नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य संकट कम गर्ने पछिल्लो प्रयास हो । आइतबार साँझ विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर-कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो । सोमबार बिहान यी मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणामाथि थिए र शहर बाक्लो खैरो र पीडादायक धुवाँले ढाकिएको थियो ।
यो शहर प्रत्येक वर्ष पीडादायक धुवाँले ढाकिने गर्दछ । विशेषगरी छिमेकी क्षेत्रहरूमा किसानहरूले जोत्नका लागि आफ्नो खेत सफा गर्न पराल जलाउने, साथै कारखाना र सवारीसाधनको धुवाँलाई दोष दिइन्छ । हावाको गुणस्तर ‘अझ बिग्रनबाट रोक्ने प्रयासमा’ शहरका अधिकारीले यी प्रतिबन्ध लगाएका हुन् । अधिकारीहरूले बच्चालाई घरमै राखेर सवारीसाधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन् ।
‘कक्षा १० र १२ बाहेक सबै विद्यार्थीका लागि भौतिक कक्षाहरू बन्द गरिनेछ’, एउटै नाम प्रयोग गर्ने मुख्यमन्त्री आतिशीले आइतबार राति जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । प्राथमिक विद्यालयहरूलाई बिहीबार व्यक्तिगत कक्षाहरू बन्द गर्न आदेश दिइएको थियो । सोमबार डिजेल सञ्चालित ट्रकहरू र निर्माण कार्य सीमित गर्नेलगायत थप प्रतिबन्ध लगाइएको छ । सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ ।
शहरका धेरैले एयर फिल्टर किन्न सक्दैनन् । उनीहरूसँग हजारौं समयभन्दा अघि नै मृत्यु हुनेकारण मानिएको दुर्गन्धित हावाबाट प्रभावकारी रूपमा जोगिन सक्ने घर पनि छैनन् । यी आदेश सोमबार बिहानदेखि लागू भएका छन् । तीन करोडभन्दा बढी मानिस बस्ने नयाँदिल्ली र यसको वरिपरिको महानगरीय क्षेत्र हिउँदमा वायु प्रदूषणको विश्व र्याङिकमा लगातार शीर्षस्थानमा रहन्छ ।
चिसो तापक्रम र सुस्त गतिको हावाले हरेक हिउँद् मध्य अक्टोबरदेखि कम्तीमा जनवरीसम्म घातक प्रदूषकलाई समातेर स्थिति झन् खराब बनाउँछ । भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्यस्तरका अधिकारीहरू दुवैलाई कारबाही गर्न आदेश दिएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच