काठमाडौं । मंगलबारदेखि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको छेको पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि सिनेमाघरमा आएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको हो । तिहारको घरेलु बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । भारतीय चलचित्र ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ले नेपाली बक्स अफिसमा कमजोर ब्यापार गरिरहँदा यसको फाइदा विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले उठाएको छ ।
स्वदेशमा उत्कृष्ट कमाइ गरिरहँदा यो चलचित्र मंगलबार अन्तर्राष्ट्रिय बजारमा रिलिज भएको हो । मंगलबार टोकियोबाट फिल्मले अन्तर्राष्ट्रिय यात्रा थालेको छ । आउँदो बिहीबार अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारदेखि अमेरिका र बेलायतमा प्रदर्शनको टुंगो लागेको छ ।
अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले आफ्नो निर्माणको पहिलो चलचित्रलाई बृहतरुपमा विदेशी बक्स अफिसमा रिलिज गर्ने तयारी गरेको छ । ‘अहिलेसम्मकै उच्च शो र बजारमा यस चलचित्रलाई बृहत् रूपमा रिलिज गर्दैछौं’ कार्यकारी निर्माता तथा मध्यपूर्व वितरक रमेश ढकालले भन्नुभयो, ‘नेपाली चलचित्रले अहिलेसम्म पाएको भन्दा सर्वाधिक रूपमा यो चलचित्र लाग्नेछ ।’
सेभेन सिजले दशैँमा वितरण गरेको ‘छक्कापञ्जा ५’ ले विदेशमा राम्रो कमाइ गरेको थियो । सेभेन सिजका सदस्यद्वय विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेको ‘पूर्णबहादुरको सारंगी’को पहिलो चलचित्र हो ।
शीर्ष अभिनेताको रूपमा विजय बरालको यो पहिलो चलचित्रसमेत हो । यस चलचित्रमा बाबुछोराको कथा छ । चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ ।
सरोज पौडेल निर्देशित यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेख्नुभएको हो ।
दर्शकको रोजाइमा नेपाली चलचित्र
नेपाली चलचित्रका लागि चाडपर्व सुखद् देखिएको छ । दशैँ र तिहारमा हलसँगै ‘ओभर दि टप’ (ओटीटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दशैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताउनुभयो । ‘चलचित्र हलमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढेको छ । गत दशैँ हलहरूमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ’, उहाँले भन्नुभयो ।
दशैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ले बक्सअफिसमा राम्रो व्यापार गरे । चलचित्र ‘ज्वाइँ साब’ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले पनि राम्रो व्यापार गरिरहेको छ ।
चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’लाई ओटीटीमा ल्याउनुभयो । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ ।
चलचित्र ‘महापुरुष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताउनुभयो ।
दशैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको संख्या वृद्धि भएको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच