काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न र नेपाल-भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका-५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन बिहीबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भरतपुर महानगरपालिका-११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो ।
नयाँ बुटवल-बर्दघाट प्रसारण लाइन सञ्चालनसँगै नयाँ बुटवलबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब एक हजार दुर्ई सय मेगावाट विद्युत्् भार बोक्न सक्ने बताइएको छ । प्राधिकरणका अनुसार कालीगण्डकी र सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल–नयाँ भरतपुर–हेटौंडासम्मको २२० केभी प्रसारण लाइन लिंक बनेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र उक्त पूर्वाधारले भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल-गोरखपुर दोस्रो सीमापार प्रसारण लाइन निर्माणपछि विद्युत् आयात-निर्यातको थप ढोका खुल्ने छ, मुख्यरूपमा कालीगण्डकी तथा मस्र्याङ्दी र ती नदीहरूका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुने छ ।’
मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्् मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौंडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको नयाँ बुटवल–बर्दघाट प्रसारण लाइनको अनुमानित लागत करिब एक अर्ब रुपैयाँ छ । सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको साढे चार किलोमिटर चार सर्किट (मल्टी सर्किट) लाइन निर्माण गरिएको छ । सोही मल्टी सर्किट टावरमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन जोडिएको छ ।
उत्पादित विद्युत्को आन्तरिक खपत र द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण तथा वितरण प्रणाली विस्तार एवं सुदृढीकरण गर्न आयोजना सुरु गरिएको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिमा पूरा गर्नुपर्ने लामो प्रक्रिया, कोरोना महामारी, चुरे क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकनलगायत कारण प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताउनुभयो । प्रसारण लाइन निर्माणका लागि पावर चाइन सेप्को १ सँग २०७६ पुसमा ठेक्का सम्झौता भई २०७७ असारमा कार्यान्वयनमा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच