा आफन्तहरू जस्तै हुँ म पनि, वर्षाैंदेखि त्यसरी नै मैले पनि यता आएका आफन्तसँग फर्मायस पठाएको छु । तिमीले भने जस्तै अहिले मेरो घरमा त्यसरी नै मगाएका ल्यापटप, क्यामेरा, मोबाइल, ट्याबलेट, घडी र अरू पनि धेरै चिज छन् ।

यहाँ आएपछिमात्रै बुझ्दैछु विचरा यिनीहरूले यहाँ मेरै निम्तिमात्र दुःख गरिरहेका रहेछन् । त्यतिमात्र होइन बाबु त्यसमाथि महिनाको एक दुई लाख रुपैयाँ घर खर्च वा घर घडेरी जोड्ने पैसा पनि यतैबाट कमाएर पठाऊन् भन्ने हाम्रो इच्छा हुन्छ । हुन त यता आउनु भनेकै यस्तै यस्तै प्रगति र आर्थिक उन्नतिको जोहो गर्नु नै हो । जो जसरी आएका भए पनि पहिलो नम्बरमा प्रगति गर्नकै निम्ति आएको भन्छन् ।
कोही कोहीमात्र यता पढ्न, प्रविधि, सीप सिकेर उता जान आएका छन्, होइन भने सबैको इच्छा कमाउने नै रहेको हुन्छ । तापनि यहाँ हामीले उताबाट सोचेजस्तो सजिलो र झ्यास्सै रहेनछ । त्यो कुरा सबैले उता बसेर बुभूmन् पनि कसरी र दीपक बाबु ! जति भने पनि देखेर भोगे जस्तो भनेर हुँदै हुँदो रहेनछ ।’

‘मलाई नै हेर्नुस् न अङ्कल आएको पाँच वर्षजति हुन लाग्यो । सुरुका छ सात महिना काम खोज्दै बस्ने व्यवस्था गर्दैमा बित्यो । उताबाट आउने बेलैमा आठदश लाख जस्तो खर्च भइसकेको थियो । ग्रीनकार्ड भने पनि के गर्नु यता त्यता गर्दा थुप्रै खर्च हुँदो रहेछ । अनि काममा ज्वाइन भएँ, तुरुन्तै गाडी किन्नु प¥यो । उता घरबाट ऋण गरेको पैसाको ब्याज बढ्दै छ । घरमा बुबाले अत्याउने, यता डेरा भाडा, गाडीको किस्ता, ल्यापटप चाहियो, मोबाइल चाहियो सबै किस्तामा । मुस्किलले दुई चार सय बच्छ कता-कता मिलाउने ? घरमा दाइहरू, भाइ, दिदी, भिनाजुहरू, भान्जाभान्जीहरू सबैले मेरो फलानो अमेरिका छ भनेर कहिले कसले कहिले कसले एउटा एउटा इच्छा गरेकै हुन्छन् ।

सबैलाई पुर्‍याउन सकिरहेको छैन उता चित्त दुखाएका छन् । दिदीले भान्जो एसएलसी दिने भयो, मामासँग एउटा ल्यापटप भन्देऊ न आमा भन्छ भान्जाले भन्छिन् । दाइले केटालाई एउटा राम्रो खाले मोबाइल पठाइदेन भन्नुहुन्छ । मामाले म पनि आमासरहको मामा हुँ यतिका वर्ष विदेश बसेका भान्जाले एउटा फोनसम्म दिन त किन नसक्नु र ? मन नभएरमात्रै हो भन्छन् । एउटा एउटा गर्दै आउने यस्ता फर्माइस त यस्तो कति हो कति । दुई चारवटा मोबाइल, दुईवटा ल्यापटप पठाइसकेँ । उनीहरूलाई एउटा चिज एकजनालाई सामान्य छ, अझ सबैलाई पुगेकै छैन । यता मलाई खर्च धान्न धौ भइसक्यो ।’

दीपकले आफ्नो बाध्यता बताउँदै गर्दा मलाई भने मैलाई नै भने कि जस्तो लागिरहेको थियो । म र मेरा आफन्तले पनि यसरी नै एकपछि अर्को इच्छा गथ्र्यौं । थप केसम्म पनि हुने भने एउटाले एउटा केही चिज पाएको खबर पाउने बित्तिकै अर्को आफन्तको चित्त दुख्ने । अनि उसले पनि अनेक बहानामा यताका आफन्तलाई प्रेसर दिने । हाम्रो मानसिकता पनि अनौठो छ, अर्कोले दिएर कहिलेसम्म हुन्छ, कति हुन्छ र ? तैपनि लोभको भाँडो कहिल्यै नभरिने ! अनि मैले दीपकलाई भने ‘के गर्ने बाबु कतिले कुरा नबुझेर यसो गर्छन्, कतिले नपुगेर ।

अनि आफ्नोले आफ्नोसँग आश गर्नु स्वाभाविक पनि हो । आफ्नो अवस्था र परिस्थिति हेरेर व्यवहार गर्ने हो । अरूले भने भन्दैमा आफूलाई अप्ठ्यारोमा पार्ने, नपुगी नपुगी दिने वा पिर मान्ने गर्नु हुँदैन । पछिपछि बुझिहाल्छन् नि आफन्त नै त हुन् । अरू त अरू अहिले म यता घुम्न आउँदासमेत उता आफन्तले आश गरेर बसेका छन् । यहाँ न मेरो कमाइ हुन्छ न मैले उताबाट छेलोखेलो डलर लिएर आउन सकेको छु सामान किनेर लैजान ।

तैपनि आश हुन्छ बाबु, यो नौलो कुरा होइन । मन र धनका बीच कमै मानिसमा मात्र तालमेल हुन्छ । मन हुनेसँग धन हुँदैन धन भएकाहरूसँग मन हुँदैन । यति हो आफूभित्रको हृदयलाई त्यति धेरै शून्य पार्नु हुँदैन । आफ्नो इतिहास र वर्तमानलाई बेलाबखतमा जाँच्दै गर्नुपर्छ । तिम्रो उदारता र संवेदनाले अहिलेसम्म सम्बन्धको गरिमालाई भुलेको रैनछ यसैमा खुशी लाग्यो ।’

दीपकले भने ‘के गर्ने अङ्कल आफन्त नै हुन् अप्ठेरोमा पार्ने । बाहिरकाले त नमागोस् न चित्त दुःखाओस् । आफ्नैले कुरा बुझ्दैनन् र दुःख लाग्छ । तै अङ्कल यहाँ बेलाबेलामा सेल लाग्छ र सेलका सामान किन्न पाइयो भने केही राहत हुन्छ । ब्ल्याक फ्राइडेमा यहाँ रमाइलो हुन्छ, सबै मै हुँ भन्नेहरू पनि सेलका सामान किन्न रातभरि लाइन लागेर बस्छन् । सेल खुल्न पाएको हुन्न सामान हतारहतार बुक गरेर सक्छन् ।

नेपालमा एवान न्यू भनेर पठाउने मोबाइल, ल्यापटप, क्यामेरा ती सबै यहाँका सेकेन्डहृयाण्ड सामान र कुनै डिफेक्ट भएका, विभिन्न कारणले बिक्री हुन नसकेका हुन् धेरैजसो । तर, त्यसो भनेर कमसल क्वालिटीका सामान होइनन् । यहाँका मानिसले केही समय जतनसँग युज गरेर सस्तो मोलमा ती सामान बिक्री गरी अर्को नयाँ सामान किन्ने रहर पाल्छन् । हो त्यस्तै बेला एक्स्चेन्ज गरेका सामानहरू हुन् । हाम्रो निम्ति तिनै पनि महँगा हुन्छन् । यहाँ जेहोस् सामान खराब हुँदैनन् । धेरैजसो सामान त्यसरी ल्याएर प्रयोग गर्छौं हामी ।

सुपर मार्केटहरूले पनि ‘क्लियरेन्स सेन्टर’ खोलेर विभिन्न कारणले निर्धारण गरिएको मूल्यमा बिक्री हुन नसकेका उपयोगी सामानहरूलाई मूल्य घटाएर सेलमा राख्ने गर्दछन् । त्यस्तो बेला आफ्नो उपयोगको सामान, गिफ्टका सामान, आफन्तलाई पठाउने सामानहरू ल्याएर राख्ने गर्छु म त अङ्कल । म मात्र होइन धेरैले त्यसो गरेर नै त इष्टमित्रहरूको मन राख्न सकेका छन्, के गर्ने अमेरिका मात्र भनेर भएन, आफ्नो क्षमताले भ्याउने अमेरिका जस्तो छ त्यस्तैमा लाग्नु पर्‍यो ।’

‘कुरा सही हो दीपक बाबु, यता तिमीहरूका आफ्ना समस्या, उता हाम्रा रहर र सपनाहरू तालमेल मिलाउन मुस्किल पर्ने रहेछ । जेहोस् आपूmले जे सकिन्छ, जे गर्न सम्भव छ त्यसमा सन्तोष गरेर बाँच्न सिक्नु पर्छ । अमेरिकामा छु भनेर अनावश्यक आडम्बर वा देखासिकी गर्न खोज्नु हुँदैन । मैले बुझेअनुसार यता आएर बस्ने धेरैजसो नेपालीहरू उताका मध्यमवर्गका नागरिक हुन् । कति उताका माथिल्लो वर्गका व्यक्तिहरूको पनि यता त्यही पोजिसन लिन गाह्रो पर्दोरहेछ । सबैभन्दा राम्रो कुरा यता पेशा, व्यवसायले मानिसको वर्ग छुट्याइँदो रहेनछ । धनी गरिब भन्ने कुरा उता जात, पहिरन र पेशाले पनि निर्धारण गरिन्छ ।

यहाँ त्यस्तो वर्गीय विभेदको रूप झट्ट देखिँदो रहेनछ । यसो हुँदा यहाँ कसैले कसैलाई हेप्न, होच्याउन पाइएन होच्चिनु परेन । तिमीहरू जस्तो युवकले यता आएर के कसरी हुन्छ-पढ्ने योग्यताअनुसारको काम गर्ने प्रयत्न गर्नुपर्छ । उही कामदारको तहमा चित्त बुझाएर आफ्नो योग्यताको पहिचान गर्न भुल्नु हुँदैन । पूर्वी नेपालको भोजपुर घर बताउने दीपकले आफ्नो बाध्यता र अवस्थालाई मिल्ने गरी भनेको कुरा मेरो मनमा बसिरहृयो ‘सेलका सस्तो मुल्यका र सेकेण्डहृयान्ड सामानले गर्दा इष्टमित्रको मन राख्न सकेको छु अङ्कल ।’

हुन त विदेशमा आउने सबैले के सोच्छन् र अमेरिका आउने सबैका आफन्तले के भन्छन् सबैको कुरा दीपकका कुराले मात्र बुझ्न मिल्दैन तर अमेरिका भनेपछि अक्सर नेपालीहरूले दीपकले भनेजस्तै नै सोच्छन् । साथसाथै दीपकले के पनि भन्यो भने ‘हामी ग्रिनकार्डहरूको भन्दा स्टुडेन्ट भिसामा आउनेहरूलाई बढी समस्या छ अङ्कल । उनीहरू पनि केही त स्कलरसिपमा आएका हुन्छन् । उनीहरूको कुरा फरक छ तर पेइङ्मा आउनेहरूले त पढ्ने खर्च जुटाएर पढ्नुपर्ने अनि खाने बस्ने व्यवस्था पनि गर्नुपर्ने हुँदा बिजोग हुन्छ विचराहरूको । बिहान कोठाबाट निस्केको एकैचोटी राती एघार बाह्र बजे फर्किन्छन् ।

सात दिनको खाना फ्रिजबाट झिकेर खाएर जुत्ता पनि राम्ररी काढ्न नपाएर सुत्छन् । बिहान हुन पाएको छैन आँखा मिच्दै दौडिनै प¥यो । कहिलेकाहीँ भेट भयो भने निकै समस्या भएको गुनासो गर्छन् । धेरैजसो मेरो काम घुमघाम गर्ने, यहाँका नेपालीहरूका अपार्टमेन्टहरूमा जाने, उनीहरूका गुनासा र अवस्थाहरूका बारेमै कुराकानी गर्ने भएको हुनाले कहिले कोसँग, कहिले कोसँग यस्तै कुरा हुन्छन् मेरा । म फाट्टफुट्ट लेख्ने पनि गर्छु भन्ने थाहा पाएपछि आफ्ना कुराहरू पनि कतै परून् भन्ने इच्छाले पनि कतिजनाले कुरा शेयर गर्ने गरेका छन् । त्यसैले मलाई कहानी कल्पना गर्नै परेको छैन । सबैका जीवनमा केही न केही घटना घटेकै हुन्छ । जीवन कहानी भनेको पनि सायद त्यसैले होला !

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
विजय कुमार राई
विजय कुमार राई
2022-05-21 9:00 pm

विदेशिनु परेकाहरूको पीडा र स॔घर्षलाई कति गहनतापूर्वक अनुभूत गर्नुभएको रहेछ। सुन्दर लेखन शिल्पसंगै गहिरो उपदेश पनि रहेछ। धन्यवाद डा नारायण सरलाई।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?