✍️ रमेश दाहाल
सामान्यतया हरियाली बढ्नु राम्रो कुरा हो । वनसंरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यक्तिहरूका लागि पनि यो कुरा सकारात्मक हुनसक्छ । खेती गरिँदै आएको जग्गाबाहेक अन्य जग्गामा हरियाली छाउनु राम्रो पनि हो तर खेतीयोग्य जमिन अनावश्यक रूपमा वन-जंगलमा परिणत हुनु किमार्थ जायज होइन । ३० वर्षअगाडि नेपालमा हरियाली कम थियो । वन विनाशको कारणले पाखाहरू नांगा थिए । हिउँदमास जताततै डडेलो लागेको देखिन्थ्यो भने वर्षामा पाखापखेरातिर पहिरोका धर्साहरू निकै देखिन्थे । जंगली जनावर तथा चराचुरुंगीहरूको बासस्थान संकुचित हुँदा यी जनावरको उपस्थिति कमै थियो । गाउँघरमात्रै होइन सयौं वर्षदेखि जंगलको रूपमा रहेका पाखापखेरा समेत खुल्ला थिए । यसैले नब्बेको दशकमा वन विनाश तीव्र भएर वातावरणीय, सामाजिक तथा आर्थिक समस्याहरूको ओइरो लाग्यो भनेर सर्वत्र चिन्ता फैलियो । यसैको प्रभावस्वरूप, सामुदायिक वन परियोजनाले त्यसैताका वनको संरक्षण गर्ने र त्यसमा आश्रित जनसमुदायलाई जीविकोपार्जनमा सघाउने नीतिले आफ्ना कार्यक्रम सञ्चालन गर्न थाले । नेपालमा धेरै वन सामुदायिक वनका रूपमा विकसित भएका छन् ।
पछिल्लो दशकहरूमा नेपालमा रासायनिक मलको प्रयोग व्यापक भएको छ । अझ कतिपय स्थानहरूमा त किटनासक औषधिको अनियन्त्रिक प्रयोगले मानव स्वास्थ्यमै गम्भीर प्रकारका समस्या देखिएका छन् । रासायनिक मलले खेतबारीमा उम्रने रूख तथा बिरुवालाई सहयोग पुर्याएको देखिन्छ । तर, मानव स्वाथ्यमा नकारात्मक प्रभाव परेको छ ।
खेतीयोग्य जमिनमा रूखले ढाकेपछि केही राम्रा असर पनि देखिएका छन् । गाउँमा हरियाली छाएको छ । यसले गर्दा जमिनले छहारी पाएको छ । माटोमा पानीको मात्रा बढेकाले माटोमा हुने सूक्ष्म जीवहरू पनि सुरक्षित छन् । आजभन्दा बिस वर्ष अगाडि गर्मी महसुस गरिने गाउँमा आजकल चिसो अनुभव गरिन थालेको छ । वर्षा पनि अलि बढी नै भएको जस्तो लाग्छ । पातपतिगंरका कारणले सामान्यतया खोलाखोल्सीमा भलबाडी आउन छोडेको छ । खोलानालाले माटो बगाएर लैजाने क्रम रोकिएको छ । वनयजन्तुको विविधतामा व्यापकता आएको छ । अझ गहिरिएर हेर्ने हो भने अक्सिजन प्राप्त सहज भएको छ । जलवायु परिवर्तनको असर न्युनीकरणमा मद्दत पुगेको छ ।
तर पनि खेतीयोग्य जमिन जंगलमा परिणत हुनु छलफलको विषय बन्नुपर्छ भन्ने यो पंक्तिकारको भनाइ हो । खेतीपातीका लागि पुस्तौंदेखि प्रयोग हुँदै आएको जग्गा मासिन रोकिनुपर्छ भन्ने पक्षमा हामी सबै नउभिए भोलिको पुस्तालाई असहज हुने बारेमा आजका नीति निर्माता सजग हुन ढिला गर्नहुन्न ।
खासगरी बाह्रवर्षे सशस्त्र द्वन्द्व अगाडि नेपालमा युवाहरू प्रायः गाउँमै बस्थे । त्यसैले पनि द्वन्द्व सुरु हुनु पहिले नेपालमा खेतीयोग्य जमिन सबै प्रयोगमा आएको थियो । मानिसहरू सकेसम्म आफैं खोती गर्थे नसके जग्गा नहुनेलाई अधियाँ दिन्थे । अनावश्यक वनजंगल नभएको कारणले एक गाउँबाट अर्को गाउँ खुल्ला नै देखिन्थ्यो । एक गाउँबाट अर्को गाउँको घरको धुरीबाट बिहान धुवा आएको छर्लंगै देखिन्थ्यो । खेतबारीमा डालेघासका रूख बाहेक अरू प्रकारका रुखहरू कमै देखिन्थे । यसले गर्दा खेतबारीमा हरियाली थोरै भए तापनि खेतीपाती भने राम्रै भएको देखिन्थ्यो । जंगली जनावरले कृषकलाई दुःख दिएका घटना पनि कमै सुनिन्थे ।
चरिचरणका लागि सार्वजनिक पाखाहरू हरेकजस्तो गाउँका लागि थिए । यसले गर्दा मानिसलाई घरपालुवा जनावर पाल्न सजिलो भएको थियो । घाँसदाउरा संकलन गर्न सजिलो भएको थियो । रासायनिक मलको प्रयोगमा व्यापकता थिएन त्यसैले खेतबारीमा जैविक मल प्रयोग गरिन्थ्यो । जैविक मलबाट उत्पादित अन्न, फलफूल तथा तरकारी स्वास्थ्यको हिसाबले उपयुक्त हुन्छ ।
पछिल्लो दशकहरूमा नेपालमा रासायनिक मलको प्रयोग व्यापक भएको छ । अझ कतिपय स्थानमा त किटनासक औषधिको अनियन्त्रिक प्रयोगले मानव स्वास्थ्यमै गम्भीर प्रकारका समस्या देखिएका छन् । रासायनिक मलले खेतबारीमा उम्रने रूख तथा बिरुवालाई सहयोग पु¥याएको देखिन्छ । तर, मानव स्वाथ्यमा नकारात्मक प्रभाव परेको छ ।
अहिले गाउँघरमा वनजंगल प्रसस्तै बढेको छ । अहिले खेतीयोग्य जमिन रूखबिरुवाले ढाकेका छन् । कुनै बेला लहलह कोदो–मकै फल्ने चौरबारी अहिले सल्लो र उतिसे घारीमा परिवर्तन भएका छन् । अधिकांश गाउँमा गाईबस्तु पाल्न छोडिएकाले जंगलबाट प्राप्त हुने घास र सोतरसमेत प्रयोग गरिएको पाइँदैन । यसैले डालेघाँसका रूख प्रशस्तै छन् तर प्रयोगमा आएका छैनन् । रूखका सुकेका हाँगाबिंगा अलपत्र छन् । गाउँघरमा ग्यास तथा विद्युतीय हिटरको प्रयोगमा व्यापकता आएको हुनाले सुकेका रूख र हाँगाहरू दाउराको रूपमा पनि प्रयोग भएको देखिँदैन ।
खेतीयोग्य जमिन जंगलमा परिवर्तन भएपछि जंगली जनावरको प्रभाव बढेको छ । दोलखा, वैतेश्वर-५ का ऋषिराज न्यौपाने भन्नुहुन्छ, ‘आजकल मृग, खरायो, कालिज, लामपुच्छ्रे जस्ता वनयजन्तु करेसाबारीमा आएर तुलफूल नष्ट गर्ने सामान्य नै भइसकेको छ । जंगली तस्करले करेसामा रोपेको खुर्सानीसमेत खान दिँदैनन्’ । हिंस्रक जनावरको प्रभाव पनि घर वरपर देखिँदै गएको छ । यसले गर्दा जंगली जनावरले घरपालुवा जनावर मारिदिने घटना देखिन थालेको छ । मानव तथा जंगली जनावर बीचमा तनाव बढ्दो छ ।
कारण खोज्दै जाने हो भने हामी विभिन्न किसिमका निष्कर्ष निकाल्न सक्छौं । सबैभन्दा पहिले त हामी बाह्रवर्षे द्वन्द्वलाई लिन सक्छौ । युवाहरूले आफ्नो जिउ-धन असुरक्षित महसुस गरी नजिकैको शहर वा वैदेशिक रोगजारमा हिँड्नाले गाउँमा खेतीका लागि मानव संशाधन कमी भयो । घर कुरेर बसेका वृद्ध-वृद्धा वा केटाकेटीले सेरोफेरो काम गर्न सकेनन् । युवाशक्ति गाउँमा बस्न नसकेपछि गाईबस्तु पाल्न कठिन हुन थाल्यो । बस्तुभाउ नभएपछि घास काट्न परेन, चरीचरण चाहिएन । यसले पनि खेतीयोग्य जमिनमा आएका नयाँ डालेघासका बिरुवाले रूखको रूप लिन पायो । साथै, खेतीपातीमा कामदारको अभावले ज्याला महँगो भयो लगानी उठाउँन कृषक असक्षम भयो । दोलखा, वैतेश्वर गाउँपालिका-४ का एक युवाको तर्क यस्तो थियो ।
वन जंगलले खेतबारी ढाक्दै गएपछि उब्जनीमा ह्रास हुँदैगयो । यसैले मानिसहरूले खेतीपातीमा मन लगाउन छोडे । बरू युवाहरूले अन्य पेशामा आफूलाई लगाउन थाले । विकास निमार्णका कामहरूमा ज्याला मजदुरी गरेर आजको पुस्ताले पसलबाट चामल किनेर खान सजिलो ठान्यो । विदेशबाट पठाएको थोरै पैसोले पनि चामल किनेर खान यो पुस्ताले सजिलो ठानेको छ । नजिकैको शहरको एउटा कोठामा बालबच्चा राखेर आफू विदेशिने आजको युवाले खेतीलाई चटक्कै छोड्यो । यसैले हाम्रा खेतीयोग्य जमिन बाँझो हुनथाले । त्यसमा रूख उम्रन थाले ।
कतिपय मानिसले आफैं खेतीयोग्य जमिनमा रूख रोपेका पनि भेटिन्छन् । आजकल गाउँमा स-मिल स्थापना गरिएका छन् । स-मिललाई काठ बेचेर राम्रै पैसा लिएका मानिसलाई ज्याला नै नउठ्ने खेतीपाती आकर्षणको विषय हुने कुरो पनि भएन । यसैले मानिसहरूले सल्ला, उतिस रोपेर कोदो फल्ने बारीमा रूख हुर्काएका छन् । यहाँ आर्थिक हिसाबले हेर्दा किसानलाई जसरी फाइदा हुन्छ त्यही नै गर्ने हो उसले । नेपालमा खेतीयोग्य जमिन बिग्रँदै जानुमा एउटा कारण यो पनि देखिन्छ ।
खेतीयोग्य जमिन बाँझोमा परिवर्तन भएपछि खाध्यसंकट आउने नै छ । मानिसहरूलाई जंगलमा परिवर्तन भएको जमिन पुनः प्रयोगमा ल्याउन सकिने बनाउन निकै समय लाग्नेछ । हालको अवस्थालाई हेर्दा जंगलले ढाकेको जमिनबाट रूख हटाउने, जरा उखेल्ने र त्यसलाई पुनः खेतीयोग्य बनाउन कम्तीमा पनि पाँच वर्ष लाग्नेछ । यति लामो समय लगाएर अहिलेको पुस्ताले खेतीपातीमा ध्यान देला र भन्ने प्रश्न सबैको मनमा आउँछ । यसैले कोरोना भाइरस (कोभिड-१९) जस्तो विश्वव्यापी महामारी सामना गर्न परे मानिसहरूमा खाध्य संकट चरम हुने पक्का छ । मानिस खानै नपाई मर्नेछ । किन भने मानिससँग आफ्नो खेतीपातीले गुजारा गर्नसक्ने खेतीयोग्य जमिन पुनःप्राप्तिमा निकै मिहिनेत गर्नुपर्छ ।
एकातिर खेतवारी हुनेहरूले खेतबारी बाँझो राख्ने र जंगलमा परिणत गरिदिने अर्कोतिर खेतबारी नभएर खेती गर्न पाइएन भन्दै रोइलो गर्नेहरूको बीचमा यसले द्वन्द्व बढाउने देखिन्छ । खेती गरेर जीवन गुजारा गर्न खोज्नेको नाममा जग्गा नहुने खेती नै नगरी बस्नेले सयौं रोपनी जग्गा अलपत्र छोड्नु न्यायोचित पक्कै हैन ।
दोलखा, वैतेश्वर गाउँपालिका स्थित एक उच्च माध्यामिक विद्यालयका शिक्षकका अनुसार, यस पालिकाभित्र घना जंगल वातावरणको हिसाबले रामै्र भए तापनि जंगली जनावरबाट गाउँबस्ती सुरक्षित हुन कठिन बन्दै गएको छ । द्रुत गतिमा जमिनको क्षेती हुने क्रम नरोके भविष्यमा हामीले गम्भीर प्रकारका समस्या व्यहोर्नुपर्नेछ । सबैभन्दा पहिलो त हाम्रोजस्तो कृषिमा आधारित समाजमा खेतीयोग्य जमिनमा क्षयीकरण हुनु खाध्य संकटको पहिलो कारण हुनेछ । बस्ती नै जंगलमा परिणत भएपछि कृषि उपजमा पनि ह्रास आउनेछ । मृग, बँदेल, बादर, लामपुच्छ्रे, कालिजलगायत जनावर तथा चराचुरुंगीको बासस्थान बढ्दै जानेछ । यसले गर्दा यिनलाई भोजनको रूपमा प्रयोग गर्ने बाघ, स्याल, गिद्धजस्ता जंगली जनावर तथा चराचुरुंगी बस्तीमा पसेर घरपालुवा जनावरलाई क्षेती पुर्याउने छन् । साथै, बालबालिकाका लागि जंगली जनावर जोखिमपूर्ण छन् ।
खेतीयोग्य जमिनको यो दुर्दशा समाधान गर्न अनिवार्य भइसकेको यो पंक्तिकारको अध्ययन छ । एकातिर खेतवारी हुनेहरूले खेतबारी बाँझो राख्ने र जंगलमा परिणत गरिदिने अर्कोतिर खेतबारी नभएर खेती गर्न पाइएन भन्दै रोइलो गर्नेहरूको बीचमा यसले द्वन्द्व बढाउने देखिन्छ । खेती गरेर जीवन गुजारा गर्न खोज्नेको नाममा जग्गा नहुने खेती नै नगरी बस्नेले सयौं रोपनी जग्गा अलपत्र छोड्नु न्यायोचित पक्कै हैन । वास्तवमा आज जुन तरिकाले खेती योग्य जमिन जंगलमा परिणत गरिएको छ यसले नेपालमा दूरगामी असर पर्नेछ भनेर दोलखा, वैतेश्वरका एक सामाजिक अभियन्ता बताउछन् ।
यो समस्याको समाधानका लागि गाउँ तथा नगर पालिकाले आफ्ना मातहतमा के कति खेतीयोग्य जमिन जंगलमा परिवर्तन भएको छ त्यसको लगत लिन सक्छ । जंगलमा परिणत गरिएको जग्गाका हकवालालाई एक निश्चित समय दिएर जग्गा सुधारको प्रयास गर्नुपर्छ । तोकिएको समयभित्र पनि जग्गा सुधार गर्न नचाहने जग्गावालालाई जग्गाको आवश्यकता छैन भनेर तिनै तहका सरकारले लिन सक्छ । यसरी लिएको जग्गामा सामूहिक खेतीपाती सुरु गर्न सकिन्छ । यसले जग्गाको उर्वरता कायम रहन्छ साथै मानिसले खेतीपातीमा नवीन शीप प्रयोग गर्न सक्छन् । गाउँमा समयनुसारका तरकारी तथा फलफूल फल्ने छन् । केही महिनालाई नै मात्र भए पनि खाध्यान्न उपलब्ध हुनेछ । प्राकृतिक स्रोतसाधनको उपयुक्त व्यवस्थापन हुन्छ ।
अन्त्यमा, नेपालमा नव्वेको दशकमा वन फँडानी उच्च थियो तापनी आज आएर वन जंगल संरक्षणमा निकै लामो फड्को मारिसकिएको छ । बाह्रवर्षे सशस्त्र द्वन्द्व पछाडि युवा विदेश पलायनका कारणले खेती योग्य जमिन जंगलमा परिणत हुँदै गएको अवस्था छ । तीनै तहका सरकारहरूले खेतीयोग्य जमिनलाई जंगलमा परिणत हुने क्रम नरोके नेपालमा खाध्य संकट निम्तीनुका साथै वनयजन्तु र मानवबीच द्वन्द्व बढ्ने निश्चित देखिन्छ । खेतीयोग्य जमिन सुधार्न निकै लामो प्रयास गर्नुपर्ने छ । (लेखक दाहाल वातावरणविज्ञ हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच