कवि कोकिल विद्यापतिको जन्म विक्रम सम्वत् १४०७ (सन् १३५०) मा आधुनिक भारत र प्राचीन मिथिलाको दरभंगा जिल्लाको विसपी भन्ने ठाउँमा भएको थियो । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम थियो । मिथिलालाई ज्ञान, विज्ञान, कला, साहत्य र संस्कृतिको भण्डार मानिन्छ । एक्काईसौं शताब्दीमा पनि मिथिला क्षेत्रको यो प्रभाव कायमै रहेको छ । कार्तिक शुक्ल (धवल) त्रयोदशीलाई विद्यापतिको अवसान दिन मानिन्छ । नेपाल र भारतमात्रै होइन विश्वका विभिन्न भागमा बसोवास गर्ने मैथिली भाषीहरू विद्यापति स्मृति दिवसलाई एउटा पर्वको रूपमै मनाउने गर्दछन् । विद्यापति मैथिली भाषाका त महाकवि थिए नै यसका साथै उनले संस्कृत, बंगला तथा आसामी भाषामा पनि रचना गरेका छन् ।
विद्यापति एकै साथ शृंगार र भक्तिका कवि पनि थिए । हाँस्य, शान्त, वीर रसका कविताहरू पनि उनका पदमा प्रशस्तै पाउन सकिन्छ । उनी संस्कृतका विद्वान् थिए । उनका संस्कृत रचनाले यसको पुष्टि पनि गरेको छ ।
नेपाली भाषा-साहित्य र धर्म संस्कृतिमा पनि विद्यापतिको रचनाहरूको प्रभाव पाइन्छ । विद्यापतिका भजनहरू मल्लकालदेखि नै उपत्यकावासीमा लोकप्रिय छन् । विद्यापति अलौकिक प्रतिभा र आशुकवित्व शक्तिका थिए । विद्यापतिका अनेकौं पदावलीमा नेपाली शब्दको प्रयोग भएको पाइन्छ । उनी विशेषगरी शृंगार रसका कवि भएकाले उनले राधाकृष्णकै शृंगार लीलाको बढी वर्णन गरेका छन् । कतिपयले उनलाई सुरदास र तुलसीदास जस्तै वैष्णव कवि भनेका छन् तर उनी शैव थिए, फेरि उनी स्वयं पनि महादेवका परमभक्त थिए । महादेवको प्रशंसामा उनले अनेकौं रचना गरेका छन् ।
शैव भएर पनि उनी एकै ईश्वरका रूप सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पञ्चदेवोपासना पनि गर्दथे । प्रत्येक घर र मन्दिरमा बिहान-बिहान सर्वाधिक गाइने र सुनिने भजन
‘जय जय भैरवी असुर भयावनी
पशुपति भामिनी माया
सहज सुमति वर दिअओ गोसावनि
अनुगति गति तुअ पाया ।।
को रचना गरेका छन् ।
त्यसैगरी उनले देवाधिदेव महादेवका बारेमा पनि धेरै रचना गरेका छन् ।
‘उगना रे मोरा कतयगेला ?
कतय गेली शिव की दहु भेला ?
विद्यापति एकै साथ शृंगार र भक्तिका कवि पनि थिए । हास्य, शान्त, वीर रसका कविताहरू पनि उनका पदमा प्रशस्तै पाउन सकिन्छ । उनी संस्कृतका विद्वान् थिए । उनका संस्कृत रचनाले यसको पुष्टि पनि गरेको छ । संस्कृतमा यिनले पुरुष परीक्षा भूपरिक्रमा, लेखनवली, शैव सर्वश्वसार प्रमाणभूत पुराण-संग्रह, गंगावाक्यावली, विभासार, दानवाक्यावली, दुर्गा भक्ति तरंगिण्ी, गयापतालक एवं वर्षकृत आदि छन् । हाम्रो साहित्यिक क्षेत्रमा सौन्दर्यका बारेमा कालिदास र जयदेवपछि विद्यापतिकै नाम आउँछ । सौन्दर्य साधनाको क्षेत्रमा विद्यापतिको तुलना हुन सक्दैन ।
सौन्दर्यवासना नै उनको निम्ति सबैभन्दा ठूलो धर्म तथा कर्म थियो । नियतिले उनलाई त्यस्तो दिव्य चक्षु पनि दिएको थियो जसको माध्यमबाट उनी प्रत्येक पदार्थको संसरणमा सतत सौन्दर्यको दिव्य उनमेष हेर्न सक्दथे । उनको सौन्दर्य तीर तीर्खा कहिल्यै शान्त हुने खालको थिएन । उनी त्यसको प्रत्येक क्षण परिवर्तीत नूतनतालाई अनुभव गरी मधुऋतुमा कोकिल जस्तै उन्मत्त भावले जागृत हुन्थे । विद्यापति यस सौन्दर्यलाई अनिर्वचनीय ठान्दै गाउँछन् ।
‘अभियक लहरी वम अर
विन्द : विद्रुम पल्लव फुलल कुन्द
निरखि निरखि मै पुनुपुनु हेरु :
दमनलता पर उगल सुमेरु
सौर्य कहो मै सखी अनंग
थादक मंडल यमुना तरंग
कोमल कनक केआ भूतिपात :
मसिलै मदन लिखल निजवात
पढई न पारिय आखर पाति
ः हेरईति पुलकित हो तनु कांति
भनई विद्यापति कहओ बुझाए
ः अरथ असम्भव के पतिआए ।
कविको सौन्दर्यको सतत जागरुकता तथा अन्वेषण वृद्धिलाई पनि यसले व्यक्त गर्दछ, यसले कविलाई सौन्दर्यको मायिक छविमा तन्मय भईजाने रूपाशक्तिबाट पनि बचाउँछ, जसले गर्दा उनको कला व्यापार पनि बाधित हुँदैन । हिन्दी भाषाका महाकवि सूर्यकान्त त्रिपाठी ‘निराला’ ले यस दिशातिर संकेत गर्दै लेखेका छन् “विद्यापति सौन्दर्यका श्रष्टा पनि अदभूत किसिमका थिए र सौन्दर्यमा तन्मय भइजाने उनको शक्ति पनि अद्वितीय थियो । कविको यो निकै ठूलो शक्ति हो कि ऊ विषयसित आफ्नो सत्तालाई पृथक राख्दै त्यसको विश्लेषण पनि गर्छन् र त्यसमा एकाकार पनि हुन्छन् (प्रबन्ध प्रतिमा) विद्यापति चारुत्वको रूपवर्णन प्रसंगमा उनले एक सजीव शक्तिको रूपमा अनुभव गरेका छन् तथा अपरूपको संज्ञा दिएका छन् । यस अपरूपको मनोहारी प्रभाव सामु त त्रिलोकीका सबैभन्दा ठूलो शक्ति पनि समर्पित हुन जान्छ । यस कुरातिर संकेत गर्दै उनी लेख्छन् :
‘मनमथ कोटी मथन करु
जे मन से हेरि महिमधि गीर
यस अपरूपको प्रभाव विश्वव्यापी हो । विद्यापति सौन्दर्यको मांसल स्वरूप माथि मुग्ध हुने कवि होइनन् । उनले यस नैसर्गिक ‘चारुता’ को संक्रामक प्रभावलाई पनि खोजेका छन् ।
जायसीले पदमावतीको जुन रूपवर्णन गरेका छन् त्यसलाई सामान्यतया सहृदय पारसरूपको संज्ञा दिइएको छ । विद्यापतिका राधाको अपरूप पनि यही पारस रूप हो । जायसभन्दा करिब एक सय वर्षभन्दा अघि नै विद्यापतिले ‘पारस रूप’ को कल्पना गरेका थिए । जसको महत्ता तथा मौलिकताका लागि साहित्य संसारले उनलाई साधुवाद दिनुको विल्कप छैन । उनको निम्न पदहरूमा जायसीकै शैलीमा रूप वर्णन भएको जस्तो लाग्न सक्दछ ।
‘जहाँ जहाँ पगजुग धरई, तहि तहि सरोरुह भरई
जहाँ जहाँ झलकत अंग, तहि तहि विजुरि तरंग
कि हेरल अपरूप गोरि,
पइठल हियमा हि मोरि
जहाँ जहाँ नयन विकास, तहि
तहि कमल परगास
जहाँ लहु हास संचार तहि
तहि अभियविधार’
यसरी विद्यापतिद्धारा राधाको पार्थिव रूप विधान आफ्नो लोकोत्तर कल्पनामा दिव्यताको प्रकाशक पनि हो । विद्यापतिको नखशिख वर्णन प्राय : पूर्ण तथा परिपाटीबद्ध रहेको छ । उनले आफ्ना पूर्ववति संस्कृत महाकविहरूद्वारा प्रत्युक्त प्रायः सबै उपमानहरूको ग्रहण गरेका छन् ।
‘सहजहिं आनन सुन्दर रे
मौह सुरेखलि आँखि
पंकज मधु पिवि मधुकर रे
उडय पसारति पाखि ।।
उपमानहरूको रुढ प्रयोगमा उनलाई कुनै आशक्ति थिएन । प्रचलित भएकै कारण उनले यसको प्रयोग गरेका थिए । उनी यसको अपर्याप्तताको अनुभव गर्दथे । अलंकारहरको उनी राम्रो तरिकाले प्रयोग गर्दथे । वस्तुतः जब कवि रूप सौन्दर्यको पिपासाबाट विहृवल भएर त्यसको वर्णन गर्न थाल्छन् अनि अलंकार स्वतः नै तिनको शब्दकोशमा आइपुग्छ । विद्यापतिले कहिँ पनि अलंकारको अविचारित प्रयोग गरेका छैनन् । रूप, गुण तथा क्रियाको तीव्रता प्रदर्शित गर्न उनले विशिष्ट अलंकार अथवा अलंकारहरूको प्रयोग गरेका छन् ।
विद्यापतिको अत्यन्त प्रसिद्ध भावगीत ‘सुतलि छलौं हम घरवा रे गरवा वीच हार’ आफ्नो अलंकृत चारुताका कारण नै असाधारण आकर्षक बन्न गएको छ । यसै प्रकार नोकझैंक (छेडछाड) का पद कर थरु करु मोहि पारे देव मे अपरुव हारे, कन्हैया तथा कुन्ज भवन सो निसकल रे रोकल गिरिधारी ‘एक ही नगर वस माधव हे, जनिकर वट मारी’ छोडु कन्हैया मोर आँचर रे, फाटत नव सारी । अपजन होएत जगत भरि हे हम एकसरि नारी । आदि आफ्नो सहज आकृति भाव सौष्ठवका कारण नै त्यति मोहक हुन गएको हो ।
जब कवि रूप सौन्दर्यको पिपासाबाट विहृवल भएर त्यसको वर्णन गर्न थाल्छन् अनि अलंकार स्वतः नै तिनको शब्दकोशमा आइपुग्छ । विद्यापतिले कहिँ पनि अलंकारको अविचारित प्रयोग गरेका छैनन् । रूप, गुण तथा क्रियाको तीव्रता प्रदर्शित गर्न उनले विशिष्ट अलंकार अथवा अलंकारहरूको प्रयोग गरेका छन् ।
नख शिख वर्णनमा विद्यापतिको रूपलोलुप दृष्टि उनलाई आन्तरिक सौन्दर्यको उदघाटनमा बाधक पनि भएको हो । कायिक सौन्दर्यको मांसलता कतै कतै अनावश्यक रूपमा प्रकट गरिएको हो तर उनले सर्वत्र यस्ता परिस्थितिलाई पनि ध्यानमा राखेका छन् कि वर्णनले कुरुचि उत्पन्न गर्न नसकोस् । मध्ययुगीन घोर शृंगारी प्रवृत्तिको परम्परामा हुर्केका विद्यापतिले ‘विपरीत रति’ सम्मका कतिपय पदहरूमा पनि वर्णन गरेका छन् तर यस्ता स्थलहरूमा पनि उनले यथेष्ट शालीनता एवं अभिजात्यको परिचय दिएका छन् ।
‘सखि हे कि कहव किछु नहि फुर
सपन कि परतेरव कहयन
पारिय किय नियरे किय दूर,
तडित लता तल जलद सभार
ल आचर सुरसरी धारा
तरल तिमरि शसि सुर
गरासल चौदिस पछतारा
अंवर खसल धराधर उलटल
धरनी डगपग डोले
खरतट बेग समीरन झांपल
ई नहि युग अवसान
वस्तुतः कविको सौन्दर्यापासना प्रेमको अभावमा अधुरो नै रहन्छ । विद्यापति पनि कालिदास जस्तै प्रियेको अभावमा यौवन तथा निरर्थकतालाई प्रतिपादित गर्दछन् ।
‘सरसिज विनु सर
सर विनु सरसिज
को सरसिज विनु सरे ?
यौवनविन तन
तन विन यौवन
कि यौवन पिय दूरे ? ।।
प्रेम संयोग तथा वियोग दुवै पक्षको मार्मिक अभिव्यन्जनामा विद्यापतिले गजबको क्षमता हासिल गरेका छन् । विद्यापति सौन्दर्यका सजग कवि थिए । उनी यसलाई अपरूप ‘अथवा अनिवर्चनीय ठान्दथे । विद्यापति मिथिलाका महान् कवि थिए । उनी आधुनिक नेपाल र भारतका साझा कवि थिए । उनले संस्कृत, नेपाली, हिन्दी, बांगला र आसामी भाषा साहित्यलाई पनि धेरै थोक दिएर गए । स्मृति दिवसमा शत शत नमन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच