काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै नौ सदस्यीय समिति गठन गर्नुभएको हो । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान् कोइराला सदस्य हुनुहुन्छ । त्यसैगरी अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत समितिको सदस्य तोकिएको छ ।
समितिलाई विद्यमान स्वास्थ्य बिमाको कानुनी अवस्था, सेवा प्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । साथै हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बिमा कार्यक्रममार्फत् लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बिमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारे समेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाईको महानिर्देशक रहिसकेका आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उहाँ हालैमात्र नेपालतर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहिसक्नुभएको छ । जनस्वास्थ्य सुधारका लागि विभिन्न देशलाई सुझाव प्रदान गरिसक्नुभएका आचार्यको अनुभव देशको स्वास्थ्य बिमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले भन्नुभयो, ‘स्वास्थ्य बिमामा सुधार गरेर आमनागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो, स्वास्थ्य बिमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौँ ।’
मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बिमाको रकम पाँच लाखसम्म पुर्याउने घोषणा गर्नुभएको थियो । उहाँले सरकारले दिने स्वास्थ्यसम्बन्धी सबै सहायता स्वास्थ्य बिमामार्फत् लैजान सकिए दायरा र रकम बढाउन सकिने भन्दै बिमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गर्नुभएको थियो । आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरूले स्वास्थ्य बिमाका अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनसँगै देशको अभ्यास र कठिनाइबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच