काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै छ । एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व-उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमाले नेताहरूको टोली चीन भ्रमण गर्न लागेको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निम्तामा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी छन् । त्यस्तै, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत भ्रमण दलमा हुनुहुन्छ । भ्रमण टोलीमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मीसमेत हुनुहुन्छ ।
आज (मंगलबार) चीन प्रस्थान गर्ने टोलीको पहिलो कार्यक्रममा नाम्जिङमा रहेको छ । सेकेण्ड ग्लोबल साउथ थिंक ट्यांक फोरममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको विदेश विभाग सदस्य श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठका अनुसार त्यसपछि बेइजिङमा उच्च भेटघाट हुनेछ । भ्रमण टोली करिब दुई सातापछि स्वदेश फर्किनेछ । प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको भ्रमण भए पनि यो कार्यक्रम भने पहिले नै तय भएको एमालेले जनाएको छ ।
तर, प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणको तयारी गरिरहेका बेला एमाले टोली चीन जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि २० गतेसम्म चार दिने चीन भ्रमण गर्ने तयारी छ । यसपटक प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष बनाउने सम्भावना रहेको छ । यद्यपि, यसअघि सन् २०१७ मा तत्कालिन बेला भर्खरै प्रधानमन्त्री हुनुभएका ओलीले बोआओ फोरम फर एसिया सम्मेलनमा आउने भनेर चीनलाई धोका दिई भारततिर गएकोले अझै चिनियाँहरूले पूर्ण विश्वास भने नगरेको कतिपयको टिप्पणी छ । पछिल्लो समय नेपालका राजनीतिक दलहरू लगातारजसो चीन भ्रमणमा गइरहेका छन् । हालै मात्रै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादीको टोली चीन भ्रमण गरेर फर्किएको थियो । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेका नेतृत्वमा एउटा टोली चीन भ्रमणमा गएको थियो ।
गत भदौमा एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन भ्रमणमा गएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरू १० दिने चीन भ्रमणमा गएका हुन् । त्यस क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता भएको थियो । भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्बा लामा, प्रेम दंगाललगायत रहेका थिए । त्यसअघि अघिल्लो वर्ष भदौमा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा गएको थियो । भ्रमणका क्रममा पोखरेलले उच्चस्तरीय भेटवार्तासमेत गर्नुभएको थियो । त्यसबेला भ्रमण टोलीमा पार्टी नेतादेखि भ्रातृ संगठनका प्रतिनिधिसमेत रहेका थिए । उक्त टोलीले साताव्यापी भ्रमण गरेको थियो ।
मन्त्री हेरफेर गर्ने तयारी
आसन्न चीन भ्रमणअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी गर्नुभएको हो । अबको एक साताभित्रै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिने बताइएको छ । मन्त्रिपरिषद्लाई थप मजबुद बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको एमालेनिकट स्रोतको दाबी छ । गत असार १६ गते नेपाली कांग्रेससँगको सात बुँदे सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । लगत्तै भोलिपल्ट प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई लक्षित गरेर राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनको राजदूत नियुक्त गर्नुभएको थियो । अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्राडा कृष्णप्रसाद ओली आइतबार राजदूत नियुक्त हुनुभएको हो । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनीहरूलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ । गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिश गरेको थियो ।
संविधान संशोधनबारे छलफल हुँदै छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल भइरहेको बताउनुभएको छ । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भन्नुभयो, ‘दलहरूबीच छलफल जारी, संविधान संशोधन हुन्छ ।’ एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले देशको आर्थिक स्थिति क्रमिक रूपमा सुधार हुँदै गएको दाबी गर्दै भन्नुभयो, ‘आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको छ, अहिले आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच