काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को मंगलबारको खेलमा चितवन राइनोजले सानदार दोस्रो जित दर्ता गरेको छ भने पोखराको लज्जास्पद हार भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर रोयल्सलाई ९० रनले पराजित गरेको थियो । सुदूरपश्चिमको यो पहिलो जित हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो । यस्तै, मंगलबार भएको दोस्रो खेलमा चितवन राइनोजले लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको थियो ।
चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटियो । चितवनले यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पोखराका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । पोखराबाट नवौँ नम्बरमा ब्याटिङका निम्ति आउनुभएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । मार्कस क्रितकेलीले १६ बलमा दुई चौकासहित १७ रन बनाउनुभयो । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराले पहिलो पावर प्लेको पहिलो ओभरमा कप्तान कुशल भुर्तेल, दीलिप नाथ र बास डे लिडेलाई गुमाएको थियो । चितवनका सोहेल तान्विरले इनिङको पहिलो बलमै पोखराका कप्तान कुशललाई ‘रोयल डक’ गर्नुभयो ।
यस्तै, चौथो बलमा चार रन बनाउनुभएका दीलिपलाई र त्यसपछि ब्याटिङमा आउनुभएका बास डे लिडेलाई ‘गोल्डेन डक’ गर्नुभयो । यसपछि चौथो ओभरमा रिजन ढकालले पनि तीन विकेट लिनुभयो । सो ओभरको पहिलो बलमा रिजनले दिनेश खरेल, चौथो बलमा किरण ठगुन्ना र अन्तिम बलमा माइकल लिस्कलाई आउट गर्नुभएको थियो ।
सातौँ ओभरको दोस्रो बलमा चितवनका लुक बेन्केन्स्टाइनले पोखराका रेमन रेफरलाई विपिन रावलबाट क्याच गराउनुभयो । रेफरले पोखराको खातामा एक रन थप्नुभयो । ११औँ ओभरको दोस्रो बलमा पोखराका मार्कस क्रितकेलीलाई बेन्केन्स्टाइनले एलबिडब्लूको धरापमा पार्नुभएको थियो । १३औँ ओभरको पाँचौँ बलमा पोखराका नारायण जोशीलाई बेन्केन्स्टाइनले सन्तोष कार्कीबाट क्याच गराउनुभएको थियो । पोखराका दिनेश र किरणले समान एक रन बनाउँदा लियस्क ‘डक’ हुनुभयो ।
चितवनका सोहेल तान्विर, रिजन र लुक बेन्केन्स्टाइनले समान तीन विकेट लिनुभयो । दीपक बोहराको नाममा एक विकेट रहृयो । समान तीन ओभर बलिङ गर्नुभएका तान्विर र रिजनले एक मेडन फ्याँक्दै क्रमशः ६ र १० रन खर्चिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो । चितवनका बोपाराले ५१ रन बनाउनुभयो । बोपाराले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्नुभएको थियो ।
योसँगै बोपारा एनपिएलमा अर्धशतक प्रहार गर्ने पाँचौँ खेलाडी बन्नुभएको छ । यसअघि विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल साह र लाहिरू मिलान्थासँगै सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउनुभएको थियो ।
४६–३ को कठिन स्थितिबाट बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ६८ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हाल्नुभएको थियो । बोपारा १६औँ ओभरको अन्तिम बलमा रेमन रेफरको बलिङमा मार्कस क्रितकेलीबाट क्याच हुँदै पभेलियन फर्किनुभएको थियो ।
कुशलले २३ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाउनुभएको थियो । उहाँ १४औँ ओभरको दोस्रो बलमा सागर ढकालको बलिङमा कुशल भुर्तेलबाट क्याच आउट हुनुभएको थियो । यसबाहेक लुक बेन्केन्स्टाइनले १६ रन बनाउनुभएको थियो । छैटौँ ओभरको दोस्रो बलमा बास डे लिडेले गरेको बलिङमा कुशल भुर्तेलबाट क्याच हुनुअघि बेन्केन्स्टाइनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । ओपनर हसन आइसाखिलले १० बलमा एक चौका र एक छक्कासहित १४ रन बनाउनुभयो ।
हसन पाँचौँ ओभरको पहिलो बलमा विपिन खत्रीको बलिङमा कुशल भुर्तेलबाट क्याच हुनुभएको थियो । सन्तोष खत्रीले १३ बलमा ११ रन थप्नुभयो । उहाँ रेमन रेफरले गरेको १८औँ ओभरको पाँचौँ बलमा विपिन खत्रीबाट क्याच हुनुभएको थियो । अविजित रहनुभएका अमर रौटेलाले १३ र शदर भेषवाकरले ११ रन बनाउनुभयो । दीपक बोहराले दुई रन थप्दा सोहेल तान्विर भने ‘गोल्डेन डक’ हुनुभयो ।
दीपकलाई पोखराका विपिनले बोल्ड गर्दा तान्विर बास डे लिडेको बलमा एलबिडब्लूको शिकार बन्नुभयो । पोखराका विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिनुभयो । सागर ढकालको नाममा एक विकेट रहृयो ।
प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो ।
सुदूरको सानदार सुरुवात, लगातार दोस्रोपटक हार्यो विराटनगर
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर रोयल्सलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमको यो पहिलो जित हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो । आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो । विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन बनाउनुभयो । अहमदले २८ बल खेली २ चौकासहित २४ रन, राजेश पुलामीले १५ बलमा १ छक्कासहित १५ रन बनाउनुभयो । तल्लोक्रममा अनिल खरेलले अविजित १० र क्रिस सोलले ९ रन बनाए पनि अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि स्कट कुग्गेलैन र अविनाश बोहराले तीन÷तीन विकेट लिनुभयो । त्यसैगरी ब्राण्डन मुल्लेन, सैफ जैब र इशान पाण्डेले समान एक÷एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८३ रनको विशाल स्कोर तयार गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो । प्रतियोगिताको एकै इनिङ्समा हालसम्म बनेको यो नै सबैभन्दा धेरै रन हो । यसअघि तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।
इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबीच छैटौँ विकेटका लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भएको हो । दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५७ रन बनाउनुभयो । उहाँ अनिलकुमार शाहपछि अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बन्नुभएको छ । छैटौँ नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाउनुभएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराउनुभयो ।
सुदूरपश्चिमका लागि स्कटल्याण्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाउनुभयो । ओपनिङ ब्याटर विनोद भण्डारीले २० बलमा चार चौकासहित २३ रन बनाउनुभएको थियो । सेफ जैबले १५ बलमा एक छक्कासहित १४ रन बनाउनुभयो । तीनै खेलाडीलाई अनिल खरेलले आउट गर्नुभएको थियो । न्युजिल्याण्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोड्नुभयो ।
यसअघि ओपनर अमित श्रेष्ठ एक रनमै आउट हुनुभएको थियो । आरिफ शेख पनि नौ रनमै आउट हुनुभएको थियो । कप्तान सन्दीप लामिछाने दोस्रो खेलमा पनि विकेटविहीन रहनुभयो । उहाँले चार ओभरमा ३१ रन खर्चिँदा कुनै विकेट लिन सक्नुभएन । पहिलो खेलमा जनकपुरविरुद्ध चार ओभरमा ३० रन खर्चिँदा पनि उहाँ विकेटविहीन हुनुभएको थियो ।
आज दुई खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज (बुधबार) दुई खेल हुँदैछन् । बुधबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज र दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले खेल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच