काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अघि बढाउन नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । ‘अनुदान वित्तपोषण (ग्राण्ट फाइनान्सिङ)का आधारमा बिआरआई परियोजनालाई अघि बढाउन’ दुई दल सहमत भएका हुन् । दुई दल सम्मिलित कार्यदलले अनुदान सहयोगका आधारमा बिआरआई अघि बढाउने गरी कार्यान्वयन योजनाको मस्यौदालाई अन्तिम रूप दिएको छ । सरकारले कार्यान्वयन गर्ने परियोजना अनुदानमा आधारित हुने कार्यदलले तयार पारेको मस्यौदामा उल्लेख छ ।
कार्यदलले तयार पारेको मस्यौदालाई दुई दलका शीर्ष नेतृत्वबीच सहमति भएपछि समीक्षा तथा स्वीकृतिका लागि चीनलाई पठाइनेछ । बिआरआईका विषयमा सहमति गरी मस्यौदा बनाउन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विकास सल्लाहकार डा. युवराज खतिवडा तथा कांग्रेसका महामन्त्री गगन थापा सम्मिलित कार्यदल बनाइएको थियो । उनीहरूले मस्यौदा बनाउने क्रममा विज्ञको समेत सल्लाह लिएका थिए । चीनले मस्यौदा स्वीकार गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभयो । नेपालमा पनि सबैको सहमतिकै आधारमा बिआरआई अघि बढाइने उहाँको भनाइ छ । ‘बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । अहिले कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ,’ शनिबार चीनबाट फर्किनुभएकी उहाँले भन्नुभयो, ‘यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।’ मन्त्री राणाले नेपाल अहिले ऋण लिनसक्ने अवस्थामा नरहेको कुरा चीनलाई बताएको स्पष्ट पार्नुभयो ।
६ वटा पूर्वाधार परियोजना प्रस्ताव गरिने
नेपालले चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरेको छ । नेपालले ओलीको आसन्न चीन भ्रमणका क्रममा पूर्वाधार विकास, खेलकुद विकास र शहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्न लागिएको हो । सबै परियोजना नेपालले चीनलाई अनुदानमा निर्माणको लागि आग्रह गर्ने भएको छ । नेपालले प्रस्ताव गर्न लागेको परियोजनामा एक जलविद्युत् आयोजना, एक ट्रान्समिसन लाइन, नेपाल–चीन औद्योगिक फ्रेण्ड्स पार्क, मैत्रीपूर्ण पार्क, झापामा स्पोर्ट्स एण्ड एथ्लेटिक्स कम्प्लेक्स, मदन भण्डारी विश्वविद्यालय र काठमाडौं साइस्टिफिक सेण्टर एण्ड साइन्स म्युजियम छ ।
नेपाल ऋण लिनसक्ने अवस्थामा नरहेको चीनलाई अवगत गराएको छु : डा. आरजु
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल ऋण लिनसक्ने अवस्थामा नरहेको बारे चीनलाई अवगत गराएको बताउनुभएको छ । चीनबाट फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बिआरआई कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभयो । ‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली कांग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरू गरिरहेका छौँ,’ उहाँले भन्नुभयो । मन्त्री राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको र यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय-समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदान-प्रदानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको पनि जानकारी दिनुभयो । वार्तामा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको उहाँले बताउनुभयो । वार्तामा आफूले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको र चिनियाँ विदेशमन्त्री वाङ यीले पनि उक्त धारणाप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिएको उहाँको भनाइ थियो । वार्ताका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारहरूको स्पष्ट आदान-प्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा पनि कुरा भएको उहाँले बताउनुभयो । मन्त्री राणा चीनको सिचुआन प्रान्तस्थित छेन्दुबाट शनिबार स्वदेश फर्किनुभएको हो । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ पुग्नुभएकी उहाँले अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ फेरि प्रधानमन्त्री ओलीसँगै चीन जानुहुने छ ।
बिआरआईको विषयले सरकारमा समस्या आउँदैन : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बिआरआईमा कांग्रेस र एमालेबीच फरक मत नरहेको स्पष्ट पार्नुभयो । अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताउनुभयो । कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भए पनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस-एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको उहाँले बताउनुभयो । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिन सरकारले पहल गर्ने पनि उहाँको भनाइ थियो । ‘कांग्रेस सभापति शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमतिअनुसार हस्तान्तरण हुने बताइरहनु भएको छ । सरकारमा समस्या छैन,’ उहाँले भन्नुभयो ।
बिआरआई स्वीकार गर्नुपर्छ : खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताउनुभएको छ । चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएका पूर्व–प्रधानमन्त्री खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले बिआरआई परियोजना स्वीकार गर्नुपर्ने बताउनुभएको हो । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्ने उहाँको भनाइ थियो । ‘नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बिआरआई स्वीकार गर्नुपर्छ । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ ।
बिआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ । हामीले राष्ट्रहितमा निर्णय गर्नुपर्छ,’ उहाँले भन्नुभयो । (बिआरआई) विवाद गर्नुपर्ने विषय नभएको उहाँले बताउनुभयो । नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा विकास र निर्माणका अनेकन सहयोगहरू गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । चीनबाट नेपालले ऋण लिनु नै नहुने भन्ने कुरा नहुने उहाँको भनाइ थियो । चीनले अनुदान मात्रै दिनुपर्छ भन्नेहरूले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरू कौडीको मूल्यमा बेचेको उहाँले आरोप लगाउनु्भयो । अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना दुई वर्षमा १० अर्बभन्दा बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसी ऋणभन्दा पनि ठूलो भएको उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दुई दिनअघि नेता खनाल चीन जानुभएको हो । उहाँसँगै विदेश विभागका सचिव शंकर खतिवडा पनि चीन जानुभएको छ । चीनमा रहँदा महत्वपूर्ण भेटघाट पनि गर्ने कार्यक्रम तय भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच