
आश्विन कृष्णपक्षको एकादशीलाई इन्दिर एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरूप शालग्रामलाई पञ्चामृतले स्नान गराई पूजा अर्चना गरी व्रत बस्ने शास्त्रीय विधि विधान रहेको छ । सोह्रश्राद्धअन्तर्गत यो एकादशी पर्ने भएकाले यो व्रतउपासना समस्त पितृका निम्ति उद्धारकसमेत हुने शास्त्रीय वचन रहेको पाइन्छ : ‘आश्विने कृष्णपक्षे तु इन्दिरा नाम नामतः ।
तस्या व्रतप्रभावेन महापापं प्रणश्यति ।
अधोयोनि गतानां च पितृणां गतिदायिनी ।’
(पद्मपुराण) अर्थात् इन्दिरा एकादशीको व्रत धारण गर्नाले महापाप पनि नष्ट भएर जान्छन् । अधो योनिमा गएका पितृ छन् भने पनि ती पितृको गति प्राप्त हुन्छ ।
इन्दिरा एकादशीको व्रत दशमीकै दिनबाट आरम्भ हुन्छ । दशमीको राति भोजन गर्नु हुँदैन । एकभक्ति बस्नुपर्छ । अन्न ग्रहण नगरी फलहार गर्नुपर्दछ । एकादशीका दिन बिहान आफ्ना नित्य कर्म सकेर सूर्यलाई अर्घ दान गर्नुपर्दछ । यस पश्चात् विष्णु भगवान्का अगाडि दीप बत्ती बाली भगवान्को आराधना गर्ने विधान रहेको छ ।
यसैले अगतिमा परेका पितृको उद्धारका निम्ति पनि यो एकादशीको व्रत धारण उत्तम रहन्छ । यसका साथै इन्दिरा एकादशीको व्रत कथा श्रवण गर्नाले वाजपेय यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ भनी पद्मपुराणमा यसरी बताइएको छ : ‘यस्य श्रवणमात्रेण वाजपेय फलं लभेत् ।’ (पद्मपुराण) यसरी हेर्दा पापकको नाशका साथै पुण्यकर्मलाई वृद्धि गराउने एकादशी इन्दिरा हुन् ।
व्रत विधि :
इन्दिरा एकादशीको व्रत दशमीकै दिनबाट आरम्भ हुन्छ । दशमीको राति भोजन गर्नु हुँदैन । एकभक्ति बस्नुपर्छ । अन्न ग्रहण नगरी फलहार गर्नुपर्दछ । एकादशीका दिन बिहान आफ्ना नित्य कर्म सकेर सूर्यलाई अर्घ दान गर्नुपर्दछ । यस पश्चात् विष्णु भगवान्का अगाडि दीप बत्ती बाली भगवान्को आराधना गर्ने विधान रहेको छ । सोपश्चत् श्राद्धादि कर्म गर्नुपर्दछ । योग्य ब्राहृमणलाई फलाहारका साथै दक्षिणा पनि दान गर्नुपर्दछ । पितृप्रसादलाई सुँघेर गाईलाई दिनु तथा धुप, दीप, गन्ध, पुष्प, नैवेद्य आदि सबै सामग्रीले ऋषिकेश भगवानको पूजा गर्नू भन्ने निर्देश पद्मपुराणमा गरिएको छ : ‘इत्येव नियमं कृत्वा मध्याहृनसमये तथा ।। शालग्रामशिलाद्रग्रे तु श्राद्धं कृत्वा यथाविधि । भोजयित्वा द्विजाञ्छुद्धान् दक्षिणाभिः सुपूजितान् ।।२८।। पितृशेषं समाघ्राय गवे दद्याद्विचक्षणः । पूजयित्वा हृषीकेशं धूपगन्धादिभिस्तथा ।।२९।।’
यसरी प्रार्थनापश्चात् रातमा भगवानको जागरण गर्नुपर्छ । भोलिपल्ट द्वादशीका दिन प्रातः काल भएपछि भगवान्को पूजा गरेर ब्राहृमणहरूलाई भोजन सिधादि दान गर्नुपर्छ । बन्धुहरू, स्त्री र पुत्रसहित आफू पनि मौन भएर भोजन गर्नुपर्ने विधान पनि बताइएको छ । यसरी गरिएको व्रत पूर्ण फलदायी रहन्छ ।
कथा :
पद्मपुराणमा श्रीकृष्ण भगवान् र युधिष्ठरको संवादमा इन्दिरा एकादशीको महिमा उल्लेख गरिएको छ । युधिष्ठिरको प्रश्नको उत्तर दिदैँ श्रीकृष्ण भगवान्ले निम्न कथा श्रवण गराउनुभएको छ :
‘इन्द्रसेन इति ख्यातः पुरीं महिष्मतीं प्रति ।
स राज्यं पालयामास धर्मेण यशसाद्रन्वितः ।।’
(श्रीभविष्योत्तरपुराण, श्रीकृषाण्जुृनसंवाद, आश्विनकृष्णएकादशीमहहाहात्म्य, श्लो ५) महिष्मति नामको शहरमा इन्द्रसेन नामक एक प्रतापी राजा निवास गर्दथे । उनले राज्य धर्मपूर्वक सञ्चालन गरेका थिए । यसका साथै राजा भगवान् विष्णुका भक्ति पनि थिए । नित्य भगवान्को नाम सङ्कीर्तन गरिरहन्थे । एकदिन राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिको आगमन भयो । नारदजी आएपछि इन्द्रसेनले खुशी हुँदै भव्य स्वागतपूर्वक आसन ग्रहण गराए । नारदजी पनि इन्द्रसेनको भक्तिले प्रसन्न हुनुभयो । सम्पूर्ण कुशल क्षेमका कुरा भए ।
एकादशी चान्द्रमासअन्तर्गतको एघारौँ दिन हो । भगवान् विष्णुको अत्यन्त प्रिय दिन भएकाले यस दिन श्रद्धाभक्तिपूर्वक व्रतधारण गरिन्छ । आश्विन कृष्णपक्षको एकादशीको पितृसम्बद्ध विशेष महिमा पाइन्छ । यस खदिन विधिपूर्वक व्रत धारण गर्नाले समस्त पितृले मुक्ति प्राप्त गर्ने कथा एकादशी माहात्म्यमा बताइएको छ ।
सबै भगवान्का कृपाले कुशल रहेको राजाले बताए । यसपछि नारदजीले आफू आगमनको कारण बताउनुभयो । आफूले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्यचकित भए । इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको व्रतलिएर पूरा गर्न नसकि बीचैमा छाडेका कारण यमलोकको वास भएको नारदजीले बताउनु भयो । इन्दिरा एकादशी व्रत धारण गरी ब्राहृमण भोजन गराउने समयमा आकाशमा बाजसँग युद्धमा हारेर सर्पले विष वगाउँदै जाँदा उक्त विषको अंश भोजन गर्दै गरेका ब्राहृमणको खानामा परी उक्त ब्राहृमणको मृत्यु भएपछि राजालाई ब्रहृमहत्याको पापले घेरेको थियो ।
यसैले पिताको मुक्ति नभएको हो, स्वर्गादि भोग प्राप्त नभएको हो । यसैले पिताजीको मुक्तिका निम्ति केही गर भनी सन्देश लिएर आएको भनेर नारदजीले बताएपछि इनद्रसेनले के गर्दा पिताको मुक्ति प्राप्त हुन्छ सोही गर्ने प्रण गरे । यसपछि नारदजीले इन्दिरा एकादशीको व्रत धारण गर्नु यसैबाट पिताको मुक्ति प्राप्त हुन्छ भनी बताउनुभयो । ‘पितुः स्वर्गतये राजन्निन्दिराव्रतमाचर । तेन व्रतप्रभावेण स्वर्गं यास्यति ते पिता ।।’ (पूर्ववत्, २०) अर्थात् पिताको स्वर्गादि लोक प्राप्तिका निम्ति इन्दिरा एकादशीको व्रत धारण गर । यसपछि इन्द्रसेनरले व्रतका सम्पूर्ण विधानसम्बन्धी जिज्ञासा राखे । नारदजीले सम्पूर्ण विधि बताउनुभयो र सो स्थानबाट प्रस्थान गर्नुभयो ।
नारदजीले बताए अनुसार राजा इन्द्रसेनले उक्त व्रत परिपूर्ण गरे । सोपश्चात् आकाशबाट पुष्पवृष्टि भयो । राजा इन्द्रसेनका पिता विष्णु भगवान्का पार्शदसँग दिव्य रथमा चढेर वैकुण्ठ लोक गए । राजा इन्द्रसेन पनि एकादशी व्रतका प्रभावले निष्कण्टक राज्य गरेर अन्तमा आफ्नो पुत्रलाई सिंहासनमा बसालेर स्वर्गलोक गएको कथा श्रीकृष्ण भगवान्ले युधिष्ठिरलाई बताउनु भएको छ । जुन कथा पद्मपुराण अन्तर्गतको एकादशी माहात्म्यमा पाइन्छ । यसरी इन्दिरा एकादशीको व्रत धारण गर्नाले इहलोकमा भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने कुरा भविष्यपुराण एवं पद्मपुराणका कथाबाट प्राप्त गर्न सकिन्छ ।
व्रतफल
इन्दिरा एकादशीको व्रत धारण गर्नाले स्वर्गको अनन्त भोगका साथै मुक्ति समेत प्राप्त हुने फल बताइएको छ । यसैगरी अगतिमा परेका पितृको उद्धारका निम्ति पनि यो व्रत उत्तम रहन्छ । जसको महिमा पढ्नाले, सुन्नाले पनि सम्पूर्ण पाप नष्ट हुन्छन् भनी व्रतफल बताइएको छ :
‘पठनाच्छ«वणात् राजन् सर्वपापैः प्रमुच्यते ।
भुक्त्वेह निखिलान् भोगान विष्णुलोके वसेच्चिरम् ।।’ (पद्मपुराण) सम्पूर्ण यसरी इन्दिरा एकादशीको माहात्म्य पढ्नाले, सुन्नाले पनि सम्पूर्ण पाप नष्ट हुन्छन् । यसरी समस्त पापलाई नष्टगरी अनन्त भुक्तिका साथै मुक्ति (विष्णुलोक) समेत प्राप्त हुने व्रतको फल बताइएको छ ।
एकादशी चान्द्रमासअन्तर्गतको एघारौं दिन हो । भगवान् विष्णुको अत्यन्त प्रिय दिन भएकाले यस दिन श्रद्धाभक्तिपूर्वक व्रतधारण गरिन्छ । आश्विन कृष्णपक्षको एकादशीको पितृसम्बद्ध विशेष महिमा पाइन्छ । यस खदिन विधिपूर्वक व्रत धारण गर्नाले समस्त पितृले मुक्ति प्राप्त गर्ने कथा एकादशी माहात्म्यमा बताइएको छ । यसरी आफ्नो र आफ्ना पितृको समेत उद्धार हुने इन्दिरा एकादशीको व्रत महिमा रहेको छ । व्रत रहनु पवित्रताको वरण गर्नु हो । व्रतीले आहार, विहारका साथै विचारमा पनि पवित्र रहनुपर्दछ भनिएको छ । व्रत रहेर पनि अरुको निन्दा गर्ने, अहंकारको प्रदर्शन गर्ने जस्ताका कार्य गर्नु हुँदैन् भन्ने शास्त्रीय फलश्रुति पाइन्छ । मन, वचन र कर्ममा पवित्र भावनाको जागृति नै व्रत हो । यसैले व्रतमा रहनु पवित्र भावनाको जागृत गर्नु र समग्रपक्षको कल्याणको कामना गर्नु हो । पितृको समेत कल्याणको कामना इन्दिरा एकादशीमा हुने गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच