साहित्यको कञ्चन महासागर जसले गर्मीमा शीतलता प्रदान गर्छ, जाडोमा न्यानो । निराशामा आशा उमार्छ, आशामा ऊर्जा । दुःखमा सुख प्रदान गर्छ, सुखमा संयमता । श्मशान शान्तिमा विद्रोह बोल्छ, विद्रोहमा सन्तुलनको चिराग । पलायनमा जीवन पालुवा पलाउँछन्, पालुवामा बासनादार पुष्प फक्राइ । यसको प्रवेशद्वार खुल्नु नै जीवनको एउटा सानो आँखीझ्याल देखा पर्नु हो जसबाट मान्छे विराट् विश्वको अर्को सानो क्षितिज आँखाका नानीसामु झुल्काउन सक्छ । यात्राका पाइला टुक्टुकाउँदै जाँदा, फैलाउँदै जाँदा सांसारिक सङ्कीर्ण मोहका, प्यारका, लालसाका बन्धनहरू टुट्दै उद्याम वाटिकाका आरामदायी झुलनवागमा मन्द पवनको मिठास ग्रहण आफू गर्छ, अरूलाई गराउँछ । फैलन नसके पनि अलिकति सच्चाइको चास्नीमा आफूलाई मात्र किन नहोस् सानै होस् तर सिँढीमा रमाउन पुग्छ । यस्तै जीवनका अनेकानेक घरायसी असन्तुष्टि, पेशागत यात्राका बितण्डाबाट आहत भएको मनलाई जीवनगतिमा उभ्याउँदै गरेकी नारी स्रष्टाको छोटै यात्रा किन नहोस् तर उज्यालो अनुहार हो–सिर्जना खनाल ।
साहित्यमा विधागत सिध्दान्तका सामान्य सीमाभन्दा बाहिर कुनै अनुशासन हुँदैन, औपचारिकता हुँदैन, घृणा हुँदैन र आकर्षणको आँखो पनि उघ्रन्न । समता नै सच्चा साहित्यिक सर्जकको एक मात्र संसार हो । मानवता उसको आस्था हो । सङकल्प उसको समाधि हो । यसप्रतिको अटल विश्वास उसको निरन्तरताको कसी हो । अध्ययन सधैँ नानी खोल्ने आँखो हो ।
अहिले नै तीनभन्दा बढी कवितात्मक कृति लिएर नेपाली कवितात्मक साहित्य फाँटमा उदाएकी यिनी‘अङ्कुरित सिर्जना’ शीर्षक फुट्कर कविता सङ्ग्रहमा पहिलो पटक कुस्ती लडिन् । कविताको चोखो रूप, सानो संसार जताबाट आफूलाई जसरी व्यक्त गरे पनि मिल्ने तर सूक्ष्म अनुभूतिको साङ्गठनिक संसार हो यो । समाजलाई समाजव्यवस्थामा रहेका सबै खाले मानिसलाई जुन् कोणबाट ठोके पनि, प्रशंसा गरे पनि सकिने फुट्कर कविता लेखनका चौघेराबाट यिनले आफूलाई उठाउन, सङ्कीर्ण घरभित्रका पारिवारिक बन्धन जहाँ पतिको एक अञ्जुली मुस्कान छ, दुई लाड्ली छोरीका चञ्चलपनका आकर्षण छन्, एउटी नातिनीको तोते मुस्कान र ताते टुक्टुकाइका सीमित संसारबाट अलिकति बाहिर निस्किन् । यसले उनलाई निकै फरक अनुभवको अनुभूतिगत अवस्था आरम्भ गरायो नै । केही नयाँ स्वादको चस्का दियो नै । नत्र थन्किन्थिन् तिनै पति अँगालामा जो अधिकांश विश्वनारी जगत्कै साझा विशेषता बनेको छ । सीमाबध्द हुन्थिन् तिनै पुत्रीद्वयका मोहप्यासका प्यालाभित्र । मख्ख पर्थिन् नातिनीका कलिला ओठ औँलाले हल्लाएर सडकको डुलाइमा जुन् कुराहरू सामान्य मानवलगायत मानवेत्तर प्राणीसम्मले सृष्टिको सुरुदेखि अन्त्यसम्म गरेका हुन्, गरेका छन् र गरिरहने छन् ।
हरेक दुर्घटनाका भित्री गर्भमा सुघटनाका सूक्ष्म सङ्केतक बाजु सङ्गीतका धुन लिएर आएका हुन्छन् बुझ्न सक्यो भने । यिनको पेशाको गति सकारात्मक भएको भए, मास्टरमोहले चौघेरा खुली नै रहेका भए, हेडमास्टरको कुर्सी अनुकुल नै बनिरहेको भए त्यही महिनावारीको मोहजालमा दुईपैसे गफ र भेडाभीडको जमातमा नाकका पोरा फुलाउँदा फुलाउँदै सुक्थिन् यिनी । यसबाट हठात सोच्नै नपाई विदाइको सङ्घार निर्मित हुनु नै उनको कहिल्यै नमेटिने मधुमुस्कानको मोहक ढोका खुल्नु थियो, खुल्यो र नै ‘अङ्कुरित सिर्जना’को आँगनमा नाच्न सफल भइन् यिनी ।
देवी नेपालले उचालेको कलमबाट यिनी चार सिँढीमाथिको ऊर्जामा आइन् भलै यसमा वाद भए, विवाद भए, यी भइरहन्छन्, हुनु अझ राम्रो । भीरमा घाँस काट्दै गरेको मान्छेलाई कसैले विवादको विषय बनाउँदैन । व्यवधानका अग्ला पहाड सामु नउभिई नाघ्ने साहस पनि कसैले बटुल्ने सोच राख्दैन । कतैबाट शिष्ट सम्यक शब्दप्रयोगले हुने थियो मात्र भनिए भने कतैबाट विवेकमा बिर्को लागेका र आफूभन्दा अर्को दुनियाँ नै छैन, भए पनि होइन । आफू हिँडेको र आफूले निर्देश गरेको मार्ग मात्र स्वर्णजडित हो ठान्ने आक्रोशका अनुहारले अनावश्यक ठाउँमा, आदेशमा, आक्रोशका बौछार गरेर विचलित बनाउने दुस्प्रयासका आदेशात्मक अनुहार पनि नदेखाएका होइनन् । तैपनि हिम्मतको छाती उचालेर एकाएक–‘युगपुरुष’ शीर्षक महाकाव्यमा यिनी उचालिइन् । फरक के भयो ? एउटा स्रष्टा व्यक्तित्व जसले विचारको सङ्घार नाघ्ने साहस गर्छ, गरिरहेछ, लेखन अभ्यासको फराक फाँटमा दौडिने हिम्मत गरिरहेछ । त्यो कहिल्यै कहीँ कस्तै अवस्थामा पनि नकारात्मक हुन्छ भन्ने कुरामा म विश्वास गर्न सक्दिन । लयमा, छन्दमा, अलङ्कारमा, बिम्बमा अत्यन्तै खारिएर खेल्न इच्छुक स्रष्टालाई कुन विवेकको मन भएको मान्छेले अवरोध खडा गर्ने साहस गर्न सक्छ ? खोज्नुबाट नै स्पष्ट छ उनीहरूभित्रका मनोलोकमा कुन् जीवको बास छ भन्ने कुरा ।
हो, जीवित व्यक्तिलाई नायक बनाउनु स्तुतिपरक लेखन साहित्यको धारमा पर्छ, परम्परित अन्ध मान्यता हो । भरत जङ्गम विवादित होलान्, पक्षविपक्ष होलान्, उनका आस्था, विचार र यात्रालाई नमान्ने सवालहरू होलान् , उनकै पाटाबाट उनलाई नै गर्न पाइन्छन् । मित्रहरूलाई यो कुरा निश्चय नै थाहा छ- सामाजिक अस्तित्वको स्पेसमा पाइला टुक्टुकाएको कुनै पनि व्यक्ति विवादरहित रहन्न भन्ने कुरा । उनले अर्थात यस महाकाव्यका नायक भरत जङ्गमले सामान्य मान्छेभन्दा फरक काम गरेका छन् वा छैनन् ? महत्व राख्ने कुरा यो हो । पेशाले न्यायक्षेत्रसँग सम्बन्धित सरकारी धार नै भएर पनि निरङ्कुश पञ्चायती कालमा ‘कालो सूर्य’ जस्तो कृति समाजसमक्ष ल्याउनु आफैँमा हल्चलको मानसिकता होइन र ? भ्रष्टाचार विरुध्दका अभियानमा निरन्तर आगो बालेर संस्था नै बन्नु के सामान्य मान्छेभन्दा फरक धारको उपहार होइन ? मेरा अवरोधक मित्रहरूलाई सिर्जना खनालको महाकाव्यका ‘युगपुरुष’का नायक भरत जङ्गमका बारेमा अहिले यत्ति नै भनौँ । धेरै छन् कुराहरू ।
पूर्वीय महाकाव्यिक परम्पराको वक्ष खोतलेर सिर्जित यो महाकाव्य तेह्र सर्गमा सुसज्जित आकर्षक अनुहारमा उभिएको छ । नायक प्रधान अझ भनौँ नायिकाविहीन यस महाकाव्यमा नायकका जन्मकुण्डलीदेखि उत्तराध्र्दको वृध्द वय बेलासम्म गरेका झिनामसिना हुँदै उपल्ला क्षेत्रसम्मका गतिविधिका नालीवेली अनुष्टुप छन्दप्रवाहमा बगेका छन् । शिक्षाका क्षेत्रमा, साहित्यका क्षेत्रमा, राजनीतिका क्षेत्रमा गरेका यावत कामहरूका फेहरिस्त यसमा समाविष्ट छन् ।
कविता सङ्ग्रह, बाछिटा सङ्ग्रह हुँदै महाकाव्यको प्रकाशन गरिसकेका स्रष्टामा वैचारिक उदारता अनिवार्य आवश्यक छ । आन्तरिक खुलापनको टुँडीखेल स्रष्टत्वको मुटु हो । यसका निमित्त जीवन र जगत्को व्यापक सुझ्बुझ अपरिहार्य हुन्छ । साहित्य आफैँमा स्वतन्त्र संसारको आलोक हो ।
दुवै कृतिनायक र सर्जक स्रष्टा पूर्वीय अन्ध आस्थाका समर्थक हुन् । बिहानको समय घण्टौँ मूर्तिपूजामा विश्वस्त भएर समर्पित रहने हुनाले नै यो महाकाव्यको सिर्जना भएको हो । राजनीतिक आस्थाका आधारमा तत्कालीन समयका राजावादी नायक र लहैलहैमा नै भए पनि एमाले समर्थक स्रष्टा दुवैका बिचको आकर्षक विन्दु धार्मिक धरातल नै बलियो भएर देखापरेको पाइन्छ । अपरिचित अवस्थामै नायकले कुनै देवस्थलको धार्मिक प्रवचन दिएका समयमा स्रष्टा स्रोताका लहरको संयोग जुट्नु महाकाव्य लेखनको जग हो । आकर्षणको आभा उत्पन्न भएपछि स्रष्टाले नायकका राँैचिरा केलाउन गरेका अध्ययन, खोलेका पाटाहरू न्यायिक हुन् वा कानुनी, साहित्यिक हुन् वा सामाजिक, धार्मिक हुन् वा सहयोगी, प्रशस्तीका हुन् वा वस्तुतामा आधारित जम्मै वाचिक र आनुभविक नभएर कार्यिक यथार्थमा आधारित छन् । चाहे पशुपतिका विवाद हुन्, चाहे महादेवका मूर्ति स्थापना सम्बन्धी विवाद, चाहे नायकलाई राष्ट्रिय घेरामा गरिएका आन्तरिक सम्मानहरू हुन् चाहे अन्तराष्ट्रिय क्षेत्रमा गरिएका मानसम्मानहरू सबै विस्तारपूर्वक यसमा झल्काइएका छन् । संयोगान्त भएकाले र जीवित व्यक्तिलाई नै नायकत्व प्रदान गरिएकाले पारिवारिक घटना विशेषका दुखद् सन्दर्भमा करुण रसको आविर्भाव भए पनि छिट्पुट् वीर रस आभासित शान्त रसको नै व्यापकता यसमा रहेको छ ।
विद्यालयको जागिरे पेशाबाट हठात् फालिन विवश एउटी नारी जीवन विसर्जनको वीभत्स यात्राबाट रोकिएर सिर्जना संसारमा पौडी खेल्दै समाजमा भएका मध्ये एक पाइलो भए पनि अग्रपङ्क्तिमा नै रहेको व्यक्तित्वको नसा छामेर अक्षरको खेतीमा समाहित हुनु आफैँमा गौरवको कुरा हो । साहित्यकाृ कखरामा मात्र प्रवेश गरेको एउटा स्रष्टाका सामु जुनसुकै प्रभावले होस्, जस्तासुकै आकर्षणले होस्, जानेर होस् वा नजानेर फुट्कर कविताका सानामसिना सीमाबाट उफ्रेर मुक्तक, गजल, कोपिला, बाछिटा जस्ता नियमबध्द सीमाका बन्धन तोडेर महाकाव्यका फराक फाँटमा उक्लिँदै म्याराथुनको विजय चुम्नु स्रष्टत्वको विजयी शिखर यात्रा भएकामा तटस्थ न्यायाधीशका लागि कुनै शङ्का छैन ।
कविता सङ्ग्रह, बाछिटा सङ्ग्रह हुँदै महाकाव्यको प्रकाशन गरिसकेका स्रष्टामा वैचारिक उदारता अनिवार्य आवश्यक छ । आन्तरिक खुलापनको टुँडीखेल स्रष्टत्वको मुटु हो । यसका निमित्त जीवन र जगत्को व्यापक सुझ्बुझ अपरिहार्य हुन्छ । साहित्य आफैँमा स्वतन्त्र संसारको आलोक हो । घरको सीमा, आस्थाको सीमा, पारिवारिक मोहको सीमा, वर्गीय राजनैतिक रङ्गको सीमा, हुलमा निस्केर क्षणभर सडकमा नाच्दै आत्मतुष्टिमा रमाउनुको सीमाबाट मुक्त भएर आन्तरिक साधनाका शयनमा समाधि कस्नु सच्चा स्रष्टत्वका सम्भावित सफलताका स्वच्छ अनुहार हुन् । कसैले नकारात्मक कुरा गर्यो खिन्न हुने, कसैले ललीपपजस्ता शब्द ओठले फुकाइदिदैमा तीनबित्ताको खुसी छर्ने, परिवारका घेरामा प्रशंसाका रङ् पोतेर महत्तम समय समाप्त गर्नेजस्ता दुर्गुणबाट साहित्यिक स्रष्टा जो साँच्चै स्रष्टा बन्न चाहन्छ ऊ सधैँ टाढा रहनु पर्छ ।
साहित्यमा विधागत सिध्दान्तका सामान्य सीमाभन्दा बाहिर कुनै अनुशासन हुँदैन, औपचारिकता हुँदैन, घृणा हुँदैन र आकर्षणको आँखो पनि उघ्रन्न । समता नै सच्चा साहित्यिक सर्जकको एक मात्र संसार हो । मानवता उसको आस्था हो । सङकल्प उसको समाधि हो । यसप्रतिको अटल विश्वास उसको निरन्तरताको कसी हो । अध्ययन सधैँ नानी खोल्ने आँखो हो । यसप्रति स्रष्टा सिर्जना खनालको ध्यान जावस् । तीनचार पाइला मात्रमा जीवन हुन्न । यो टुक्टुकाइको, बामे सराइको सुरु समय मात्र होृ । अध्ययनका आगामा नखारिई चेतनाको दीप्ति निरन्तर बल्न सक्दैन । अहिलेसम्मको यात्रालाई साधुवाद भन्दै स्रष्टा सिर्जना र नायकको भूमिका निर्वाह छनोटमा पर्ने सौभाग्य पाएका भरत जङ्गम दुवैलाई साधुवाद दिँदै कलम बन्द गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच