
सुदूरपश्चिम र कर्णालीवासीको महत्वपूर्ण पर्व गौरा मनाउन सुदूरपश्चिम समाज टेक्सासका अध्यक्ष गगन केसी र महासचिव गुञ्जन भण्डारीको निम्तो, ७औं अन्तर्राष्ट्रिय ग्लोबल फिल्मी फेस्टिबल न्यूयोर्कको निम्तो स्वीकार्दै गत भदौ ६ गते त्रिभुवन विमानस्थलबाट अमेरिकाको टेक्सास राज्यका लागि प्रस्थान गरेँ । विमानस्थलमा कलाकार श्री थापा आफ्ना मामा-माइजूको बिदाइका लगि आएका रहेछन् । बिदाइका लागि आउनुभएका दाइ रवीन्द्र खनाल र साथीहरूबाट शुभयात्राको सन्देश लिँदै जहाजतिर लागेँ ।
कतार एयरबाट दोहाका लागि चिलगाडी (जहाज) आकाशियो । चिलगाडी चढ्नुभन्दा पूर्व हामी विभिन्न क्षेत्र र जातका भए पनि त्यहाँभित्र त एकै परिवारका सदस्य यात्रु बन्यौँ । केही परिचित अधिकांश अपरिचित अनुहार देखिनु स्वाभाविक हो । अमेरिका प्रस्थानका लागि सबैभन्दा सुलभ प्रस्थान बिन्दु भनेकै दोहा रहेछ । हुन त कोलोम्बो, दिल्लीबाट पनि यात्रा गर्न सकिन्छ तर अधिकांश यात्रुको रोजाइको ट्रान्जिट केन्द्र दोहा नै रहेछ ।
सायद देउडा गीत गायन र सञ्चारकर्मीको नाताले होला चिलगाडीभित्र धेरै यात्रुले मायालु र हर्षित अनुहारले पंक्तिकारतिर हेर्दै कोही मुस्कुराए, कोहीले नमस्कार कलाकारज्यू भने । आत्मीय शब्दले गर्भित भएँ । जसमध्ये कुनै बेला बझाङ जिल्लामा नेपाली सेनाका मेजर पदमा रही सेवा गरेका माधव खड्काले श्रद्धापूर्वक नमन गरे । गत साल जेठ १५ देखि २२ गतेसम्म जन्मघर बेदकाली गाउँ तलकोटमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको कार्यक्रममा परिवारको निम्तो स्वीकारी तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डे, नेपाली सेनाका मेजर माधव खड्का, सशस्त्र प्रहरीका डिएसपी नेत्र केसी, जनपथ प्रहरीका प्रमुख जागेश्वर भण्डारी, जिल्ला अनुसन्धानका प्रमुख लोकराज जोशी लगायत विशिष्ठ व्यक्तिहरूले म जन्मेको भूमिमा पाइला टेकेर कथा श्रवण गरेका थिए ।
बहुदल प्राप्तिपछि पनि खासै विकास त्यहाँ हुन नसक्दा केवल कर्णालीमात्र होइन आधा नेपालको भूखण्ड लंगडो देखिएको छ । आर्थिक विकासको कुरा गर्दा झापा जिल्लामा छुट्टयाएको बजेट जति पनि कर्णालीका पाँच जिल्लालाई छुट्टयाएको देखिँदैन, अनि कसरी होस् कर्णालीको विकास ?
कथा श्रवणका क्रममा प्रजिअ पाण्डेले सुरिलो स्वरमा शंख फुकेर भक्तजनलाई खुशी पारेका थिए । सो कुराले गाउँमा चर्चा पाएको थियो । चिलगाडीमा परिचयको क्रममा उनले यी कुराहरको स्मरण गराउँदा आभार शब्दमात्र ब्यक्त गरेँ । उनी वर्षदिनका लागि संयुक्त राष्ट्रसंघको आहृवानमा शान्ति कायम गर्न नेपालको प्रतिनिधित्व गर्दै कंगो देशमा जाँदै रहेछन् । उज्यालो देखिन मैले उहाँको अनुहार । सायद देशको जिम्मेवारीपूर्ण कामका लागि जान लागेर होला । संयुक्त राष्ट्रसंघको आहृवानमा नेपाली सेनाले विश्वमा शान्ति कायाम राख्न इमान्दार भएर राष्ट्रको इज्जत जोगाएको गौरवमय इतिहास छ । हाम्रो देशलाई संकटबाट जोगाउने भनेकै नेपाली सेना हो । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीप्रति नेपाली जनताको पूर्णभरोसा छ ।
म बसेको सिटभन्दा केही पछाडि एकजना जोडी बसेका थिए । कपाल फुलेर सेतै देखिए तापनि अनुहारमा पुष्टता थियो, हसिलोपन थियो । ‘जोशीजी नमस्ते’ प्रत्युत्तरमा श्रद्धापूर्वक नमस्ते गर्दै ‘हजुरलाई चिन्न सकिन सरी’ मैले भने । आफ्नो पूरै परिचय काव्यात्मक तरिकाले दिए ती विद्वान मनिषीले । हँसिला र फरासिला व्यक्तित्व प्रा.कृष्ण बस्ती, घर धनकुटा, ठाकुरराम बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस विराटनगरमा प्राध्यापन कार्य गरेको ४० वर्षपछि अवकाश प्राप्त जिन्दगी । धर्मपत्नी पूर्वशिक्षिका रमिता वस्ती पनि सँगै थिइन् । दुई वर्ष कान्छी रमिता हाम्रा कुरा सुनेर दंग परिरहेकी थिइन् । देउडा गीत संगीतका कुरा निकाली हाले कृष्ण वस्तीले ।
कर्नालिउँदो लेदो बग्दो भेरी बग्दो फिन
बाल्कालैमा बौला दुःख कैको खाया रिन ?
गीतको माथिको पंक्ति निकाले, बिर्सेछन् तल्लो पंक्ति, मैले जोडिदिएँ तल्लो १४ अक्षरवाला देउडा गीतको पंक्ति । प्राध्यापक बस्ती २०३५ सालताका कालिकोट जिल्लामा तत्कालीन राविेसे कार्यक्रमअन्तर्गत ६ महिना बसेका रहेछन् । कुमाल गाउँको रूपसा विद्यालयमा पढाउँदा नेपाली भाषाको निकै ज्ञान बटुलेछन् । राम्नाकोट, बदालकोट, फुकोट, कर्णाली नदीवारिका रमणीय तत्कालीन गाउँ पञ्चायत थिए । कर्णाली माथिको रंगीलाको ऐतिहासिक पुल थियो । त्यही पुल तरेर पारिका धान फल्ने फाँट भएका गाउँ पञ्चायत रासकोट पुग्नुपथ्र्यो । उत्तरतिर करान भेगका खिन र धौलागोहा गाउँ पञ्चायत पुगिन्थ्यो । २०४५ सालमा प्रस्तोता नेपालगञ्ज राझाँ एयरपोर्टबाट चिलगाडीमा जुम्ला पुगेको थिएँ ।
पाँच दिन पैदल यात्रा गरी कालीकोटको सदरमुकाम मान्मा, त्यहाँ ३ दिनको पैदलयात्रा गरी देउडा गीतका खानी मानिएका माथिका तत्कालीन गाउँ पञ्चायत पुगेको थिएँ । ती अततको याद दिलाए चिलगाडीमा प्रा.कृष्ण वस्तीले । तत्कालीन २६ वटा गाउँ पञ्चायत रहेको सो जिल्लाको आर्थिक अवस्था देखेर चिन्ता पनि व्यक्त गरे उनले । चिलगाडीका अरू यात्रुलाई असर नपर्ने गरी बिस्तारै कर्णाली अञ्चलका सबै जिल्लाको विकासको मोडल बारे आफ्ना धारणा सुनाए । उनी भन्दै थिए पञ्चायतकालमा ठालुहरूले सर्बसाधरण जनतालाई ठगेको प्रष्टै देखे । भात्यादण्ड, पर्वदण्ड, गुयादण्ड आदि दण्ड तिराएर त्यस बेलाका प्रधानपञ्चदेखि सदस्यहरूले लाउन (पुरी) बाबर (सेल) र मासुभात खाएको, बजेट रित्याएको मेरै आँखाले देखेँ ।
बहुदल प्राप्तिपछि पनि खासै विकास त्यहाँ हुन नसक्दा केवल कर्णालीमात्र होइन आधा नेपालको भूखण्ड लंगडो देखिएको छ । हुन त धनकुटा नै बसोवास गर्ने मानिस हुँ तर आर्थिक विकासको कुरा गर्दा झापा जिल्लामा छुट्टयाएको बजेट जति पनि कर्णालीका पाँच जिल्लालाई छुट्टयाएको देखिँदैन, अनि कसरी होस् कर्णालीको विकास ? यी कुराले मलाई छोयो र थपेँ सरकारले नगरेको त भन्न मिल्दैन बहुदल प्राप्तिपछि गिरिजा बाबुको प्रधानमन्त्रीत्व कालमा सुर्खेत जुम्ला सडकको रेखांकन भएर हाल सडक सञ्चालनमा छ ।
यसैगरी शेरबहादुर देउवा र माधव नेपालको प्रधानमन्त्रीत्व कालमा हुम्ला, मुगु र डोल्पा जिल्लामा पनि सडक निर्माणका लागि बजेट छुट्टयाएर सडकको सुरुवाती भएको हो । शेरबहादुर देउवाको नाम लिनेबित्तिकै हौसिएर थपे देउवाजी इमानदार नेता हुन्, उनले विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशको विकासमा विशेष जोड दिएका छन् तर उनका आसेपासेले देउवालाई भुलाइदिन्छन् ।
हत्वाजडी पाँच औलै पाइन्छन् कर्णालीमा
दाँत्या ओखर स्याउ फल्छन् हाम्रा कर्णालीमा ।
यो गीत सुनेपछि बायाँ किनारामा बसेका स्याङ्जा सिरुबारी घर बताउने निमबहादुर गुरुङले खुशी जनाउँदै भने कर्णालीलाई हेला गर्नु भनेको देशलाई हेला गर्नु हो । अबको २५ वर्षपछि कर्णाली अञ्चलले देशलाई पाल्नेछ । गरिब छैन कर्णाली अञ्चल, त्यहाँ जल, जमिन, जंगल र संस्कृति छ । प्रा.कृष्ण वस्ती गुरुङका कुरा सुनेर खुशी भएँ । देउडा गीतमा पंक्तिकारले गरेको योगदानका बारे प्रा.वस्ती र गुरुङलाई सबै थाहा रहेछ । थपे संस्कृतिविद् सत्यमोहन जोशी बिते, त्यो अभिभारा अब जगमान गुरुङको काँधमा आएको छ । सुदूरपश्चिम र कर्णालीको संस्कृतिको मात्र होइन देशको संस्कृतिको सेवा अब तपाईंले गर्नुपर्छ । झण्डै आधा घण्टासम्म हामीबीच कर्णाली अञ्चलको विकासका बारे चिलगाडीमा कुराकानी भयो ।
रारा हौ कि अप्सरा हौ भन भनिहाल
मौकाले भिट भयो आज देउडा खेलीहाल ।
यी र यस्तै गीतहरू तपाईंले संकलन गरेर नल्याउने हो र देउडा गायनमा क्रान्ति न ल्याउने हो भने राष्ट्रिय स्तरमा यो संस्कृति परिचित हुन्थ्यो ? चोर आंैला ठड्याउँदै प्रा.वस्ती सरले मप्रति प्रश्न गरे । जमिनमा मात्र होइन आकाशमा पनि तपाईंले देउडा संस्कृति परिचित गराउनुभयो । ठट्यौलो पारामा बस्ती सर सुनाउँदै थिए । कोलोराडोमा छोरा बुहारीको घरमा दशैँ–तिहार मनाउन जान लागेका प्रा.वस्तीसँग यी कुरा हुँदै गर्दा हाम्रो चिलगाडीले भारत भूमि पार गरिसकेको थियो ।
कोलोराडो जानका लागि वस्ती दम्पती लसएन्जलसको तयारीमा थिए । चिलगाडी आकाशमा उड्ने १८५ जना यात्रु बोक्ने आधुनिक घर हो । जहाँ खानपिनका साथै तोकिएको सिटमा सुबिस्तासँग ५/६ घण्टा देखि १८, १९ घण्टासम्म रातदिन बिताउन पाइन्छ । यस कुराको जानकारी शहरवासीका लागि होइन कि नेपालका दुर्गम बस्तीका नागरिकका लागि दिएको हुँ । कुनै कुनै ग्रामीण गाउँका बासिन्दाले त चिलगाडी नदेखेका पनि हुन सक्छन् । कस्तो छ हाम्रो देशको सामाजिक विविधता ?
आधुनिक पहिरनमा चिटिक्क परेका नानीबाबुले खानेकुरा पनि चिटिक्क परेका प्याकेटमा ल्याए । निद्रा लाग्छ भनेर हार्ड ड्रिंक्स पिउने पनि धेरै हुन्छन् चिलगाडीमा । विविध मानिसको स्वभावको शयन कक्ष पनि हो चिलगाडी । दाइ देवीचन्द्रको वार्षिकी कर्म सम्पन्न गरेको दिन परेकाले शाकाहारी भोजन मेरो रुचिको विषय रहृयो । खाना खाएपछि एकछिन भुसुक्कै भएछु निद्राले । चिलगाडीको पछाडिपट्टी चारजना कर्मचारी आराम गरिरहेका देखिन्थे । शौचालय नजिक भएकाले शौच गर्न गएँ । बाहिर आएर गोडा पनि तन्काएँ ।
त्यही बेला एकजना लक्का जवानले हँसिलो मुद्रामा हजुर गायक हो ?’ भनेर प्रश्न गरे । खुशी हुँदै हो बाबु भने । परिचयको क्रममा उनको घर नदीपुर खोला पोखरा कास्की रहेको थाहा भयो । नाम सन्दीप लोहनी । यस क्षेत्रमा काम गरेको १६ वर्ष भएछ । उनले हजुर पनि १९७४ एडी बैन्डसँगै अमेरिका जान लाग्नुभएको हो ? सो बैन्डका पाँचजना कलाकार पनि यही चिलगाडीमा अमेरिका जान लागेका रहेछन् । गौरा पर्व मनाउन टेक्सास जान लागेको थाहा दिएँ । कस्तो लाग्छ यो एयरहोस्टेज पेशा ? उनको उत्तर थियो दशैँ-तिहारजस्ता पर्व पनि हामीले चिलगाडीमै मनाउने हो । तलब राम्रो भएर पनि आकाशे जागिरमा परिवारसँग राम्ररी समय बिताउन पाइन्न ।
चालक दलका सदस्यसहित १८५ जना यात्रु बोकेर यो चिलगाडी- पाँच घण्टाको आकाशमार्ग टुंग्याएर अत्याधुनिक एयरपोर्ट दोहा अवतरण गर्यो । त्यसबेला दोहाको स्थानीय समय अनुसार रातको ११ः०० बजेको थियो । त्रिभुवन एयरपोर्टबाट रुट नपाएकाले आधा घण्टा ढिला उडेको चिलगाडी दोहामा ट्रान्जिट समय केही कम भयो । दोहा एयरपोर्टमा एकजना बहिनीले नमस्ते गरिन् । घर अछाम साँफेबगर रहेछ । अछामकी बहिनी दुर्गा कुवँरले खुशी हुँदै मलाई नछोड्नुहोला, मलाई बाटो आउँदैन भनिन् । हुन्छ भन्दै आधा घण्टा एयरपोर्टमा सँगै बस्यौं । रातभर मानिसहरू ओहोरदोहोर गरेको देखेर बहिनी भन्दै थिइन् धेक्या दाइ यी माइसलाई निन भोक लाग्दैन हो कि का जान्छन् यी माइस (मान्छे) ?
बहिनीको अवोध जिज्ञाषाले मलाई सुदूरपश्चिमको पहाडी भूखण्ड पु¥यायो । टेक्सासमा बहिनीका छोरा-बुहारी रहेछन् । भाइ श्रीप्रसादका मामा माइजयू हिृवलचेयरमा बसेकाले मस्तीसँग आन्तरिक गाडीमा आइरहेका थिए । अशक्त अपांगका लागि हिृवलचेयरको व्यवस्था गरिएको हुन्छ । सो व्यवस्थाको सदुपयोग गर्नुपर्दा हवाई टिकट काट्दा नै हिृवलचेयरको व्यवस्थाको जानकारी गरायो भने एयरपोर्टमा सबै व्यवस्था मिलाएको हुन्छ, सजिलो हुन्छ ।
एक घण्टा दोहाको हमाज एयरपोर्टको बसाइपछि अब हामी डालसस्थित जेएस एयरपोर्टका लागि प्रस्थान गर्दैछौं । १८ घण्टा लामो हवाई यात्रा हामी सबै यात्रुका लागि झर्कोलाग्दो हुन्छ । यहाँ जाँचपास कडा छ लुगाबाहेक अरू सबै कुरा खोल्नुपर्छ । भाषा पटक्कै बुझिन्न । बहिनी दुर्गालाई अगाडि लगाएँ । निकै सहयोगी हुन्छन् अध्यागमन शाखाका कर्मचारीहरू । यात्रुको मनोभावना पनि बुझ्ने गर्छन् ।
बहिनीलाई खासै चेक गरेनन् हातमाथि उठाउने इसारा ग¥यो, त्यसै गरिन्, खुरुखुरु भित्र गइन् । मलाई केही प्रश्न गर्यो, बुझिन् । एकोहोरो म कलाकार हूँ गीत गाउन जान लागेको मात्र भनेँ । प्रत्युत्तरमा वेलकम मात्र भनेको बुझेँ । निहुरिएर धन्यवाद भनेँ । मभन्दा पछाडिको भाइलाई पनि खासै चेक गरेनछ । मलाई चेक गरेको र सोधेको उसले हेरिरहेको रहेछ । पछि मसँग भन्यो अंकल हजुरको रातो कपाल देखेर शंका गरेको हुनसक्छ, कतै पाकिस्तानी हो कि भन्ने आशंकाले ।
कतारसम्मको यात्रापछि हामी विविध ठाउँका लागि प्रस्थान गर्दैछौँ । प्रा.कृष्ण श्रीमतीसहित लसएन्जलस, नेपाली सेनाका माधव खड्का दक्षिण अफ्रिकाका लागि, गुरुङजी न्यूयोर्कका लागि प्रस्थान गर्दैछन् । २९० जना यात्रु बोकेको बडेमानको चिलगाडीमा मलगायत तीनजना डालसका लागि प्रस्थान गर्दैछौं । १८ घण्टाको यात्रा रोचक पट्टयारलाग्दो अनि डरलाग्दो पनि छ । यात्रा पूरा गरी भदौ ८ गते बिहान ११ः०० बजे डालस एयरपोर्ट पुग्यौं । बहिनी दुर्गा सुदूरपश्चिमका भाषामा दाइको जय होस् निकोअरी आफूसँगै आन्या भन्दै थिइन् । हाम्रो स्वागतका लागि भाइ राजन खनाल, बहिनीका छोराबुहारी बुकी फूल लिएर उभिएका देखिन्थ्ये अत्याधुनिक अमेरिकी एयरपोर्टमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच