काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार)देखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आजदेखि चैत १८ सम्म विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको हो । राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न लागिएको छ । विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । दैनिक १० घण्टाका दरले काम गर्दा धावनमार्ग विस्तार गर्न करिब पाँच महिना लाग्ने उहाँले बताउनुभयो । ‘विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ,’ महानिर्देशक अधिकारीले भन्नुभयो । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताउनुभयो । धावनमार्ग विस्तारका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन् ।
विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक-फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् । प्राधिकरणका अनुसार उक्त अवधिमा तीन निर्माण व्यवसायीले धावनमार्गको उतर-दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण गत चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा पनि निषेध गरिएको छ ।
पटक-पटक विस्तार र मर्मत
देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टिआइएको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो-टु) विस्तार भएको थियो । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत (कालोपत्रे) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । टिआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौं विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् ।
गर्मी र मनसुनमा नसकिने भएकाले अहिले नै काम गर्नु परेको हो : महानिर्देशक अधिकारी
गर्मी याममा काम गर्न नसकिने र त्यसै बेला मनसुन पनि हुने भएकोले अहिले नै काम गर्नुपरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । महानिर्देशक अधिकारीले कामको योजना करिब आठ महिनाअघि देखिकै भएको स्पष्ट पार्नुभयो । अहिले विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । विमानस्थलबाट दैनिक सयवटा अन्तर्राष्ट्रिय र साढे तीन सय आन्तरिक उडान हुँदै आएका छन् । प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवाप्रदायक कम्पनीहरूलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा प्रवाह गर्न आग्रह गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत क्रियाकलाप नगर्न/नगराउन सम्बद्ध पक्षलाई उहाँले आग्रह गर्नुभयो ।
निर्धारित समयमै स्तरोन्नति नभए कम्पनीहरू बन्द हुन्छन् : वायुसेवा सञ्चालक संघ
वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुकताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । संघले विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । ‘प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी-वे बीचको लिंकरोड निर्माण कार्य तोकिएको समयमा नै सम्पन्न गर्नेछ भन्ने संघले पूर्ण विश्वास लिएको छ । सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माण कार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्यधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तोरोन्नति तदारुकताका साथ गरिदिन हुन संघ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात् सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने संघको विश्वास छ ।
नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो । जसअनुसार काठमाडौं–नारिताको राति ११ः५० को उडान ९ः१५ बजे सारेको छ । त्यस्तै, ११ बजेको काठमाडौं–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ । त्यसैगरी, काठमाडौं-दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो । अब ९ः२५ मा आइपुग्ने छ ।
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सको जहाजले भैरहवाबाट दुबई उडान गर्ने भएको छ । वायुसेवा निगमले जारी गरेको उडान तालिकाअनुसार काठमाडौं–भैरहवा–दुबईमा उडान गर्ने भएको हो । काठमाडौंबाट भैरहवा राति ९ः३५ मा उडान गर्नेछ । भैरहवामा १०ः२५ मा अवतरण गरेर यात्रु राखी दुबईतर्फ उडान गर्नेछ । निगमले अहिले सिधा उडान नभई काठमाडौंबाट भैरहवा भएर उडान गर्दै छ । अहिलेसम्म भैरहवाबाट नेपाल एयरलाइन्स, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा एयरले उडान गर्दै छन् । विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोस्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको हो । बिहीबार चीनको कुनमिङ विमानस्थलबाट १३४ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो अवतरण भएको थियो । विमानमा पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच