काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ स्वदेश फर्कनुभएको छ । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि उहाँ स्वदेश फर्कनुभएको हो । स्वदेश फर्किएलगत्तै अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले विपद्का बेला सरकार नदेखिएको भन्दै प्रश्न गरेका थिए । जवाफमा उहाँले सरकारले आफ्नो क्षमताअनुसार काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘विरोधका लागि विरोध होला सरकारले गर्ने सम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना दिएर पहिरो जाँदैन । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो । मैले पाएको जानकारीअनुसार सरकारले आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।’
प्रधानमन्त्री ओलीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ ? भनेर पूर्वानुमान नभएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन ।’ उहाँले विपद्को संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको भन्दै असन्तोष जनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौँ । सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’ ओलीले सञ्चारकर्मीसँग बोलेलगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उहाँले घाइतेको स्वास्थ्यलाभ कामना गर्नुभएको छ । ओलीले विपत्तिको बेला विरोधका लागि विरोध गर्नुको साटो विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अब थप तीव्रता दिइने बताउनुभएको हो । त्यसक्रममा उहाँले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अंगलाई निर्देशन दिएको पनि बताउनुभयो । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ’, उहाँले भन्नुभयोे । विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै स्वदेश फर्किनुभयो ।
राष्ट्रसंघमा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका मुद्दा संयुक्त राष्ट्रसंघमा उठाएको बताउनुभयो । उहाँले अल्पविकसित मुलुकहरूले जलवायु परिवर्तन हुनुमा भूमिका नखेलेको भए पनि त्यसको नकरात्मक प्रभाव भने भोगिरहनु परेको बताउनुभयो । पत्रकारहरूले ‘संयुक्त राष्ट्रसंघको महासभा र न्युयोर्क भ्रमणले मुलुकलाई के अर्थ राख्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘म कुनै भैँसी दुहुन गएर, दूध लिएर आएँ भनेजस्तो होइन । हाम्रा विचारहरू, हाम्रा समस्याहरू त्यहाँ राख्न गएको हो राखियो ।’ जलवायु परिवर्तनका समस्या विश्व समुदायका सामु राखिएको ओलीको भनाइ थियो । ‘यी समस्याहरू एउटा देशका मात्रै होइनन्, विश्वका समस्यालाई विश्व मिलेर समाधान गर्नुपर्छ । यी परिस्थिति ल्याउन कुनै भूमिका नभए पनि अल्पविकसित देशहरूले बढी मार भोग्नुपरेको छ, त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ,’ ओलीले भन्नुभयो, ‘जसले बढी बिगारेको छ त्यसले क्षतिपूर्ति बेहोर्नुपर्छ र सपार्ने काममा पनि बढी लगानी गर्नुपर्छ भन्ने कुराहरू राखिएको छ ।
बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई दुई लाख दिने सरकारको निर्णय
सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई दुई लाख दिइनेछ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) चार बजे प्रेसमिट गरेर राहतको अरु प्याकेज घोषणा गर्ने पनि निर्णय भएको छ । यसका साथै बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय पनि भएको छ । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमणको ब्रिफिङ गर्दै भ्रमण सफल र फलदायी भएको जनाउनुभएको थियो । यीलगायत मन्त्रिपरिषदका निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच