लोकतान्त्रिक प्रणालीको करिब पच्चीस दशक पुग्दा पनि दोस्रो ठूलो लोकतान्त्रिक देश अमेरिकाले अहिलेसम्म कुनै महिलालाई राष्ट्रपति पदमा निर्वाचित गरेको छैन । अहिले भारतीय मूलकी आमाको कोखबाट जन्मिएकी कमला हृयारिस राष्ट्रपति पदको प्रतिस्पर्धामा छिन् । तर, लोकतन्त्र र समावेशिताको पाठ संसारलाई पढाउन तत्पर अमेरिकी जनताले राष्ट्रपतिमा पुरुषप्रति द्वन्द्वीविरुद्ध प्रतिस्पद्र्धा गरिरहेकी महिलालाई योग्य प्रमाणित गर्ने हुन् कि होइनन् ? यो प्रश्नको उत्तर सजिलो हुँदैन ।
चुनाव आए पनि कतै सार्वजनिक स्थानहरूमा होहल्ला देखिँदैन । प्रचारसभाहरू पनि नियत स्थानमा हुने र सभामा मानिसहरू ओसार्ने अवस्था देखिँदैन । कता कतै उम्मेदवारका पक्षमा प्लेकार्ड मतदाताले आफ्नो करेसामा गाडेको देखिन्छ । साना घरहरूका छेउमा हृयारिसको नाम र जमिन्दार जस्ता देखिने घरका बगलमा ट्रम्पको नामका प्लेकार्डबाहेक प्रचारको सम्पूर्ण जिम्मा टिभी, समाचार पत्र, अनलाइन र रेडियोहरूको जिम्मामा नै देखिन्छ । सार्वजनिक वहसका कार्यक्रमहरूको प्रभाव कम लाग्दैन । आमनेसामने बहसभन्दा पनि एकल सभा नै ज्यादा देखिन्छन् सञ्चार माध्यममा । ट्रम्प पुराना खेलाडी भएको हुनाले उनी आमनागरिकसँग गरिने व्यवहार अलि चामत्कारिक देखाउन चाहन्छन् ।
(क) किन उदार देखिँदैनन् मतदाता ?
आठ वर्षपहिले त्यस समयकी अत्यन्त सशक्त महिला उम्मेदवार हिलारी क्लिन्टनको पराजयले अमेरिकी समाज बाहिर जति उदार देखिए पनि त्यस्तो छैन भन्ने कुरालाई हदसम्म उजागर गरेको थियो । हिलारीमा कांग्रेसको सदस्यदेखि सशक्त र प्रभावशाली राष्ट्रपति बाराक ओबामाको समयकी परराष्ट्रमन्त्री भएको अनुभव थियो । उनीसँग तत्कालीन राष्ट्रपति बिल क्लिन्टनकी श्रीमतीका रूपमा अमेरिकाको प्रथम महिला भएर आठ वर्षको अनुभव पनि साथमा थियो । हिलारी अंग्रेज अमेरिकी पुर्खाकै सन्तान थिइन् तर कमला हृयारिसको अवस्था फरक छ । यद्यपि कमलासँग बलियो कानुनी अनुभव छ । कमलामा २००४ देखि नै कानुनी दायित्वको अनुभव छ । मूलतः क्यालिफोर्निया राज्यको एटर्नी जनरलको जिम्मेदारी सम्हाल्दै सिनेट सदस्य र जो वाइडेनको कार्यकालकी उपराष्ट्रपतिको अनुभव कमलासँग छ ।
४६ जना पुरुष राष्ट्रपति भइसकेको अमेरिकाले अहिलेसम्म कुनै महिला राष्ट्रपति नपाएको हुनाले यसपटक भने सम्भावनाको नजिक कमला पुगेको अमेरिकी समाचार माध्यमहरूमा प्रतिक्रिया सुन्न र देख्न पाइन्छ तर प्रतिदिन आउने अनुमानहरूले समर्थकहरू प्रतिदिन दुःखी र सुखी जस्तै लाग्दछन् ।
आठ वर्षपहिले हिलारी क्लिन्टनलाई पराजित गर्ने डोनाल्ड ट्रम्प यसपटक पनि सशक्त भएर राष्ट्रपति पदमा प्रतिस्पर्धामा छन् । उनी अमेरिकी वादसँग बढी सम्वाद गरिरहेका छन् । मेक अमेरिका ग्रेट अगेन (मागा) भन्ने उनको नारा निकै प्रभावकारी लाग्छ । उनको आक्रामक प्रस्तुतिले धेरै अमेरिकीहरूलाई लट्ठ पार्ने गरेको देखिन्छ । खास गरी अवैध आप्रवासन विरुद्ध उनको तीखो कथन र रणनीतिले अमेरिकालीलाई उत्तेजित पार्नु स्वाभाविक छ । विपक्षीमाथि व्यंग्यवाण चलाउने कला ट्रम्पमा पर्याप्त छ । शालीन र भद्रतापूर्वक उपस्थित हुने कमला पनि विचार प्रस्तुतिमा अत्यन्त तीक्ष्ण तर्कहरूको वौछार गरिरहेकी हुन्छिन् । आकर्षणका फरक पर्याय र स्वरूपमा देखिन्छन् डोनाल्ड ट्रम्प र कमला हृयारिस । तैपनि अमेरिकी मतदाता अझै उदार बन्ने छन् र पुरुषवादबाट पृथक् होलान् भन्नेमा संशय छ ।
(ख) दुई दलीय वर्चस्वमा अमेरिकी लोकतन्त्र :
करिब ३४ करोड जनताको प्रतिनिधि मतबाट निर्वाचित हुने अमेरिकी राष्ट्रपति पदमा विगत कालखण्डदेखि नै दुई दलको मात्रै वर्चस्व देखिन्छ । कांग्रेस र रिपब्लिकन पार्टीबाहेक तेस्रोको कुनै उपस्थिति छ/हुन्छ भन्ने कसैलाई पनि लाग्दैन । दुई दलीय लोकतन्त्रको अभ्यास अमेरिकामा सशक्त छ । यो अभ्यासलाई अनुभव गर्नेहरू गरिब र नवोदित लोकतन्त्रको मोडेल पनि दुई दल नै हुने बहस चलाइरहेको सुनिन्छ । यो मोडेल अमेरिकाका लागि प्रिय होला तर बाँकी संसारका लागि यस्तै मोडेल उचित हुन्छ भन्नु सही तर्क मानिँदैन ।
निर्वाचनको अन्तिम मिति आउन अब एक हप्ता पनि छैन । नोभेम्बर ५ का दिन (अमेरिकी समय र क्यालेण्डर अनुसार) अमेरिकी जनताले ४७औँ राष्ट्रपतिको चयन गर्नेछन् । जर्ज वासिंगटनबाट सुरु भएको इतिहास यतिखेर जो वाइडेनमा पुगेको छ । ४६ जना पुरुष राष्ट्रपति भइसकेको अमेरिकाले अहिलेसम्म कुनै महिला राष्ट्रपति नपाएको हुनाले यसपटक भने सम्भावनाको नजिक कमला पुगेको अमेरिकी समाचार माध्यमहरूमा प्रतिक्रिया सुन्न र देख्न पाइन्छ तर प्रतिदिन आउने अनुमानहरूले समर्थकहरू प्रतिदिन दुःखी र सुखी जस्तै लाग्दछन् ।
दैनिक प्रशारित हुने सेयर बजारको आरोह अवरोहमा सेयर खरिदकर्ताहरूको हर्ष र चिन्ताको परिवर्तित अनुहारलाई समेत बिर्साउने गरी अमेरिकी सञ्चार माध्यमहरूले राष्ट्रपति पदको सम्भावनालाई पक्ष विपक्षमा प्रस्तुत गरिरहेको जस्तो लाग्छ । यहाँको प्रचारशैलीलाई हेर्दा अविकसित देशका सञ्चार माध्यमहरूमा निष्पक्षताको खोजी गर्नु अलौकिक जस्तो लाग्दो रहेछ । अनेक तरिकाले उमेदवारका पक्ष विपक्षमा खुलेर सञ्चार माध्यमहरू प्रस्तुत भएको दृश्य अमेरिकामा नयाँ रहेनछ । राजनीतिक दलहरूले नै गच्छे अनुसारको प्रायोजन गर्दा रहेछन् कि जस्तो लाग्छ ।
(ग) मतदातामाथि आर्थिक प्रभाव :
अविकसित देशमा मात्रै मत खरिदबिक्री हुन्छ होला भन्ने लाग्थ्यो मलाई । विकसित लोकतन्त्र भनेर हामीले युरोपका खास गरी स्क्याण्डेनेभियन देशहरूलाई बुझ्छौँ । स्विडेन, डेनमार्क, नर्बे, फिनल्याण्डसहित बेलायत, जर्मनीहरूका चुनाव उदाहरणीय मानिन्छन् । हामी जस्तो नवलोकतन्त्रको अभ्यासले प्रारम्भदेखि नै स्वतन्त्र, भयरहित, लोभरहित मतदानको अपेक्षा गरिरहेका हुन्छौँ । प्रत्यक्ष वा परोक्ष रूपमा मतलाई प्रभाव पार्ने प्रयास वर्जनीय हुनुपर्छ भन्ने हामी जस्ता विपन्न राष्ट्रका मतदाताहरूको आमराय हुन्छ तर भइरहेको छ । अमेरिका जस्तो उन्नत र विकसित राष्ट्रमा त हरप्रकारले मतदातामाथि कुनै दबाब पर्नु हुँदैन भन्ने छ तर बाहिरबाट सोचे जस्तो लाग्दैन यहाँ ।
एकजना चमत्कारिक व्यक्तित्व हुनुहुन्छ एलन मस्क । उहाँ स्पेसदेखि सम्पूर्ण पृथ्वीभर नेट चल्नसक्ने संशाधनको उत्पादन गर्ने सपना पूरा गर्दै हुनुहुन्छ । उर्वर, उन्नत मस्तिष्कका धनी एलन मस्कले एउटा अभियान नै चलाउनुभएको छ स्विङ स्टेट (नेक टु नेक प्रतिस्पर्धा भइरहेका) अमेरिकी राज्यहरूमा । प्रत्येक त्यस्ता राज्यका रिपब्लिकन सदस्यमध्ये एकजना भाग्यशालीलाई १० लाख डलर प्रदान गरिरहनु भएको छ । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको सभामा पुगेका र रिपब्लिकन पार्टीको सदस्यता लिएकाहरूलाई मात्र पुरस्कारयोग्य मानिनेछ । राष्ट्रपतीय निर्वाचन अभियानमा यो अभियान मतदातालाई परोक्ष रूपमा प्रभाव पार्ने रणनीति हो भनेर सजिलै बुझ्न सकिन्छ । यस अभियान विरुद्ध डेमोक्रेट्स र कतिपय बुद्धिजीवीहरूले अभिमत जाहेर गरे पनि अभियान रोकिएको छैन तर हामीकहाँ जस्तो छिनछिनमा अदालतको कठघरा खोज्ने काम भने यस प्रकरणमा अहिलेसम्म देखिएको छैन ।
(घ) विदेशी चलखेलको विवाद :
मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने विदेशी शक्तिहरूबारे यहाँ पनि चर्चा भइरहेको छ । खासगरी रुस र चीन अनि अरब समुदायका विषयमा निकै चर्चा हुने रहेछ । ट्रम्पलाई रुसको सहयोग भन्ने आरोप र डेमोक्रेटका पक्षमा बेलायतको लेबर पार्टीको समर्थनको चर्चा सुनिन्छ । उम्मेदवार र उनीहरूका पक्षविपक्षमा आएका प्रचारात्मक तर्कहरू हुन् यी । अमेरिकामा डेमोक्रेटिक पार्टीको नेतृत्व रहेको समयमा रुसविरुद्ध युक्रेन र हमास, हिजबुल्लाह, हुती, र इरानविरुद्ध इजरायल युद्धमा छन् । यी दुवै युद्धको पक्ष र विपक्षमा अमेरिकी चासो स्पष्ट छ ।
अमेरिकामा रहेको करिब दुई प्रतिशत यहुदीहरूको मत यसैकारण कमलाका पक्षमा जाने जति सुनिश्चित भनिन्छ त्यति नै अरब अमेरिकीहरूको मत ट्रम्पसँग पुग्ने अनुमान गरिए पनि केही विकसित घटनाजन्य अवस्थाका कारण त्यस्तो अनुमान गर्नु गलत हुनेछ ।
पछिल्ला दिनहरूमा इस्लामिक फण्डामेन्टलिस्टका विरुद्ध निकै कठोर विचार ट्रम्पबाट आइरहेको छ । उहाँले केही दिनपहिले इरानविरुद्ध इजरायललाई उकास्ने गरी समर्थन गरेको सुनिएको छ । डेमोक्रेटिक पार्टीको नेतृत्वले इरानका संवेदनशील स्थानहरू खासगरी तेल भण्डार र आणविक केन्द्रमाथि कुनै पनि कार्बाही नगर्न इजरायललाई चेतावनी दिएको थियो । इरानले इजरायलमाथि ८० वटाभन्दा बढी क्षेप्यास्त्र आक्रमण गरी तेलअभिवलाई नै त्रस्त पारेको घटनालगत्तै अमेरिकी नेतृत्वका दुई दलको दृष्टिकोणमा भिन्नता देखिएको थियो । अहिले इजरायली प्रधानमन्त्रीमाथि नै धावा बोल्ने इरानी कथनले अमेरिकी नेतृत्वलाई कठोर रणनीतितर्फ उत्प्रेरित गर्ने अवस्था छ ।
अमेरिकामा बसोबास गर्दै आएका इजरायलीको मात्रै होइन भूराजनीतिक स्वार्थ सञ्चयनका लागि मध्यपूर्वको अहम् केन्द्रको यथार्थताका आधारमा अमेरिकी नेतृत्व कस्तो हुने हो सायद मतदाताको रुझान त्यतै हुनसक्छ । रुसी राष्ट्रपति पुटिनसँग ट्रम्पको गोप्य सम्वादको चर्चा पनि सुनिन्छ । विगतमा ट्रम्पको कार्यकालका निकटतम सहयोगी जोन केलीले ट्रम्पलाई अत्यन्त गम्भीर आरोपसमेत लगाएका छन् । केलीको मूल्यांकनमा ट्रम्प फासीवादी भनेको समेत सुनियो ।
यतिखेर अन्तर्राष्ट्रिय सम्बन्धको कठोर अग्नि परीक्षामा छ अमेरिका । बहुध्रुवीय शक्ति विकासका कारण पहिलेजस्तो दुई ध्रुवीय महाशक्तिको बहस मात्रै छैन अब । हिजोका दिनमा रुससँग मात्रै प्रतिस्पर्धा थियो र दुई महाशक्ति भन्ने गरिएको थियो । अब फरक अवस्था छ ।
खासगरी २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजय भए पनि अहिलेसम्म आफूलाई पराजित भएको अनुभव ट्रम्पले गरेको जस्तो लाग्दैन । वाइडेनसँग पराजित हुनासाथ अमेरिकी संसद भवन कब्जा गर्न गरेको प्रयास आज पनि अमेरिकीहरूका मनमा छ । ट्रम्पका चुनावी भाषणदेखि अभियानको आक्रामकताले उहाँमा रहेको शासकीय तृष्णाको छवि स्पष्ट देखाइरहेको हुन्छ । उहाँमाथि दुई पटकसम्म भएको सांघातिक हमलाको प्रयासले पनि प्रभाव पार्नसक्ने अनुमान धेरैको छ ।
(ङ) नेतृत्वका सामु बहसकेन्द्रित चुनौती :
चुनावमा आर्थिक मुद्दासमेत महत्वका साथ उठेका छन् । खासगरी मुद्रास्फितिका कारण बढेको महँगी, ऋणको ब्याजदरमा वृद्धि, युद्ध सहयोगमा भइरहेको आर्थिक क्षति र कर नीतिसमेत बहसका गम्भीर विषय भएका छन् । बाइडेनको सफलता वा कमजोरीको समीक्षा पनि सञ्चार माध्यममा आइरहेका छन् । ट्रम्पका पक्षमा उपराष्ट्रपतिका उम्मेदवारको सक्रियता स्वाभाविक छ । कमलाका पक्षमा पूर्वराष्ट्रपति बाराक ओबामा, उहाँकी पत्नी मिसेल ओबामा, यसअघि ट्रम्पकी प्रतिस्पर्धी हिलारी क्लिन्टन, प्रचारमा सशक्त रूपले लागेको देखिन्छ । दिनहूँको सम्बोधनलाई सञ्चार माध्यमहरूले प्रमुखताका साथ टिप्पणीसहित प्रस्तुत गरिरहेका छन् ।
यतिखेर अन्तर्राष्ट्रिय सम्बन्धको कठोर अग्नि परीक्षामा छ अमेरिका पनि । बहुध्रुवीय शक्ति विकासका कारण पहिले जस्तो दुई ध्रुवीय महाशक्तिको बहस मात्रै छैन अब । हिजोका दिनमा रुससँग मात्रै प्रतिस्पर्धा थियो र दुई महाशक्ति भन्ने गरिएको थियो । अब फरक अवस्था छ । प्रत्यक्ष रहेका अमेरिकी चासोका आधारमा मूल्यांकन गर्ने हो भने अमेरिका उत्तर कोरियाको आणविक परीक्षण, चीनको आर्थिक, प्राविधिक, सैनिक सामथ्र्य, रुससँगको शीतयुद्ध कालीन प्रतिस्पर्धा, खाडी क्षेत्रमा सशक्त हुनलागेको इरान, अमेरिकी उपस्थितिलाई विस्थापित गर्न सफल अफगानिस्थान, अनि नजिकैको क्युवासम्म कसरी सन्तुलनमा राख्ने रणनीतिको माझमा देखिन्छ ।
अफ्रिकी महादेशमा क्रमशः चीन र रुसको सहकार्यले अमेरिका र युरोपलाई सचेत तुल्याइरहेको हुनसक्छ । त्यसभन्दा पनि युरोपियन युनियनमा सहभागिताको प्रश्नमा रुससँग युद्ध लडिरहेको युक्रेनको अस्तित्व रक्षादेखि चारैतिर शत्रुपक्षको सामना गरिरहेको इजरायलको सुरक्षा अमेरिकी चिन्ता र चासो हुनसक्छ । सुदूरपूर्वमा ताइवान, जापान, दक्षिण कोरिया र थाइल्याण्डको हेरविचार र ताइवानमा रणनीतिक उपस्थिति जोगाउने पनि अहम् विषय होला । दक्षिण एसियाली राष्ट्रहरूमा अमेरिकाको चासो भारत र पाकिस्तानबाहेक सामान्य जस्तो लाग्छ । नेपाल, बंगलादेश, श्रीलंका जस्ता राष्ट्रहरूले सदा आर्थिक सहयोगको अपेक्षा गरिरहेको हुनाले सामान्य रणनीतिक सहयोगमा नै चिन्ता दूर हुने होला ।
(च) गौण लोकप्रिय मत :
राष्ट्रपतीय निर्वाचनमा करिब १७ करोड अमेरिकी नागरिकहरूको लोकप्रिय मत मात्रै निर्णायक हुँदैन । पचास राज्यको जनसंख्याका आधारमा त पाँच सय अठ्तीस निर्वाचक मण्डलका सदस्यहरूको बहुमत विजयका लागि अनिवार्य हुन्छ । अर्थात् २७० जना निर्वाचकहरू कमला वा ट्रम्प जसका पक्षमा हुन्छन् आगामी चार वर्षका लागि अमेरिकाको नेतृत्व त्यसैका हातमा हुनेछ । निर्वाचनमा आरोप प्रत्यारोप जसले जुन स्तरमा उत्रिएर लगाए पनि, प्रचार अभियान जुन रूपमा गरिए पनि निर्णायक भनेका निर्वाचकहरूका मतदाता नै मुख्य हुनेछन् । लोकप्रिय मत त यसअघि २०१६ को निर्वाचनमा हिलारीले ट्रम्पको भन्दा निकै बढी पाउनुभएको थियो तर विजयी हुनुभएन । लोकतन्त्रको सौन्दर्य भनेकै मताधिकारबाट नेतृत्व चयन गर्नु हो । अमेरिकी जनता जसको पक्षमा रहे पनि लोकतान्त्रिक प्रक्रियाकै विजय सुनिश्चित छ ।
(हाल अमेरिकाको पारिवारिक भ्रमणमा रहनुभएका हिमालय टाइम्सका प्रधान सम्पादकले अमेरिकाको भर्जिनियाबाट यही नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वानबारे प्रेषित गर्नुभएको संक्षिप्त टिप्पणी)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच