काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन र वातावरण संरक्षणमा आममहिलाको भूमिका सराहनीय रहेको बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लौङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक स्रोत, वन तथा वातावरणसँग महिलाहरूको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई सँगै लिएर संरक्षणका काम गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“वन र वनपैदावारको उपयोगसँग महिलाको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यसको क्षतिबाट हुने असरमा पनि महिला नै सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । नेपालको सामुदायिक वनको अभियानमा उहाँहरूको योगदान अत्यन्त महत्वपूर्ण छ । नेपालले गरेको वन तथा वातावरणको प्रतिबद्धता पूरा गर्न मन्त्रालय महिला दिदिबहिनीहरूसँग मिलेर अगाडि बढ्छ”, राज्यमन्त्री विकले भन्नुभयो ।
वन तथा वातावरण क्षेत्रका कैयौँ कानुन समयसापेक्ष नभएकाले समस्या भइरहेको भन्दै उहाँले तिनलाई सुधार, संशोधनका लागि तयारी भएको जानकारी दिनुभयो । राज्यमन्त्री विकले कानुनी समस्याका कारण वन क्षेत्र, खोला तथा नदी किनारमा बसिरहेका अधिकांश दलित, विपन्न समुदाय समस्यामा परिरहेकाले वन र निकुञ्जसँग सम्बन्धित कानुन संशोधनका लागि पहल गरिने बताउनुभयो । “वनक्षेत्र, खोला नजिक प्रायः दलित, गरिब, विपन्न समुदायको बस्ती हुने र वन्यजन्तुले उहाँहरूलाई नै बढी दुःख दिने समस्याबारे गुनासा हामीले सुनिरहेका छौँ । बस्ती हटाउन या वन्यजन्तु नियन्त्रण गर्न दुवै कार्य चुनौतीपूर्ण छ । यद्यपि क्षतीपूर्तिको व्यवस्था हुने गरी कानुन आवश्यक देखेका छौँ । यस विषयमा बृहत् छलफल गरेर अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।
महासङ्घका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव पार्वता गौतमले गर्नुभएको थियो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच