काठमाडौं । राज्य सत्ता र यिनका सञ्चालकप्रति समाजमा चरम असन्तुष्टि छ । राज्य र राजनीतिक नेतृत्वले जनअपेक्षाअनुसार काम गर्न नसक्दा असन्तुष्टिको पारो दैनन्दिन बढिरहेको छ । सरकार र राज्य सञ्चालकलाई जसले ‘तथानाम गालीगलौज’ र ‘मिथ्या आरोप’ लगाउन गर्न सक्छ ऊ ‘कथित हिरो’ कहलिएको छ । यसको माध्यम बनेको छ हाम्रो बेलगाम सामाजिक सञ्जाल । जसले जे लेखे र बोले पनि हुन्छ भन्ने मनोविज्ञान हाबी भइरहेको छ । यही सञ्जालको ‘कथित हिरो’ बन्न केही अभियन्ता दाबी गर्नेहरू तँछाडमछाड गरेर ‘हिरोपन्थी’ देखाइरहेका छन् । ती चाहे आशिका तामाङहरू हुन् वा ‘अण्टसण्ट’ बोलेर ‘अटेन्सन सिक’ गर्ने दुर्गा प्रसाईंहरू हुन् । तामाङ र प्रसाईं प्रतिनिधि पात्र हुन् । समाजमा यस्ता पात्र र प्रवृत्तिहरूको बिगबिगी बढ्दै गएको छ । यिनैले सञ्जालमा लाखौँ भ्युज पाइरहेका छन् । आममान्छे सत्य÷तथ्य नबुझी यिनैलाई सुनेर धारणा बनाइरहेका छन् । जुन निकै घातक हो ।
सामाजिक सञ्जालमा बोलिने भाषा र शैली एकदमै अस्वाभाविक छ । बोलीचालीमा हेर्न, पढ्न र सुन्नै नसकिने भाषा सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् । युट्युब होस् कि फेसबुक/ट्वीटर (हाल एक्स) वा टिकटक नै किन नहोस्, सबैमा अराजक विचार र सत्ता र सरकारमा भएकाविरुद्ध गालीगलौजको विचारलाई स्थापित गर्दै गएको छ । यसलाई युट्युब÷टिकटकमा आएको भ्युज र सामाजिक सञ्जालमा सेयर हेर्दा बुझ्न गाह्रो छैन ।
अहिलेको नयाँ पुस्ता राजनीतिक विचार र मूलधारको सञ्चारमा सरोकार राख्दैनन् । उनीहरूको विश्वास र विचार सामाजिक सञ्जालमा आश्रित छ । सामाजिक सञ्जाल अराजक छ, सरकार र मूलधारको राजनीतिक विचारको विरोधी छ । यसमा दोष उनीहरूको मात्रै छैन । राजनीतिक दलहरू पनि यसका कारक हुन् । उनीहरूले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न सकेका छैनन् । यसले सामाजिक सञ्जालको अराजकताले थप प्रश्रय पाइरहेको छ । अराजकता निम्त्याउने एक/दुई जनालाई पक्राउ गरेर यसको समाधान निस्किँदैन । एउटा समात्दा अर्को जन्मिन्छ । दुर्गा प्रसाईंहरू समय कालखण्डमा हरेक समाजमा जन्मिरहन्छन् । दुर्गा प्रसाईंहरू जन्मिनुमा समाजको पनि आंशिक भूमिका त रहन्छ नै प्रमुख भूमिका भने राज्यसत्ताको नै रहन्छ । जनसरोकारका विषय सम्बोधन नगरी समाजको असन्तुष्टि दुई/चारजना थुन्दैमा सकिँदैन ।
किर्ते कागजात बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आरोप
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गर्नुभएको थियो । प्रसाईंले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको डकुमेण्टमा ओलीको नाम नै नमिलेको देखिन्छ । नेपाली नागरिकताको प्रमाणपत्रमा उहाँको नाम केपी शर्मा (ओली) छ । तर, प्रसाईंले सार्वजनिक गरेको डकुमेन्टमा नाम खड्काप्रसाद ओली (केपी ओली) लेखिएको छ । अर्कातिर फेरि खड्गप्रसाद ओली (केपी ओली) लेखिएको छ । जबकि आधिकारिक डकुमेण्टमा आधिकारिक नाम नै हुन्छ । दस्ताबेजमा रहेको हस्ताक्षर पनि किर्ते भएको प्रष्टै बुझिने खालको छ । प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै कम्बोडियास्थित टेलिकम कम्पनी स्मार्ट आजिआटामा ओलीको २१ करोड अमेरिकी डलर (करिब साढे ३२ अर्ब) रुपैयाँ लगानी रहेको आरोप लगाउनुभएको थियो । सन् २०१९ मे १४ बिजनेस फोरममा सहभागी हुन ओली कम्बोडिया पुगेको र त्यहाँ सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको प्रसाईंको आरोप छ । प्रसाईंले एनसेल नेपालका प्रमुख सतिशलाल आचार्य, आजिआटाका गु्रप चिफ स्ट्राटेजी एवं टेक्नोलोजी अफिसर थोमस हण्ड र ओलीले लगानी पत्रमा हस्ताक्षर गरेको भन्दै पत्र सार्वजनिक गर्नुभएको थियो । तर, त्यसको आधिकारिकता कहीँबाट पनि पुष्टि हुने आधार देखिँदैन ।
ती विवरणहरू सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम विस्तारमा सघाउ पुर्याएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार, प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको छ । फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
दुर्गा प्रसाईँ फेरि पक्राउ
आफूलाई अभियन्ता दाबी गर्ने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ पर्नुभएको छ । भक्तपुरस्थित आफ्नै घरबाट उहाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार मध्याहृन पक्राउ गरेको हो । ‘फेक डकुमेण्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सिआइबी प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।
सिआइबीले प्रसाईंलाई साइबर अपराध, कागजात किर्ते र मानहानिको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।
उहाँ पक्राउ परेको यो पहिलोपटक भने होइन । यसअघि प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले ६ असोजमा पनि भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । त्यसबेला उहाँमाथि एकजना महिलाको चरित्र हत्या हुनेगरी अभिव्यक्ति दिएको आरोप लागेको थियो । जिल्ला अदालत, काठमाडौंले उहाँलाई नौ दिनपछि एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो मुद्दा अझै अदालतमा विचाराधीन छ । त्यसो त ५ चैत २०८० मा पनि प्रहरीले उहाँलाई पक्राउ गर्न खोजेको थियो । उहाँले त्यसबेला बैंकको ऋण तथा ब्याज तिर्नुपर्दैन भन्दै कालोमोसो अभियान चलाउनुभएको थियो । प्रसाईंले कुनै निश्चित समुदायलाई लक्षित गरेरसमेत गम्भीर टिप्पणी गर्दै आउनुभएको छ ।
भिडियो बनाउने युट्युबर पनि अनुसन्धानमा तानिँदै
दुर्गा प्रसाईं पक्राउ प्रकरणमा करिब एक दर्जन युट्युबर पनि तानिने भएका छन् । सिआइबीले प्रधानमन्त्री केपी शर्मा ओलीको ३२ अर्बभन्दा बढी लगानी कम्बोडियामा रहेको भनेर बनाइएको फेक भिडियो प्रकरणमा ती युट्युबरलाई पक्राउ तयारी गरेको हो । प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमा युट्युबर सम्मेलन गर्नुभएको थियो । जहाँबाट प्रसाईंले उपलब्ध गराएको फेक डकुमेण्टलाई आधार बनाएर भिडियो कन्टेण्ट बनाएका करिब दर्जन युट्युबरलाई पक्राउ तयारी सिआइबीले गरेको हो । सिआइबीले ती युट्युबरले बनाएको भिडियो सामग्री अध्ययन गरिरहेको छ । फेक सामग्री फैल्याउनेहरू अनुसन्धानको दायरामा आउने प्रहरीको भनाइ छ ।
भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र : शंकर पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिविरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । यस्ता षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य भएको उहाँको भनाइ छ । ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र हो । कुनै पनि समाजका लागि षड्यन्त्र र अराजकता त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विषवृक्ष हो,’ सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यस प्रकारको षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’
एमालेकै नेता एवं सांसद सूर्य थापाले दुर्गा प्रसाईँले नक्कली कागजातको कारखाना सञ्चालन गरेको भन्दै प्रसाईंको मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गर्नुभएको छ । ‘बैंकको ऋण तिर्नुपर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अर्बौं रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ,’ उहाँले लेख्नुभएको छ, ‘विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस् । मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस् ।’
सरकारको रवैया तानाशाही र अप्रजातान्त्रिक : ज्ञानेन्द्र शाही
तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको धारणा भने फरक छ । उहाँले भने दुर्गा प्रसाईंलाई बिना कारण पक्राउ गरिएको आरोप लगाउनुभएको छ । ‘कुनै पनि व्यक्तिलाई बिनाकारण पक्राउ गर्ने सरकारको जुन रवैया छ यो क्रूर, तानाशाही अप्रजातान्त्रिक राज्य आतंक हो । कुनै व्यक्तिले प्रधानमन्त्री वा सरकारविरुद्ध कुनै गतिविधि प्रसारण वा प्रचार गरेमा उक्त कुरा अप्रमाणित गर्न महान्यायाधिवक्ता कार्यालय अदालत जानसक्ने कानुनी प्रावधान छ,’ उहाँले लेख्नुभएको छ, ‘त्यसपछि मात्र यदि उक्त कुरा झुटो सावित भए पक्राउ गर्न सकिन्छ । तर, ओली सरकारले अदालतको आदेशबिना दुर्गा प्रसार्इँलाई पक्राउ गरेको छ । यो बिल्कुलै गैरकानुनी, कुण्ठा साँध्ने मात्र नभएर प्रमाण नष्ट गर्ने माध्यम हुनसक्ने शंका उत्पन्न भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच