म्याग्दी । ट्र्याक खुलेको १७ वर्ष पछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम सुरु भएको छ ।
विसं २०६४ मा ट्याक खुलेर कृषि सडकका रुपमा प्रयोग हुँदै आएको यो सडकको १७ वर्षपछि कालोपत्रेका लागि स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीले बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको जानकारी दिनुभयो ।
योजना अन्तर्गत बुद्ध एकेडेमी कोटखोलादेखि साढे २ किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो । उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ।
मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् ।
हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र भइसकेको छ । सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ । सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन् । यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको सडक स्तरोन्नति समितिका सल्लाहाकार चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।
सडक कोलोपत्रे भएपछि यस क्षेत्रका करिब २० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने स्थानीय समाजसेवी नारायण कार्कीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच