काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा कोप-१९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत विशिष्ट व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्नेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेसँगै राष्ट्रपतिले गर्ने कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहनुभएका सहसचिव शैलजा रेग्मीले जानकारी दिनुभएको छ । अजरबैजानको बाबु शहर आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको २९औँ सम्मेलनका अवसरमा आयोजना हुने वल्र्ड लिडर्स समिटमा भाग लिन राष्ट्रपति पौडेल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राष्ट्रपति विदेश भ्रमण उड्दा आधा घण्टा विमानस्थल ठप्प
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडान आधा घण्टासम्म बन्द गरिएको छ । राष्ट्रपति पौडेल कोप २९ को बैठकमा सहभागी हुन आइतबार ५ः२५ मा अजरबैजानका लागि उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त समयको १५ मिनेट अघि र पछि विमानस्थलबाट हुने अरू नियमित उडान बन्द गरिएको हो । मुलुकका उच्च पदस्थ व्यक्तिहरू औपचारिक कार्यक्रमको लागि विदेश भ्रमणमा जाँदा सुरक्षाका कारण अन्य उडान बन्द गर्नुपरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ । विमानस्थल आधा घण्टा बन्द गरिएपछि नियमित उडान, अवतरण तालिका थप भद्रगोल बनेको थियो । यसै पनि कात्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका कारण ३० प्रतिशत उडान अवतरण कटौती गरिएको छ ।
चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त
राष्ट्रपति पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निरौला र पाण्डे न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् । उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको हो । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उहाँहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको हो । गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले उहाँहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । यीमध्ये निरौलाले अबको १२ वर्षपछि करिब ५० दिन देशको न्यायपालिकाको नेतृत्व गर्नुहुने छ । न्याय परिषद्को अभिलेखअनुसार निरौलाको जन्म २०२८ माघ २५ गते खोटाङमा भएको हो । सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षसम्म पदमा बहाल रहन पाउँछन् । उहाँले २०५२ मंसिर २४ मा न्याय सेवामा प्रवेश गर्नुभएको थियो । निरौलाले न्याय प्रशासनमा सबैभन्दा माथिल्लो पद मुख्य रजिष्ट्रारको जिम्मेवारी पनि सम्हालिसक्नु भएको व्यक्ति हुनुहुन्छ । मुख्य रजिष्ट्रारबाट उहाँ २०७७ माघमा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच