२०८१ सालको महान् पर्व तिहार अब हामीबाट बिदा भइसकेको छ । दशैँ सकिनासाथ तुरुन्तै आइहाल्ने तिहार गतविगत वर्षको तिहार जसरी नै हामीबाट बिदा भएर कहिल्यै नफर्किने बाटोमा गएको छ । यस वर्षको दशैँ प्राकृतिक प्रकोपले निकै दुःखद् बन्नपुगेको थियो तर तिहार भने त्यस्तो भएन । तिहारका अरू दिन सामान्य रहे तर भाइटीकाको दिन अपराहृनतिरदेखि भारी वर्ष भयो । भोलिपल्ट पनि यो क्रम जारी रहृयो, तैपनि यसबाट जनजीवन प्रभावित भएको र अन्य अप्रिय समाचार चाहिँ सुन्नुपरेन । यसलाई सुखद् नै मान्नुपर्छ तथापि मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएकै छ । यसलाई निःसन्देह रूपमा दुःखद् भने मान्नैपर्छ ।
यो समय नेपालका अधिकांश भागमा धानबाली भित्र्याउने याम हो । धेरैजसो ठाउँमा धान काटेर खेतमा निहिन राखिएको अवस्था छ । निहिनमै भिजेको धान खेतमा भरिएको पानीका कारण अब तुरुन्तै मौसम सफा भएर घाम लाग्ने हो भने सुक्न केही दिन लाग्छ । नत्र भने त काटेर फिँजाइएको धान खेतमै उम्रिन्छ । नउमे्रे पनि त्यस्ता धानको चामलको स्तर खस्किन्छ । नेपाली प्रचलनमा त्यस्ता चामललाई हकुवा चामल भनिन्छ । यसरी स्तर कमजोर बन्नपुगेको धान वा चामलको मूल्य कम हुने भएकाले किसानलाई घाटा हुनजान्छ । वर्षभरिको परिश्रम एक दिनको पानी, बतास वा असिनाबाट क्षति हुनुभनेको किसानका लागि दुःखद् अवस्था सिर्जना हुनु हो भने किसानको उब्जनी खाएर बाँच्ने सबैका लागि यस्तो परिस्थिति दुःखद् बन्न जान्छ ।
तैपनि जसरी भए पनि तिहार सकिएको छ । नेपालीहरूका घर-आँगन रमाइलो पारेर दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाएर गएको छ । तिहार मनोरञ्जक पर्व हो, यसको पौराणिक पक्ष त छँदैछ साथै आपसी सम्बन्धको गाँठो दह्रो बनाउने पर्व नेपालीहरूबीच आपसी सम्बन्धलाई सौहाद्र बनाएर बिदा भएको छ । प्राकृतिक दुर्घटना र यातायातका साधनसमेतको दुर्घटना यसपटकको तिहारमा सुन्नुपरेन । तिहार सकिनासाथ विदेशबाट तिहार मनाउन आएकाहरू भाइटीकाको भोलि र पर्सिपल्ट नै फर्किने गरेको देखियो । यसले गर्दा एकातिर यस पर्वको महत्व पुष्टि हुन्छ भने अर्कोतिर नेपालीहरूको विदेश मोह वा बाध्यता प्रमाणित हुन्छ । केही दशकअगाडिदेखि सिर्जना भएको यस्तो परिस्थिति वर्तमान समयसम्म आइपुग्दा कम हुनुको सट्टा दिनप्रतिदिन बढ्दै गएको छ ।
अब भने चाडपर्व पातलिँदै गएका छन् । नेपालमा दशैँलाई प्रमुख पर्वका रूपमा लिने गरिएको छ । तिहार र दशैँको फरक पौराणिकता, ऐतिहासिकता र महत्व छ । राजनीतिक अतिवादीहरूले दशैँको अपव्याख्या गरेर विरोध गर्ने गरेका छन् तर तिहारका बारेमा विरोधका स्वरहरू सुन्ने गरिएको छैन । आपसी सम्बन्ध र सौहाद्रताको पर्व तिहार मनोरञ्जक पर्व हो, यस पर्वमा गायन, नृत्य, देउसीभैलो तथा दाजुभाइ दिदीबहिनीबीचको मधुर सम्बन्ध अझ बढी प्रगाढ बनाउने कार्य जनजातिहरूबीच अझै बढी प्रगाढ देखिन आएको छ । प्रसिद्ध गायिका आनी छोइङले भाइटीका लगाइदिएको र आपूmले पनि ग्रहण गरेको देख्न पाइयो । यस्ता उदारहरणीय सद्कार्यले सामाजिक सद्भाव बढ्ने कुरामा विश्वस्त बन्न सकिन्छ । यसलाई बुद्धिमत्तापूर्ण कार्यको टड्कारो उदाहरणका रूपमा लिनुपर्छ ।
केही नेपाली इस्लाम धर्मावलम्बीले हिन्दु चेलीबेटीहरूका हातबाट भाइटीका ग्रहण गर्दै आएको परम्परालाई निरन्तरता दिने कामसमेत भएको छ । नेपालबाहिर सिक्कम र भुटानमा त्यहाँका स्थानीयहरूले खेलेको देउसी सामाजिक सञ्जालमा निकै भाइरल भए । भुटानमा त्यहाँको राष्ट्रिय पोशाक जोङ्खा लगाएर नेपाली शैलीमा भट्टयाएर खेलेको देउसी र सिक्किममा नेपाली राट्रिय पोशाक लगाएर खेलेको देउसी अनुपम थिए । यसबाट तिहार पर्व सबैको साझा भएर विस्तार भएकोमा दुई मत छैन । पर्वहरूलाई राजनीतिक भड्काउबाट भने जोगिनु र जोगाउन सक्नुपर्छ । जोगाउने काम हामी सबैको हो । सामाजिक सद्भाव बिथोल्नेहरूले यस्ता उदाहरणबाट पाठ सिक्नु आवश्यक छ ।
अब तुरुन्तै छठ पर्व सामुमा आएको छ । दशैँ र तिहार जत्तिकै सबैतिर समान रूपमा नमनाइए तापनि सूर्यको उपासना गरेर कठोर साधनासहित मनाइने छठको लोकप्रियता पछिल्ला दिनमा बढ्दै गएको छ । साथै अगाडिका दिनहरूमा उधौली, माघी र ल्होसारहरू आउन बाँकी छन् । विभिन्न जात, धर्म, सम्प्रदाय अनुसार मनाइने यस्ता पर्व हालका दिनहरूमा साझा बन्दै गइरहेका छन् । क्रिसमस र अंग्रेजी महिना अनुसारको नयाँ वर्ष पनि आगामी पुस महिनाको मध्यतिर पर्छ । अब भने चाडपर्व मनाउन केही समय विश्राम लिएका देशवासीहरूले आ–आफ्ना पेशा व्यवसायतर्फ फर्किनुपर्ने हुन्छ र यसको सुरुवात भइसकेको छ ।
आर्थिक रूपमा व्यक्ति सबल भयो परिवार सबल बन्न जान्छ । परिवार-परिवारको सबलताबाट समाज र गाउँ हुँदै राष्ट्र सबल बन्ने हो । हामी सबैले अब आफ्ना काममा दत्तचित्त भएर संलग्न हुनुपर्ने हुन्छ । यो समय भइसकेको छ । यसका लागि सबैजना आ-आफ्ना लयमा फर्कौं जसले गर्दा भोलिका दिनमा अगाडि आउँने अन्य पर्व मनाउन र दैनिकी चलाउनसमेत हामीलाई सजिलो बन्न सकोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच