अहिलेको सरकारले कुनै सकारात्मक काम गर्न सकेन : माओवादी नेता श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 6 mins

-निराेज काेइराला

विराटनगर । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको जिकिर गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षाका लागि मेहनत गर्न आवश्यक नरहेको बताउनु भएको हो । ‘दुईवटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धती र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुईवटा पार्टी मिलेर निरंकुशतातिर जाने संकेत भएको भनेर हामीले सुरुमै भनेका थियौं । अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौं । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषीलाई सफाई दिने काम भईरहेको छ ।’

पूर्वउपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बाढी पहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको आरोप लगाउनु भयो । ‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठूलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनःस्थापना, पुनःनिर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरि रहनुपर्ने अवस्था छैन,’ श्रेष्ठले भन्नुभयो, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’ अहिलेको देशको परिस्थिती दुईवटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने खालको नभएको पनि श्रेष्ठले बताउनुभयो । यो कुरा काँग्रेस र एमालेले बुझ्नु पर्ने श्रेष्ठको धारणा छ ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानविन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गर्नुभयो । ‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन । राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन,’ श्रेष्ठले भन्नुभयो, ‘तर, अहिले सबैको टिप्पणी के हो भने भेदभाव भई रहेको देखिन्छ । त्यस्तै गरी प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धीत भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन ? किन उनीहरुलाई कानूनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । त्यो सही पनि छ ।’ माओवादी सरकारमा हुँदा दोषि कसैलाई छोडिने छैन, छोड्नु हुँदैन । निर्दोष कसैलाई दुःख दिनु हुँदैन, जतिसुकै शक्तिशाली भएपनि दोषीलाई छोड्नु हुँदैन भन्ने कुरा गरेको श्रेष्ठले स्मरण समेत गर्नुभयो ।

माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको बताउँदै श्रेष्ठले भन्नुभयो, ‘सरकारतिर हाम्रो आँखा छैन । तर, आन्दोलन भनेको सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन,’ किन आन्दोलनमा जान लाग्नु भयो भन्ने प्रश्नमा भन्नुभयो, ‘देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौं ।’ दुईवटा पार्टीले मिलेर बनेको सरकार चलेसम्म आफूहरुले चलाउन दिने पनि बताउनुभयो ।

अहिलेको ओली सरकारले काम गर्न नसकेपनि लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बन्नेतिर जानुपर्ने धारणा पनि नेता श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?