काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ता काठमाडौं केन्द्रित भएका छन् । कात्तिक २ गते रवि पक्राउ परेको भोलिपल्टैदेखि पोखराका सडकमा उत्रिएका रास्वपा नेता–कार्यकर्ताले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । सभापति लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सिंगो रास्वपा नै सडकमा उत्रिएको छ । प्रदर्शनमा सहभागीहरू प्लेकार्डसहित उपस्थित भएका थिए । उनीहरूले भ्रष्टाचारविरोधी नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले ‘ओई सरकार ओई, ८७ अर्ब खोइ ? यती ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरिबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर्, अधिनायकवाद चल्दैन’,जस्ता नारा लगाएका थिए । रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।
सहकारी ठगी सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रवि समातिएपछि रास्वपाले त्यसलाई राजनीतिक रंग दिने प्रयास गरेको छ । थप अनुसन्धान, छानविन र न्यायिक प्रक्रिया अगाडि बढिरहँदा रास्वपाले राजनीतिक प्रतिशोध भन्दै प्रभावित गर्न खोजिरहेको छ । न्यायिक प्रक्रिया अगाडि बढिरहँदा रवि र सिंगो रास्वपा सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै राजनीतिक रंग दिएर प्रदर्शन गरिरहेका हुन् । सहकारी प्रकरणमै छवि पक्राउ परेपछि रविले न्यायिक निरूपणमा सघाउने बताउनुभएको थियो । तर, पक्राउ पर्नुअघि उहाँले नै सरकारविरुद्ध आन्दोलन गर्न आहृवान गर्नुभएको थियो ।
रास्वपाका सदस्यसमेत रहनुभएका शिशिर खनालले हस्ताक्षर गरेको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडियाका सञ्चालक तथा पूर्व–डिआइजी छविलाल जोशीपछि कात्तिक २ गते प्रहरीले रविलाई पक्राउ गरेको थियो । काठमाडौंबाट पक्राउ गरेर उहाँलाई पोखरा प्रहरीको हिरासतमा राखिएको छ । पोखराको सूर्यदर्शनसँगै रूपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा समेत उहाँ जोडिनुभएको छ । संसदीय विशेष समितिले सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै रवि सहितलाई कारबाही सिफारिश गरेको थियो । समितिको प्रतिवेदन सार्वजनिक भएलगत्तै रविले क्लिन चिट पाएको रास्वपाले प्रचार गरेको थियो ।
अब २०८४ सम्म सदन र सडक हाम्रो हो : ढकाल
रास्वपा सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताउनुभएको छ । शुक्रबार माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टहरू सरकारमा र आफूहरू सदन र सडकमा रहने बताउनुभयो । पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसद्मा आएपछि उनीहरूको निद्रा हराएको उहाँले बताउनुभयो । ढकालले नयाँ शक्तिको रूपमा उदाएको आफ्नो पार्टीलाई अरूजस्तै हुन् भन्ने हो भन्ने भाष्य पार्न खोजिएको आरोप लगाउनुभयो । ‘हाम्रो पार्टी संसद्मा आएपछि उनीहरूको निद्रा हराएको छ । हामीले सदनमा सशक्त आवाज उठाएका छौँ । अब २०८४ सम्म सदन र सडक हाम्रो हो । सरकार भ्रष्टहरूको, यो अभियानलाई साथ दिनुहोला,’ उहाँले भन्नुभयो । रास्वपा सरकारमा हुँदा अरूले भन्दा राम्रो काम गरेको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ गरेपछि सरकार ढालेको उहाँले दाबी गर्नुभयो । राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उहाँको भनाइ थियो ।
सहकारी क्षेत्रमा ९७ अर्बको ठगी छ, सरकार तीन करोडको पछि लागेको छ : श्रेष्ठ
रास्वपाका सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिनुभएको छ । शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जानसक्ने चेतावनी दिनुभयो । रास्वपालाई नहेप्न पनि उहाँले सरकारलाई चेतावनी दिनुभयो । ‘यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ श्रेष्ठले भन्नुभयो, ‘९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ ?’ विकृति र विसंगति रोकेर सुशासन ल्याउनुपर्ने सरकार रवि लामिछानेलाई फसाउन लागिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा रास्वपा सांसद गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको अरोप लगाउनुभयो । पराजुलीले सहकारी छानविन प्रतिवेदनमा ८७ अर्ब अपचलनबारे नखोजी रवि लामिछानेलाई मात्र पक्राउ गरेको बताउनुभयो । सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको उहाँको दाबी छ । जिबी राईलाई पक्राउ गर्न कसले रोक्यो भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो । सरकारले प्रमाणबिना लामिछानेलाई पक्राउ गरेको उहाँले दाबी गर्नुभयो । ‘सरकारमा रहेका दलहरू हामीलाई देखेर डराएका छन् । थर्थराएका छन् । हामीले षड्यन्त्रको सामना गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
रवि लामिछानेको बचाउमा अर्को गल्ती नगरौँ : न्यौपाने
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी नेतृत्वलाई रास्वपा सभापति रवि लामिछानेको बचाउमा अर्को गल्ती नगर्ने सुझाव दिनुभएको छ । माओवादीले सरकारको विरोधमा आज (शनिबार) काठमाडौंमा प्रदर्शन गर्न लागिरहेको बेलामा सरकारको रंगढंगको तथ्यगत विरोध गर्न उहाँले आग्रह गर्नुभएको हो । माओवादीले काठमाडौंमा गर्न लागेको खबरदारी सभालाई लक्षित गर्दै उहाँले रास्वपा सभापति रवि लामिछानेको बचाउमा देखिनगरी विरोध गर्न नहुने बताउनुभएको हो । रविको बचाउ गरेर माओवादीले विगतमा पनि गल्ती गरेको भन्दै फेरि अर्को गल्ती गर्न नहुने उहाँको भनाइ छ । ‘ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौँ तर, हामी माओवादीले घण्टी अध्यक्षको बचाउमा अर्को गल्ती नगरौँ, विगतमा उनकाबारे हामीले गम्भीर गल्ती गरिसकेका छौँ,’ उहाँले भन्नुभएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन माओवादीले आज काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दै छ ।
सरकार अघि बढिसक्यो, अब कोही सहकारी ठगले उन्मुक्ति पाउँदैन : मन्त्री गुप्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी बचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताउनुभएको छ । सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो । ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रियासमेत अगाडि बढाइरहेको उहाँले स्मरण गर्नुभयो । अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने उहाँको जिकिर थियो । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।
पीडितले घोषणा गरे ‘निर्णायक आन्दोलन’
सहकारी पीडितहरूले फेरि आन्दोलनको घोषणा गरेका छन् । पोखरा केन्द्रित आन्दोलन रास्वपाले काठमाडांै केन्द्रित आन्दोलन थालेकै दिन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले ‘निर्णायक आन्दोलन’को घोषणा गरेको हो । महासंघले आउँदो मंसिर ५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो । अहिले आन्दोलन गर्नुपर्ने दुईवटा कारण रहेको महासंघले जनाएको छ । पहिलो, सहकारी पीडितलाई मोहरा बनाएर पार्टीगत आन्दोलन गरिएको अभियानका संयोजक शुभलव केसीले बताउनुभयो । यसले वास्तविक पीडितको समस्यालाई कहिल्यै समाधान नगर्ने उहाँको भनाइ छ । दोस्रो कारण चाहिँ सरकारले गरेका बैठकमा सहकारी पीडितको प्रतिनिधित्व नगरिनु रहेको महासंघले जनाएको छ । केही दिनअघि सहकारी विभागमा राष्ट्र बैंक र अन्य सरोकारवाला संस्थासहितको छलफलमा पीडितको प्रतिनिधित्व नभएकोमा महासंघले आपत्ति जनाएको हो । विगत १८ महिनादेखि आफूहरूले सहकारी पीडितको पक्षमा काम गर्दै आए पनि यसलाई समाधान गर्ने कार्यमा पीडित पक्षकै प्रतिनिधित्व नहुँदा वास्तविक पीडितले न्याय पाउने सम्भावना थप कमजोर बनेको संयोजक केसीले बताउनुभयो । त्यसैले तिहार र छठपछि आन्दोलन सुरु गरिने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच