काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी बढी भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसतदर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज(आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पु¥याउँदा उत्पादन बन्द छ, त्यस्तै अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन, काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पु¥याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भयो, जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुन पुग्यो । यसबाट चालु आवमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’
माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाको उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागमात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जानेछ । जसका कारण हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने अवस्था आउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार साउनमा चार अर्ब १४ करोड ५० लाख ७७ हजारको विद्युत् निर्यात गरिएको छ भने भदौमा तीन अर्ब ६७ करोड ८४ लाख ४८ हजार विद्युत् निर्यात गरिएको छ । असोजमा तीन अर्ब छ करोड ५१ लाख ३९ हजार रुपैयाँ र कात्तिकमा एक अर्ब ८३ करोड सात लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।
गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो भने सोही अवधिमा १७ अर्ब छ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आर्थिक वर्ष आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच