बारा । विश्व प्रसिद्ध गढीमाई मेला भव्य र सभ्य रुपमा लगाउन कुनै कसर बाँकी नराख्ने संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
बाराको सदरमुकाम कलैया देखि ७ किलोमिटर पूर्वमा रहेको गढीमाई मन्दिरको प्रांगणमा शनिबार गढीमाई मन्दिर अवलोकन तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले खानेपानी, ढल र शौचालयलगायतका पूर्वाधार निर्माण तथा व्यवस्थापनमा आफूबाट कुनै पनि कमी नहुने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री यादवले विश्व प्रसिद्ध गढीमाई मेला सभ्य र भव्य रुपमा लगाउन सबैसँग आग्रह गर्नु भएको थियो । मेलामा सरसफाई खानेपानी तथा ढल व्यवस्थापनको लागि आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।
'पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको व्यवस्थापनको लागि संघीय सरकार लागि परेको छ', उहाँले भन्नुभयो,‘शुद्ध खानेपानी, ढल व्यवस्थापन, चर्पी लगायतको व्यवस्थापनको लागि आफू लागि परेका छौ । महागढीमाई नगरपालिकाका नगरप्रमुखलगायतका टोलीसँग संवाद गरी आवश्यक पर्ने खानेपानी, ढल, तथा चर्पी निर्माण गरिने छ ।' दातृ निकायहरु सँग समेत कुरा भइसकेको र केही समय भित्रै घुम्ती शौचालय उपलब्ध गराईने मन्त्री यादवले बताउनुभयो ।
बारा क्षेत्र नम्बर ४ का सांसद तथा पूर्व मन्त्री किसान श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गढीमाई मेलालाई बलीको नाममा बदनाम गर्ने चलखेल गरिएको बताउनुभयो । 'हाम्रो आस्था माथि प्रहार भएको छ', उहाँले भन्नुभयो, ‘ हामीले मान्ने पर्व तथा संस्कृति माथि केही गैर सरकारी संस्थाहरु लागिपरेका छन् ।' डलर कमाउने नाउँमा आस्था र संस्कृति माथिको प्रहार सह्य नहुने उहाँले बताउनुभयो ।
महागढीमाई उपमहानगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई दर्शन गर्न कुनै शुल्क निर्धारण नगरिएको बताउनुभयो । कसैले विशेष पूजा गर्न चाहेमा मात्रै पाँच सय रसिद कटाएर विशेष पूर्जा गर्न पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
'गढीमाई दर्शन गर्न आउने भक्तजनहरुको लागि कुनै किसिमको शुल्क रहेको छैन', उहाँले भन्नुभयो ‘तर विशेष पूजागर्न चाहनेहरुको लागि मात्र पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।' त्यसैले निर्धक्क भएर गढीमाई मन्दिरमा दर्शन गर्न र पूजाआजा गर्न आउन सबैमा अनुरोध गर्नुभयो ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महागढीमाई नगरपालिकाका सबै वडाका वडाध्यक्ष, स्थानीय, पत्रकार, खानेपानी मन्त्रालयका निमित्त सचिव, डिजी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विरेन्द्र प्रसाद यादवले गर्नु भएको थियो ।
बाराको महागढीमाई १ स्थित गढीमाई मेलाको अनुगमन तथा निरीक्षण गर्न आउनु भएको खानेपानी मन्त्री प्रदीप यादव लगायतका टोलीहरु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच