नेपाली चलचित्र तथा मनोरञ्जन पत्रकारितामा अब्बल नाम हो कुबेरराज गिरी । दुई दर्शकदेखि निरन्तर सक्रिय पत्रकारितामा रहनुभएका उहाँ चलचित्र, गीतसंगीत, फेशन मोडलिङमा कलम चलाउँदै आउनुभएको छ । दैनिक रिपोटिङ होस् वा फिचर राइटिङ उहाँका सबै अब्बल मानिन्छन् । पछिल्लो समय देशभरका चलचित्र तथा रंग पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएर उहाँले कुशल कार्य सम्पादन गर्दै आउनुभएको छ । संघमा रहेर पत्रकारको हक-हितका लागि उहाँ सक्रिय हुनुहुन्छ । ‘पत्रकारिता क्षेत्रमा विश्वसनीयतामा ध्यान नदिने प्रवृत्ति बढ्दो छ’, भन्नुहुने कुबेरराज गिरीसँग हिमाल टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
एउटा पत्रकार भएका नाताले आफ्ना कर्मलाई निरन्तर अघि बढाइरहेको छु । केही संघसंस्थाका कार्यमा पनि सक्रिय छु । चलचित्र पत्रकारितामार्फत यस क्षेत्रको विकास, विस्तारमै निरन्तर छु भन्नुपर्ला ।
यहाँको पत्रकारितामा सक्रिय हुनुभएको लामै समय भयो होइन ?
मैले पत्रकारिता थालेको हिजोजस्तै लाग्छ । तर, दुई दशक बितेको पत्तै भएन । पत्रकारिताको यो दौरानामा थुप्रै राष्ट्रिय साप्ताहिक, तीनवटा राष्ट्रिय दैनिक, मासिक र केही अनलाइनमा काम गरिसकेको छु ।
पत्रकारितामा रंग पत्रकारिता नै रोज्नुको कारण ?
जतिबेला म पत्रकारितामा होमिए, त्यो समय चलचित्र पत्रकारिता गर्ने मानिस थोरै थिए । राम्रा मिडियाले यो पत्रकारितालाई कतैकतै स्थान दिए पनि अनिवार्य गरेका थिएनन् । चलचित्र पत्रकारिता गर्नेलाई कतिपय पत्रकार मान्न तयार थिएनन् । नेपाली कलासंस्कृतिलाई उजागर गर्ने चलचित्रलाई पत्रकारितामा स्थापित गर्न र चलचित्र पत्रकारिता पनि अन्य पत्रकारिता जस्तै स्थापित गर्न सकिन्छ, यो महत्वपूर्ण विधा हो भनेर बुझाउने हिसाबले रोजेको थिए । जुन उद्देश्य अहिले पूरा भएको छ । अहिले सबै मिडियामा रंगपत्रकार र यो विधाले स्थान पाउनुको साथै चलचित्र पत्रकारितामा पत्रकार बढेका छन् ।
मिहिनेती, लगनशील र क्रियटिभलाई थुप्रै अवसर छन् । हरेक मिडियाले रंग पत्रकारितालाई राम्रो स्थान दिएको छ । चुनौती थपिएको छ । पछिल्लो समय आफूसँग नजिक भएको हिसाबले जथाभावी समाचार बनाउने, समाचारको गहिराइमा नपुग्ने तथा विश्वसनीयतमा ध्यान नदिने प्रवृत्ति बढ्दो छ । यसले समग्र पत्रकारितालाई नै बद्नाम गर्छ ।
रंग पत्रकारिताको यो लामो दौरानमा धेरै अविस्मरणीय क्षण पक्कै छन् । कुनै एक दुई सम्झाना गर्नुपर्दा ?
पत्रकारिताको यो दौरानमा तीतामीठा अनुभव त धेरै छन् । जीवनमा कहिलै भुल्न नसकिने घटना पनि धेरै छन् । ती मध्ये एक चलचित्र विकास बोर्डको अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु)को नियुक्तिको समय मैले सौर्य दैनिकमा लेखेको स्टोरी ‘पप्पु कान्ट डान्स’ निकै चर्चित भएको थियो । यो समय चलचित्र विकास बोडमा नियुक्त अध्यक्ष पप्पुलाई कार्यकक्षमा छिर्न नदिने आन्दोलन थियो । त्यो आन्दोलमा मैले लेखेको स्टोरी देखाएर सबै नाचेका थिए । भोलिपल्ट मैले फेरि लेखेको समाचार दिनभर विरोध रात परेपछि सहमति शीर्षकले महिनौदेखिको आन्दोलन सेलाएको थियो ।
वर्तमान अवस्थामा पत्रकारिता र रंग पत्रकार कहाँ पाउनुहुन्छ ?
वर्तमान अवस्थामा नेपालमा पत्रकारिताको क्षेत्र एकदमै राम्रो छ । पत्रकारहरू व्यावसायिक भएका छन् । उनीहरूको सेवासुविधा बढ्दो छ । पत्रकारितामा चुनौती बढ्दो छ । पछिल्लो समय खुलेका थुप्रै मिडिया र पत्रकारले समाचार प्रस्तुत गर्न देखाउने गरेको हतारोले विश्वसनीयता खस्किएको छ । यस विषयमा चलचित्र पत्रकार संघमार्फत केही पहल हुँदैछ ।
रंग पत्रकारिताको अवसर र चुनौती के-कस्ता देख्नुहुन्छ ?
मिहिनेती, लगनशील र क्रियटिभलाई थुप्रै अवसर छन् । किनभने अहिले राम्रा मिडिया थुप्रै खुलेका छन् । हरेक मिडियाले रंग पत्रकारितालाई राम्रो स्थान दिएको छ । चुनौती थपिएको छ, अहिले आफूसँग नजिक भएको हिसाबले जथाभावी समाचार बनाउने, समाचारको गहिराइमा नपुग्ने र विश्वसनीयतमा ध्यान नदिने प्रवृत्ति बढ्दो छ । यसले समग्र पत्रकारितालाई नै बद्नाम गर्छ कि भन्ने हो ।
यहाँ रंग पत्रकारहरूको संस्था चलचित्र पत्रकार संघ नेपालको उपाध्यक्षमा रहेर आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह गरिरहनु भएको छ । चलचित्र अथवा रंग पत्रकारितालाई व्यवस्थित बनाउन के-कस्तो कदम चाल्नुपर्ने अवस्था देख्नु हुन्छ ?
रंग पत्रकारिता व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन त्यसका क्रियाशील व्यक्तिलाई समय-समयमा तालिम, प्रशिक्षण र गोष्ठीको आवश्यकता पर्छ । जुन कार्य चलचित्र पत्रकार संघबाट हुँदै आएको छ । मेरो कार्यकालमा सबै पत्रकार सक्षम र राम्रो बनाउने योजनामा म लागेको छु । त्यसका लागि कसरतमा छु ।
चलचित्र पत्रकारितामा ‘ठेक्का’ पत्रकारिता भन्ने सुनिन्छ । के हो त्यो ?
कुन कुरोलाई ठेक्का पत्रकारिता भनिएको हो त्यो स्पष्ट भएन । छैन । चलचित्रको प्रचार जिम्मा लिनेतिर लक्षित हो भने त्यो अहिले मौलाएको छ, त्यो गलत हो । पारिश्रमिक लिएर प्रचारप्रसारलाई बाटो देखाउनु, माध्यम बनाउन गलत होइन । तर, पूरै मै गर्छु भनेर ठेक्का लिनु गलत हो । त्यसरी गर्ने पत्रकारिताले विकृति भित्र्याउँछ । यसमा सबै सजक हुनुपर्ने देखिन्छ ।
चलचित्र तथा रंग पत्रकारितामा आफूले आफैंलाई मूल्यांकन गर्दा कहाँनेर पाउनुहुन्छ ?
म आफ्नो आफैं कसरी मूल्यांकन गर्ने । लामो समयदेखि यसमा क्रियाशील भएको, नाम र चर्चाको आधारमा सफल भन्न मिल्छ । पछिल्लो समय पत्रकारितामा भित्रिएका भाइबहिनी, दाइ तपाईंलाई देखेर पत्रकारितामा आएको भन्छन् । त्यसले खुशी मिल्छ ।
पत्रकारिता गरिरहँदा भुल्नै नहुने कुरो के हो जस्तो लाग्छ ?
पत्रकारले जहिले पनि समाचार निष्पक्ष, सत्य, तथ्यमा आधारित रहेर बनाउनुपर्ने कुरो भुल्नु हुँदैन भन्ने लाग्छ ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप थुप्रै मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । कस्तो लाग्छ फर्केर हेर्दा ?
मैले यो क्षेत्रमा दिएको करिब दुई दशकको योगदानको यो क्षेत्रका विभिन्न संघसंस्थाले सम्मान, अवार्ड तथा पुरस्कार दिइरहनु भएको छ । त्यसले यो क्षेत्रमा मैले पत्रकारिताको क्रममा भोगेको दुःख, समस्या भुलाउँछ । यो क्षेत्रमा अझ धेरै राम्रो काम गर्न प्रेरणासमेत मिल्छ ।
यहाँलाई सामाजिक कार्यमा पनि संलग्न रहेको देखिन्छ नि ?
मानिस जुनै क्षेत्रमा रहे पनि सामाजिक उत्तरदाइत्व भने हुन्छ । हामीले व्यावसायिक कामको अलवा सामाजिक काममा क्रियाशील गराउँदै जानुपर्छ । सामाजिक कामले मनमा शान्ति, जीवनमा नयाँ ऊर्जा र सकारात्मक सोच पैदा गर्छ । हामी पत्रकार भनेको समाजका सेलिब्रेटी हौं । हामीले गर्ने क्रियाकलापले अरूलाई ऊर्जा दिनसक्नुपर्छ ।
अन्त्यमा ?
चलचित्र अथाव रंग पत्रकारितामा आउन चाँहनेका लागि म सधैं स्वागत गर्छु । यो क्षेत्र राम्रो छ भन्छु । यो क्षेत्रमा अरू सफल भएको देखेर भित्रिने होइन, केही गर्छु, यो क्षेत्रमा करियर बनाउँछु भनेर मिहिनेत गर्ने हिसाबले आउनुहोस् भन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच