
सिन्धुली । यतिबेला शहरबाट गाउँ आउनेको लस्कर हुन्थ्यो । व्यस्त बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग एकैछिन खाली हुँदैनथ्यो । राजमार्ग छेउका व्यापारी र व्यवसायीलाई भ्याइ-नभ्याई हुन्थ्यो । युवाविहीन भएको गाउँ भरिन थालेपछि दशैँको रौनक लाग्थ्यो । खेतका फाँटमा लहलह झुलेका धानले साँच्चै गाउँ वरपरको वातावरण मनोरम बनाउँथ्यो । ढुंगा, माटोले बनेको घरमा रातो माटो र कमेरो माटो, कंक्रिटका घरमा विभिन्न रंगले रंगाएपछि आहा ! दशैँको उल्लास र उमंगले छपक्कै छाउँथ्यो । अहिले दशैँ त आएको छ तर दशैँको उल्लास छैन । बाढीपहिरोले बाटो क्षतविक्षत बनाएर सवारीसाधन ठप्प भएपछि युवाहरू शहर पसेर खाली भएको गाउँ भरिन सकेको छैन ।
सवारीसाधन नचलेपछि सधैँ व्यस्त हुने राजमार्गहरूसमेत सुनसान छन् । व्यापार, व्यवसाय शून्य छ । खेतका फाँटमा लहलह झुलेका धान, खेतीयोग्य जमिन र दशैँमा रंगीन हुने घरहरूसमेत बाढीपहिरोले बगर बनाएपछि यहाँका स्थानीयलाई पीडैपीडा छ । छैन, दशैँको उमंग, हर्ष र खुसी । यो सिन्धुलीका बाढीपहिरो प्रभावित क्षेत्रको कथा मात्रै होइन, वास्तविक यथार्थ पनि हो ।
‘न बस्ने बास छ, न खाने गाँस’
‘पाँच जनाको परिवार खुसी थियौँ । दशैँ मनाउन खर्च जुटाइसकेका थियौँ । तर, दशैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनौँ । पहिरोले घर ध्वस्त पा¥यो । आँखै अगाडि छोराको मृत्यु भयो’, यो भनाइ सुनकोशी गाउँपालिका–१ नेपालथोककी बिन्दा कोइरालाको हो । उहाँको छोरा विनय घर माथिबाट झरेको पहिरोमा पुरिनुभएको थियो । ‘घरले छोरालाई किच्यो । बचाऊ ! बचाऊ ! भनेर हारगुहार गरिरहृयो, तर हामीले केही गर्न सकेनौँ । हाँसिरहने छोरो अहिले पनि आँखा अगाडि छाँया बनेर नाचिरहन्छ’, उहाँले रुँदै भन्नुभयो ।
बिन्दा र बोधकुमारका दुई छोरा थिए । जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो । ज्वालादेवी सेकेण्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन् । दुवैको काँधमा १० वर्षे विजयको पढाइ र कपाल सेतै फूलेकी आमाको पालनपोषणको जिम्मेवारी छ । साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो । बाढीले सबै धानबाली सखाप बनाएको छ । गाईसहित गोठमा भएका पशुवस्तु पुरिए । दुई आनामा ढुंगामाटोले बनाएको घरगोठ सहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ । यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको । ‘एउटा छोरो दैवले लगे पनि चारजना बाँचेका छौँ । खान त बनिबुतो गरेर खाउँला । बस्ने बासको व्यवस्था गरिदिए हुन्थ्यो’, बोधकुमारले भन्नुभयो । बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन् ।
यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो । सुनकोशी गाउँपालिका-२ रम्तेल टोलकी सीता सार्कीको पनि यतिबेला रुबावासी छ । वडा सदस्यसमेत रहनुभएकी सीताको टोल नै पहिरोको जोखिममा छ । घरमाथि र आँगन तलबाट पहिरो खसिरहेको छ । केही घरमा क्षति भइसकेको छ । ‘यो विपद्को बेलामा म एक्लै छु । दुई छोराबुहारी काठमाडौं छन् । बिहे गरेर दिएका छोरी आफ्नै घर छिन् । आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ । सुनकोशी नदीतिरको बस्ती बाढीले डुबाएको छ । अब म सुरक्षितसँग बस्न कहाँ जानु ?’, पहिरो प्रभावित सीता सार्कीले दुःखेसो गर्नुभयो । ठाउँ ठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुंगे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानि गरेको छ । बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचलित भएका छन् ।
५२६ रोपनी जमिन पुरियो
फिक्कल गाउँपालिकामा मात्रै ३०६ घरपरिवार प्रभावित छन् । उपाध्यक्ष राजु बरालका अनुसार पहिरोका कारण वडा नं ३ पोखरीमा ६०, वडा नं २ खोलागाउँमा २९, वडा नं ४ खाङ्साङमा ६२, वडा नं. ५ सोल्पाठानामा ७५, वडा नं ६ रत्नावतीमा ७९ र वडा नं १ महादेवडाँडामा एक घरपरिवार पहिरोबाट प्रभावित छन् । ६४६ रोपनीमा किसानले लगाएको धानबालीमा क्षति भएको छ । १२० रोपनी खेतीयोग्य जमिन कटान भएको छ । बाढीले कृषि तथा पशुपक्षीका पाँचवटा फर्म, सातवटा फलफूल बगैँचा बगाएको छ । बाढी, पहिरोले ५० वटा विद्युत्का खम्बामा क्षति गरेपछि असोज ११ गतेदेखि विद्युत् अवरुद्ध छ । विद्युत् अवरुद्ध हुँदा फिक्कल गाउँपालिकामा आठ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य छन् । सुनकोशी नदीमा आएको बाढीले फिक्कलका पाँचवटा झोलुंगे पुलमा क्षति गर्दा ओखलढुंगासँगको सीधा सम्पर्क टुटेको छ ।
सुनकोशी नदीबाट लिफ्टिङ गरी खानेपानी तान्ने १५ वटा मोटर बगाउँदा पिउने पानीको समस्या भएको छ । सुनकोशी र गोलञ्जोरमा बाढी, पहिरोले गरेको क्षतिको विवरण संकलन भइरहेको छ । सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाका अनुसार पालिका र प्रहरीले क्षति विवरण संकलन गरिरहेका छन् । हालसम्म सुनकोशी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका २०६ घरपरिवार बाढी, पहिरोका कारण विस्थापित भएको विवरण संकलन भएको छ । घर पूर्णरूपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन् । यहाँ पनि खानेपानीको चरम समस्या छ ।
सुनकोशी गाउँपालिका-५ मुल्कोट बजार क्षेत्रका मात्रै चारवटा रिसोर्ट, ३५ वटा होटललगायत विद्यालयको भवन र घरको पहिलो तला बाढीको बालुवा माटोले पुरिएको स्थानीय व्यवसायी पुर्छमान श्रेष्ठले बताउनुभयो । यता, गोलञ्जोर गाउँपालिका-७ खुर्कोट बजार क्षेत्रको अवस्था पनि उस्तै छ । गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)का अनुसार यहाँ मात्रै ३५ घरका ६० परिवार विस्थापित भएका छन् । सुनकोशी नदीमा आएको बाढीले गोलञ्जोर-६ मा ११ वटा घर पूर्णरूपमा क्षति भएको वडाध्यक्ष रवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको दुईवटा भवन, विद्यालयको भवन, र्याफ्टिङसहित सरकारी भवन १४ वटा, तीनवटा मन्दिर र दुईवटा पार्टीमा क्षति भएको छ । हैवारदेखि बलेनीसम्मको लिफ्टिङ खानेपानीको नौवटा इनार बगाउँदा तीन सय घरधुरीलाई खानेपानीको समस्या भएको छ ।
सुनकोशी-१ नेपालथोक, दुम्जामा भुपाल घिसिङले दुई वर्षअघि नमुना पेट्रोलपम्पको अवधारणामा २० करोड लगानी गरेर सञ्चालनमा ल्याउनुभएको नमोबुद्ध आयलस्टोर बाढीले बगायो ।
बगर बन्यो धान खेत
सुनकोशी गाउँपालिका-१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भिœयाउन किसानले खेताला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दशैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् । जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’, उहाँले भन्नुभयो । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गर्नुभएको थियो । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो । सुनकोशी-१ गोइरीकी कृष्णमाया तोलंगेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताउनुभयो ।
बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिनुभयो । सुनकोशी-१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेशा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँचजना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उहाँलाई यतिबेला चिन्ता बढेको छ । नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुंगा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिका भित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयो ।
गोलञ्जोर गाउँपालिका क्षेत्रमा ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आँकलन छ । सुनकोशीमा आएको बाढीले विशेषगरी गोलञ्जोर-७ को बेंसीफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उहाँले बताउनुभयो । हरिहरपुरगढी गाउँपालिकामा बागमती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी-१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ । भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’ कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्यांक आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आँकलन छ । क्षति विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । कृषि विकास कार्यालयको तथ्यांकअनुसार यस वर्ष सिन्धुलीको ११ हजार १८८ हेक्टरमा किसानले धानबाली लगाएका थिए ।
क्षतिग्रस्त झोलुंगे पुलमा जोखिमपूर्ण यात्रा
रामेछाप नगरपालिका–९ बस्ने दीपक माझी सुनकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुंगे पुलमा जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुहुन्छ । शुक्रबार उहाँ बाढीले बगाएर बाँकी राखेको झोलुंगे पुलको फलामे लहराहरूमा झुण्डिँदै सिन्धुलीबाट रामेछापतर्फ खाद्यान्नका सामान सुनकोशी नदीबाट तार्दै गरेको भेटिनुभयो । उहाँले भन्नुभयो, ‘हामी दिनमा दशौँपटक ओहोरदोहोर गर्ने पुल बाढीले बगायो । नदी तर्ने उपाय नभएपछि यही क्षतिग्रस्त पुलमा जोखिम मोलेर भए पनि पेट भर्ने चामल त ओसारपसार गर्ने पर्यो नि, के गर्नु ? भोकै बस्न सकिँदैन ।’ उहाँ मात्रै होइन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामाने बीचमा रहेको रामेछाप गाउँपालिका-९ सँग जोडिएको यो झोलुंगे पुल रामेछापका सयाँै स्थानीय दैनिक प्रयोग गर्दछन् । नदी वारपार गर्ने विकल्प अरू नभएपछि यात्रुहरू क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यो झोलुंगे पुलसँगै बनेपा-सिन्धुली-बर्दिबास (बिपी) राजमार्ग र खुर्कोट-घुर्मी मध्यपहाडी लोकमार्गसँग जोडिएका १४ वटा पुलमा बाढीपहिरोले क्षति गरेको छ । रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले मात्र सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो । यहाँका पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगा जिल्ला जोड्ने छोटो दूरीका सबै नाकाहरू बन्दजस्तै छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खुर्कोट-मन्थली पक्की पुल, खुर्कोट झोलुंगे पुल, ग्वाल्टारको कुँडुले–रामेछाप जोड्ने झोलुंगे पुल, रातमाटा बेलघारी रामेछाप जोड्ने झोलुंगे पुल, फिक्कल माझीगाउँ-सोखुबेंसी-ओखलढुंगा जोड्ने पुल, फिक्कल खाङ्साङ-ओखलढुंगा जोड्ने पुल, दुम्जा लुभुघाट–सुनापति रामेछाप जोड्ने बेलिब्रिज, घ्याम्पेखोला-देवीस्थान कल्भर्ट, गोलञ्जोर कुखुरेटार-रामेछाप जोड्ने झोलुंगे पुलमा सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको छ ।
यस्तै, गोलञ्जोर ग्वाल्टार-रामेछाप जाने झोलुंगे पुल, गोलञ्जोर बलेनी-रामेछाप जोड्ने झोलुंगे पुल, फिक्कल पंन्चकन्या-ओखलढुंगा जोड्ने झोलुंगे पुल, फिक्कल तीनखण्डे- ओखलढुंगा जोड्ने झोलुंगे पुल र रातामाटा-सित्खा रामेछाप जोड्ने पुल पनि बाढीले बगाएको छ । यी पुलहरू प्राय पूर्णरूपमा क्षति भएका छन् । जसमध्ये कतिपयको त जगसमेत छैन । कुनै पनि तत्काल सुचारु गर्न नसकिने गरी क्षति भएका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।
२५ विद्यालयमा क्षति, १८ हजार विद्यार्थी प्रभावित
असोजको पहिलो साता सिन्धुलीका विद्यालयहरूमा प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो । प्रथम त्रैमासिक परीक्षा सकिएसँगै दशैँ र तिहारसम्म झण्डै एकमहिना विद्यालय बिदा दिने तयारी हुँदै थियो । तर, बाढी र पहिरोको कारण विद्यालय भवनहरू नै तहसनहस भएपछि परीक्षा नसकिँंदै यहाँका विद्यालयहरू अनिश्चित बन्द भए । रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण सिन्धुलीका तीनवटा पालिकाका विद्यालयहरू परीक्षा नसकिँदै अनिश्चित कालका लागि बन्द भएका हुन् । बाढीले विद्यालय भवनहरू पूर्णरूपमा क्षति हुँदा जिल्लाको सुनकोशी, गोलञ्जोर र फिक्कल गाउँपालिकाका २५ वटा विद्यालयहरूमा क्षति पुगेको छ । तीमध्ये पाँचवटा विद्यालयका सबै भवनहरू पूर्णरूपमा क्षति पुगेको छ । २० वटा विद्यालयमा आंशिक क्षति भए पनि पठनपाठन गर्नसक्ने अवस्थामा छैनन् । विद्यालय भवनहरूमा क्षति पुग्दा तीनवटा पालिकाका मात्र झण्डै १८ हजार विद्यार्थीहरू प्रभावित भएका छन् । बाढीका कारण सबैभन्दा बढी सुनकोसी गाउँपालिकाका विद्यालय भवनहरूमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच