
अक्सर मान्छेले जीवनमा एक पटक मनको भावनालाई कुनै न कुनै माध्यमले व्यक्त गरेकै हुन्छ । चाहे त्यो शब्दविहीन गुनगुनाइमा होस् । चाहे सुसेलीमा होस् । चाहे शब्दका थुँगाले सजिएका गीत, गजल, कविता अथवा कुनै अन्य विधामा होस् । यद्यपि धेरै मान्छेले आफ्नो मनको भावना पोख्ने पहिलो माध्यम भने कवितालाई नै बनाएको पाइन्छ । प्रेमका भावना समेटिएका कविता लेखेर सुटुक्क प्रेमी-प्रेमिकालाई दिने चलन हिजो थियो र आज पनि छ । जीवनमा एक पटक कवि नबनेको मान्छे सायदै कोही होला । प्रेमका दुई शब्द कोरेर कविता लेख्ने मान्छे धेरै हुन्छन् । कोही कवि नै बन्छन्, कोही बन्दैनन् । फरक यत्ति हो ।
जीवनमा कविता कोर्दाकोर्दै कवि बनेका छन् प्रकाश खड्का ‘अभियान’ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७, खरिपाटीमा जन्मेर हाल अमेरिकाको बोष्टनमा बसोबास गर्ने कवि प्रकाश खड्का भावनात्मक गहिराइमा पुगेर जीवनका विविध पक्षलाई उजागर गर्ने सदिच्छा राख्दछन् । उनै कविको पहिलो कवितासङ्ग्रह ‘अथक अभिलाषा’ हालै प्रकाशित भएको छ । यो कवितासङ्ग्रहलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोष्टन च्याप्टरले प्रकाशित गरेको छ ।
यस सङ्ग्रहमा विशेष गरी प्रेमिल भावनाहरूकै बाहुल्य छ । यसो त मान्छे प्रेमबाट अलग भएर बाँच्नै सक्दैन । त्यसैले प्रेमिल भावनाको बाहुल्य हुनु अनौठो होइन । यसो त कवितामा राष्ट्रियताका कुरा पनि आएका छन् र पहिचानका कुरा पनि आएका छन् ।
सुरुवातकालीन अवस्थामा प्रेमका कविता लेखेका धेरै सिकारु कविहरू कालान्तरमा प्रसिद्ध कवि बनेका छन् । प्रकाश खड्का पनि प्रसिद्ध कवि बन्ने दौडमा छन् । उनका कविताहरूले यही सङ्केत गरेका छन् । कविता अध्ययन र लेखनलाई निरन्तरता दिँदै कवितामा परिमार्जन र परिष्कार गर्दै गए कवि प्रकाश खड्का अवश्य पनि एक प्रसिद्ध कवि बन्नेछन् । उनका कविताहरूले यो सम्भावनालाई औँल्याइरहेका छन् ।
यो सत्य हो कि जीवन जिउने क्रममा मान्छेको मनोभावना र जिन्दगीको रङ सधैँ एक नासको हुँदैन । फरक समय, फरक परिवेश र फरक परिस्थितिमा मान्छेको विचार, मनोभाव र संवेगमा पनि फरक तरङ्ग उत्पन्न हुन्छन् । यिनै फरक समय, फरक परिवेश र फरक परिस्थितिमा उत्पन्न भएका आफ्ना फरक-फरक मनोभाव र संवेगका तरङ्गहरूलाई कवि प्रकाश खड्काले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् । कवि प्रकाश खड्काले जीवन र जगतका कविता लेखेका छन् । यसो त प्रायः सबै कविहरूले जीवन र जगतकै कविता लेख्ने हुन् ।
‘अथक अभिलाषा’ मा विविध समय र सन्दर्भमा लेखिएका विविध विषयवस्तुका ६४ वटा छोटा तथा मझौला कविताहरू सङ्गृहीत छन् । ‘अथक अभिलाषा’ भित्रका कवितामा जीवनको कथा छ । जीवनको भागदौड पनि छ । घरदेश छोडेर परदेश पुग्नेहरूको रोदन छ । प्रेमिल भावना छ । प्रेमले दिएको घाउप्रति गुनासो पनि छ । यस सङ्ग्रहमा विशेष गरी प्रेमिल भावनाहरूकै बाहुल्य छ । यसो त मान्छे प्रेमबाट अलग भएर बाँच्नै सक्दैन । त्यसैले प्रेमिल भावनाको बाहुल्य हुनु अनौठो होइन । यसो त कवितामा राष्ट्रियताका कुरा पनि आएका छन् र पहिचानका कुरा पनि आएका छन् । वास्तवमा राष्ट्रियता र पहिचान नभएको मान्छेको कुनै अस्तित्व हुँदैन ।
प्रकृति-प्रेमका कविता पनि छन् । विसङ्गत राजनीतिप्रति व्यङ्ग्य छ भने सामाजिक, सांस्कृतिक विचलनप्रति कटाक्ष र चिन्ता पनि छ । संक्षेपमा भन्नुपर्दा कवि खड्काका कवितामा विदेशिनु पर्दाको पीडा, मातृभूमिप्रतिको अगाध आस्था, प्रेमका अनुभूतिहरू, डायस्पोरिक जीवनका यथार्थता, बाल्यकालीन सुखद् अनुभूतिहरू, पर्यावरणीय चेत, राजनीतिक, सामाजिक र सांस्कृतिक विचलनप्रति चिन्ता आदि प्रखर रूपमा आएका छन् । वर्तमान समयमा देशमा भविष्य नदेखेर धेरै युवाले देश छाड्दैछन् र वृद्ध बाआमाहरू पिरोलिँदैछन् । यही विषयलाई कविले मार्मिक ढङ्गले ‘सन्तान, सपना र सोच’ कवितामा यसरी अभिव्यक्त गरेका छन्ः-
‘...जब फट्फटाउँछन्
सन्तानका पखेटा
अनिश्चितताका आँधीमा
हराउँछन् बाहरू
उदास हुन्छन् आमाहरू
तृष्णाको ज्वालामा
अत्तालिएका मनहरूले
जीवनको कथा कोर्छन्
भित्र–भित्रै रुँदै
सम्झनाको बोज बोकेर
चुपचाप आँसुका सागरमा डुब्छन् ।’ (पृष्ठ २०)
साहित्यका पारखीहरू माझ कविता विभिन्न बिम्ब-प्रतीक, उपमा र अलङ्कारको प्रयोग गरेर लेखिनुपर्छ भन्ने मान्यता स्थापित छ । अनि कवितामा कवितातत्व नभई कविता हुनै सक्दैन भन्ने मान्यता पनि छ । वास्तवमा सिर्जनालाई कविता बनाउने विषय नै कवितातत्व हो । खासगरी कल्पना, भाव, विचार आदिलाई कविताको आन्तरिक तत्व मानिएको छ भने रीति, गुण, अलङ्कार आदिलाई बाहृय तत्व मानिएको छ । यी सबै तत्वले युक्त सिर्जनालाई कविता भन्ने गरिएको छ तर सबै कवितामा यी सबै तत्व हुँदैनन् । यी सबै तत्व नहुँदैमा कविता नहुने पनि होइन । मुख्य कुरा कल्पना, भाव र विचार नै हो । भाव र विचारलाई सिँगार्न उपर्युक्त तत्वहरूको महत्वपूर्ण भूमिका हुन्छ । कल्पना, भाव र विचारमाथि रीति, गुण र अलङ्कार पनि भए सुनमा सुगन्ध हुने हो ।
मनमा भावना र अनुभूति हुँदैमा कवि हुन सकिँदैन । त्यसलाई संयोजन गर्ने शिल्प–कला पनि हुनुपर्छ । भावना र कल्पनाको सपाट विवरणले मात्रै एउटा सुन्दर र प्रभावशाली कविताको आनन्द दिन सक्दैन । अनुभूति र भावनाको सुन्दर संयोजन नै कविता हो । कवितामा हुने यही स्वरूपले हामीलाई जीवनको चेतनाबोध गराउँछ ।
कविताका आन्तरिक तत्वलाई बाहृय तत्वले सिँगारेपछि कविता अझ सुन्दर बन्ने गर्दछ । कवितालाई सिँगार्ने क्रममा कोही कोही कविहरूले आफ्नो कल्पना, बौद्धिकता र बिम्ब-प्रतीक आदिको भरपुर प्रयोग गरेर कवितालाई दुरुह पनि बनाउने गर्दछन् भने धेरैजसोले सरल भाषाशैलीमा बोधगम्य तरिकाले कवितामा आफ्नो कल्पना, भावना र विचार अभिव्यक्त गर्ने गर्दछन् । यसरी सरल भाषाशैलीमा बोधगम्य तरिकाले आफ्नो कल्पना, भावना र विचार अभिव्यक्त गर्ने कविको कोटिमै पर्दछन् कवि प्रकाश खड्का पनि । उनका कविता सरल छन्, सुन्दर छन् र बोधगम्य छन् ।
जीवनलाई हेर्ने दृष्टिकोण, समाजप्रतिको बुझाइ, राजनीतिप्रतिको धारणा, मानवीय संवेदनामा भइरहेको स्खलनप्रतिको चिन्ता कवि प्रकाशका कवितामा प्रकट भएको पाइन्छ । धेरै कविताहरू बिम्ब, प्रतीक, उपमा र अलङ्कारको प्रयोगविना नै लेखिएको हुँदा विषयको गाम्भीर्यता हुँदाहुँदै पनि त्यस्ता कविताहरू जोडदार र बुलन्द हुनबाट चुकेका छन् । यसमा सुधार आवश्यक छ । हार्दिकता र कोमलताले भरिएका छन् धेरै कविताहरू । मानवतावादी स्वर पनि मुखर भएका छन् । कुनै राजनीतिक नारा र उग्रता छैन कवितामा तर विसङ्गत राजनीतिप्रति असन्तुष्टि छ, गुनासो छ, आक्रोश छ र विद्रोह पनि छ । ‘चित्कार’ शीर्षकको कवितामा मानवतावादी स्वर यसरी मुखर भएको छ :-
‘आँसु बगे
तर मेरो होइन
त्यो निर्दोष आवाजको थियो
जसले माटोको ढुङ्गालाई
झस्काउन सकेन ।
र म स्तब्ध छु
सोच्दै
किन निस्तेज हुँदैछ
यो संसारको हृदय ?’ (पृष्ठ ७४)
मनमा भावना र अनुभूति हुँदैमा कवि हुन सकिँदैन । त्यसलाई संयोजन गर्ने शिल्प-कला पनि हुनुपर्छ । भावना र कल्पनाको सपाट विवरणले मात्रै एउटा सुन्दर र प्रभावशाली कविताको आनन्द दिन सक्दैन । अनुभूति र भावनाको सुन्दर संयोजन नै कविता हो । कवितामा हुने यही स्वरूपले हामीलाई जीवनको चेतनाबोध गराउँछ । यस उक्तिलाई मनन गर्दै कवि प्रकाश खड्काले कविता लेखनमा अनुभूति र भावनाको सुन्दर संयोजन गर्न थप प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।
‘अथक अभिलाषा’ कवितासङ्ग्रहका धेरैजसो कविताहरूमा भावना, विचार र अनुभूतिको प्रचुरता भइकन पनि तिनको सुन्दर संयोजन गर्ने शिल्प-कलाको कमी महसुस हुन्छ । लेखनमा परिपक्वताको पनि कमी महसुस हुन्छ । कवि प्रकाश खड्कामा कल्पना, भावना र विचार यथेष्ट छन् । विषयगत विविधतामा पनि उनको दखल छ । यद्यपि लेखन शिल्प–कला र परिपक्वताको अभावले कविताहरू सशक्त हुनबाट चुकेका छन् । यसमा सुधारका लागि प्रयास गर्नु आवश्यक देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच