
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडीका रूपमा इंग्ल्याण्डका क्रिकेटर टम मोरिसलाई सार्वजनिक गरेको छ । लुम्बिनीले बुधबार विकेट किपर तथा बायाँ हाते ब्याटर मोरिसलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
२८ वर्षीय मोरिसले सन् २०१६ देखि टी-२० क्रिकेट खेल्दै आउनुभएको छ । टी-२० मा उहाँले १३३ खेल खेल्नुभएको छ । करियरमा दुई शतक र आठ अर्धशतक उहाँले प्रहार गर्नुभएको छ । उहाँको आगमनले टिम अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुने लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले बताउनुभयो । लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल हुनुहुन्छ ।
यस्तै, नेदरल्याण्ड्सका क्रिकेटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट एनपिएल खेल्नुहुनेछ । काठमाडौंले पहिलो विदेशी खेलाडीका रूपमा लेभिटलाई टोलीमा अनुबन्ध गरेको हो ।
२१ वर्षीय लेभिटले नेदरल्याण्ड्सका लागि आठ ओडिआई तथा १७ टी २० आई खेल्नुभएको छ । टोलीको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी हुनुहुन्छ । काठमाडौंले टिमको मुख्य प्रशिक्षकमा भने वसन्त शाही ठकुरीलाई नियुक्त गरेको छ ।
वेष्ट इण्डिजका एन्डरसन पोखरा एभेन्जर्समा अनुबन्ध
पोखरा एभेन्जर्सले वेष्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्याण्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेष्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँ फास्ट बलर हुनुहुन्छ । १४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताउनुभएको छ ।
एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गर्नुभएको छ । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताउनुभयो ।
एनपिएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुमन गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएल मंसिर १६ देखि पुस ६ गतेसम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच