काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सरकार कडारूपमा प्रस्तुत हुने भएको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा राजस्व हेर्ने सम्बन्धित महाशाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षकसमेत सदस्य रहने गरी दुर्ई बेग्लाबेग्लै अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले राजस्व चुहावट नियन्त्रणलगायत विभिन्न आठवटा निर्णय गरेको छ ।
अनुगमन टोलीले राजस्व चुहावटको जोखिम भएका क्षेत्र र स्थान पहिचान गरी निगरानी बढाउने, अनुगमन गर्ने र नियन्त्रणका लागि आवश्यक कदम चाल्नेछ । उक्त कामको नियमितरूपमा क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा प्रतिवेदन पेश हुनेछ । अर्थ मन्त्रालयमा नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी राजस्व प्रशासन एवं सुरक्षा निकायका कर्मचारी रहने गरी राजस्व चुहावट निगरानी केन्द्र स्थापना गर्ने निर्णयसमेत भएको छ । केन्द्रमा एक टोल फ्रि नम्बर रहने व्यवस्था तत्काल मिलाई त्यसमा आउने राजस्व चुहावटका सूचनाका आधारमा तत्काल कारबाही अघि बढाउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने भएको छ ।
राजस्व चुहावट नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीयस्तरको राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई नियमितरूपमा राजस्व चुहावटको जोखिम रहेका क्षेत्रमा गस्ती र नियमित अनुगमन गर्ने कार्यलाई तीव्रता दिने, राजस्व चुहावट नियन्त्रण कार्यमा खटिने कर्मचारीले उनीहरूले गरेको योगदानलाई कार्यसम्पादन मूल्यांकनको आधार बनाउने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै राजस्व अनुसन्धान विभागले राजस्व चुहावट रोक्न विशेष अभियान सञ्चालनका साथै निजी क्षेत्रका छाता संगठनहरूले राजस्व चुहावट नियन्त्रणको विषयलाई आ-आफ्नो छाता संगठनमा उच्च प्राथमिकता दिएर छलफल एवं अन्तरक्रिया सञ्चालन गर्ने तथा सबै सदस्यलाई सजग गराउने, राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित निकाय राजस्व विभाग, भन्सार विभाग तथा राजस्व अनुसन्धान विभागले नियमितरूपमा समन्वयात्मक बैठक गर्ने र बैठकबाट आपसी सूचना आदानप्रदानका साथै थप कदम चाल्ने निर्णय पनि भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच