काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट बहिर्गमन भएलगत्तै माओवादी अब जनतामा जाने बताउनुभएको थियो । जनतामाझ गएर सत्ता सञ्चालनमा परेका बाधा, सुशासनका लागि काम गर्दा व्यहोर्नुपरेको सास्ती र कमजोरी समेतको समीक्षा गर्ने प्रचण्ड उद्घोष थियो । त्यसका लागि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, सबै तह र संरचनालाई सक्रिय बनाउने लगायतका निर्णय माओवादी स्थायी कमिटी बैठकले गरेको पनि थियो । पार्टीको औचित्यमाथि प्रश्न उठ्दा पार्टी सुधारको उद्घोष गरेका माओवादी नेताहरूले अहिले आफ्नै पार्टीको भ्रातृ संस्था अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशन टुंग्याउन नसकेर रनभुल्लमा परेका छन् । गत असोज ११ गते कीर्तिपुरमा अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन भएको थियो । त्यसयता सम्मेलन समापन हुने छाँटकाँट नदेखेपछि प्रतिनिधिहरू घर फर्कन थालेका छन् । नेतृत्वका लागि उमेर हदको प्रावधान राख्ने कि नराख्ने भन्नेमा अखिल (क्रान्तिकारी) मा मात्रै नभएर माओवादी पार्टीमै विवाद छ । नेताहरूले आ-आफ्नो स्वार्थअनुकूल विधान बनाउन खोजेपछि उत्पन्न तनावका कारण बन्दसत्रसमेत हुन सकेको छैन । उमेरहद लागू गर्न नहुने पक्षका नेताहरूले विरोध प्रदर्शन गर्ने क्रममा हतियारसमेत प्रदर्शन गरेपछि माओवादी नेतृत्व सशंकित भएको थियो । पार्टीभित्र आमूल रूपान्तरणको भाषण गरिरहेका बेला विद्यार्थी संगठनमा विवाद तीव्र देखिएपछि अध्यक्ष प्रचण्ड आफैँले थालेको संवादले पनि सार्थकता पाएको छैन ।
‘उमेरहद लागू गर्नुहुँदैन भन्ने अधिकांश विद्यार्थी नेताहरूको भनाइ छ । अध्यक्षसँगको संवादमा पनि यो कुरा उठेको हो तर उहाँले हलले जे गर्छ त्यही मान्नु भन्नुभयो । हल भनेको बन्दसत्र हो । बन्दसत्र नै बस्न सकेको छैन’, अध्यक्षका एक प्रत्याशीको भनाइ छ । उहाँले पार्टी नेतृत्वले आफूअनुकूल नेतृत्व ‘टीका’ लगाउने अवस्था नबन्दासम्म बन्दसत्र हुन नदिने दाबी गर्नुभयो । ‘अहिले भएका आकांक्षी व्यवस्थापन गर्न समस्या छ तर समस्या समाधान गर्नेभन्दा सबै प्रतिनिधिलाई घर फर्कन बाध्य पारेर लिष्ट टाँस्ने तयारी भित्रभित्रै गरिएझैँ देखिन्छ’, उहाँले भन्नुभयो ।
अखिल (क्रान्तिकारी) मा हाल १८ जना उपाध्यक्ष छन् । ती सबै अध्यक्षका आकांक्षी हुन् । महासचिव दीपेश पुनसहित अन्य थप नेताहरूको नाम जोड्दा नेतृत्वका लागि करिब दुई दर्जन आकांक्षी देखिएका छन् । माओवादीले हालै पार्टी संगठनका नेतृत्व आन्तरिक प्रतिस्पर्धाबाट गर्ने जनाएको थियो । तर, आफूअनुकूल नेतृत्व आउने सुनिश्चित भएका कारण अनेरास्ववियु (क्रान्तिकारी) मा चुनाव हुन नदिन पार्टी नेताहरू एक भएका छन् । अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा र उपमहासचिव वर्षमान पुन सबैले आफूनिकट विद्यार्थी नेतालाई नेतृत्वमा ल्याउन चाहेका छन् ।
राष्ट्रिय सम्मेलन उद्घाटन भएको हप्तादिनसम्म टुंगिने निधो नभएपछि विद्यार्थी प्रतिनिधिहरू महाधिवेशनस्थलमा देखापर्न छाडेका छन् । उनीहरूमध्ये अधिकांश घर फर्किसकेका छन् । नेतृत्वका आकांक्षीहरू भने नेताहरूको घर दैलोमा व्यस्त छन् । निर्वाचन आयोगले सहमतिको वातावरण नबनेसम्म चुनावी तालिका कार्यान्वयन हुने सम्भावना नरहेको बताउँदै आएको छ । ‘विधानमै विवाद भएपछि निर्वाचन आयोगले चाहेर मात्रै चुनाव हुने होइन । नेताहरूले सहमति गरेर विधान पास गरेर दिएपछि हामीले चुनाव गराउने हो’, निर्वाचन आयोगका एक सदस्यले भन्नुभयो ।
माओवादी केन्द्रका एक पदाधिकारीले महाधिवेशन स्थगित गरेर पार्टीकै पहलमा नयाँ समिति घोषणा हुने सम्भावना अधिक रहेको बताउनुभयो । सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी थिए । हाल कायम रहेको विधानअनुसार ३३ पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय कमिटी राष्ट्रिय सम्मेलनले निर्वाचित गर्नुपर्ने हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच