
कलानिधि दाहाल
प्रकृति र नारी एक अर्काका परिपूरक हुन् । राजनीतिक रूपले घोक्रा फुलाउनेहरू जति चिच्याउन्, जति उफ्रुन्, समानताका नारा दिएर त्यो उनीहरूको क्षणिक वर्गीय स्वार्थपूर्तिको उन्मादमात्र हो । त्यसको उलामालामा लागेर स्रष्टाले कहिल्यै आफूलाई उत्तेजित गर्नुहुन्न ।
पहिलेदेखि नै अझ बढेर राजनीतिक क्षेत्रको जामपन्थी आवाजले नारी स्रष्टाहरूलाई गलत दिशातिर उचालिरहेको छ- नारीपुरुष एक हौँ भन्ने नाराले । नारी नारी नै हुन्, पुरुष पुरुष नै हुन् । एक हुन्छ कसरी ? एक हुने भए त अलग शब्द नारी र पुरुष भन्नुपर्ने नै थिएन । सामान्य चेतनामात्र खुलेको मानिसले पनि विश्वास गर्न नसक्ने कुरामा बडेमानका डिग्रीका गगल्स भिर्नेहरू पनि मञ्चमा उभिएर एकालापका नारा ओकलेको सुन्दा र तिनै नारालाई दर्शकदीर्घाबाट तालिका बौछार पस्केको देख्दा स्रष्टाहरू सजग रहनुपर्ने समयसामु सान्दर्भिक बनेर उभिएको छ वर्तमानमा ।
नारी शालिनताकी प्रतिमूर्ति हो, सही मर्म बुझेर आफूलाई जीवनयात्रामा लगाउन सके सिर्जनाकी सशक्त खानी पनि । कोमलताका ज्यादा मात्राले भिजाएर कठोरलाई आत्मसात गर्दै सिर्जनाका संसारमा मै हुँ भन्ने पुरुषसम्मलाई चुनौती दिन आफन्तका घेरा तोडेर संस्थामा खडा गरिएका साइदुवाका नाकमा औँला ठड्याउने हिम्मतको संयमता पनि आर्जन गर्ने हो भने, सफल नारी स्रष्टाको नाम हो- कवि रश्मि भट्ट ।
कविताका-गद्य/पद्य दुवै विधामा सशक्त रूपले निरन्तर कलम चलाइरहेकी रश्मि भट्टसँग अद्भूत गद्यकवित्व चेतनाको भण्डार रहेको पाउन सकिन्छ । गद्यकवित्व चेतनाभित्र जुन् र जति उचाइ अवस्थित छ त्यो उचाइ यिनका बोली, व्यवहार र वार्ता एवं कर्म गराइमा निकै साँघुरो भएर खुम्चन्छ- यो दुःखद् कुरा हो ।
गोरखामा जन्मी अमेरिकालाई कर्मस्थल बनाउँदै आएकी रश्मि भट्टका तीन कृतिहरू नेपाली साहित्य भण्डारमा प्रकाशित भएर आइसकेका छन् । अझ अर्को कृति तर दशजनाको मिलनबिन्दुमा प्रकाशित भएको संयुक्त कविता सङ्ग्रह त सुरु सङ्घारकै रूपमा देखिन्छ । कविताका-गद्य/पद्य दुवै विधामा सशक्त रूपले निरन्तर कलम चलाइरहेकी रश्मि भट्टसँग अद्भूत गद्यकवित्व चेतनाको भण्डार रहेको पाउन सकिन्छ । गद्यकवित्व चेतनाभित्र जुन् र जति उचाइ अवस्थित छ त्यो उचाइ यिनका बोली, व्यवहार र वार्ता एवं कर्म गराइमा निकै साँघुरो भएर खुम्चन्छ-यो दुःखद् कुरा हो । असल स्रष्टत्व उचाइले यी र यस्ता दुर्गुण हुर्कन दिनु हुन्न । सम्भवतः यो पारिवारिक सीमाको सौजन्य पनि हुनसक्छ । आफू खला रूपमा पोखिने साथीसँगाती वा विद्वद् व्यक्तिहरूका अभावले पनि हुनसक्छ ।
कवितात्मक चेतना हरेक स्रष्टाको प्रथम बुल्बुलको मानसरोवर हो जहाँ कोमल भावनाका कलरव बोक्ने चरीहरू चिर्बिराउँछन् । रश्मि भट्टका सर्जक चेतनाका प्वाँख पनि यसै विन्दु विशेषबाट पलाएका पाइन्छन् । स्रष्टत्वको खुला आकाशमा फट्फटाउने क्षमताशील ऊर्जा पनि आँकी नसक्नु हिसाबले यिनको यसमा नै विद्यमान छ भलै यिनमा आख्यानात्मक अर्को ऊर्जाक्षमता पनि नभएको चाहिँ पटक्कै होइन । एक कथा सङ्ग्रह पनि यिनले साहित्य बजारमा सुम्पिसकेकी छिन् । पहिलो कथासङ्ग्रहमा नै यिनले आख्यानीकरणको सुन्दर सीप, कलात्मक प्रस्तुति, कथावस्तुको मिठो संयोजन, कथोपकथनको राम्रो तालमेल पात्रपात्राका बीचमा गराएर कुशल कथाकारको क्षमता देखाइसकेकी छिन् । पारिवेशिक माहोल अनुरूप खप्पिस कथाकारिताको सन्तुलन यिनमा रहेको पाउन सकिन्छ ।
डायस्पोरिक स्रष्टत्वको सच्चा उछाल यिनको कवित्व लेखनको मुटु हो, लेखन मुटु । बाहिर बसेर नेपाली कविता लेखनमा कलम चलाउने कविहरू, कथालेखनमा घुँडा धस्ने कथाकारहरू, निबन्धमा दौडिने निबन्धकारहरू देशप्रतिका शाब्दिक आँसु कृत्रिम तरिकाले चुहाएर रमेका छन् । आमाका गीत गाएर झुमेका छन् ।
पत्नीबिलौनामा व्यथित भएका छन् वा पतिवियोगका शब्दओच्छ्यानमा सुतेका छन् । यिनै अनुभूतिलाई हाम्रा घनटाउके समालोचकहरू डायस्पोरिक साहित्यलेखन भनेर घोक्रा सुकाउँछन् । स्रष्टाहरू मख्ख परेर डलरका पोका फुकाउँछन् । गलत व्याख्याको र बाटो निर्माणको समन्वयक पनि सायद यही फुकाइ हुनसक्छ । वास्तविक अर्थमा यो डायस्पोरिक साहित्य लेखन होइन, हुनै सक्दैन । एक ठाउँबाट जे जस्ता कारणले होस् अर्को ठाउँमा पुगेको स्रष्टाचेतले फ्ल्यासब्याक अर्थात् अतीततिर फर्केर छाडेकै ठाउँको, समाजको, वातावरणको चित्रणमा रमाउँदै लेखिने साहित्य डायस्पोरिक हुन सक्दैन ।
पुगेका ठाउँको, वातावरणको, कर्मशृङ्खलाको र कार्यपीडा वा हषोल्लासमय सामयिक मनोदशाको मार्मिक चित्रण चाहिँ डायस्पोरिक हो । केही अपवादलाई छाडेर डायस्पोरिक लेखनको सच्चा अनुहार हेर्ने हो भने यिनै गोर्खे चेली रश्मि भट्टको–‘युगका आवाजहरू’ मुक्त वा गद्य कविता सङ्ग्रह जो कविताकृतिका अनुपातमा भीमकाय पनि छ लाई हेर्नु पर्दछ । जन्मस्थल छाडेर, मातृममत्वको सगरमाथामाथ नचाहँदा नचाहँदै इन्कार गरेर परदेश परपीडाको अन्तर ज्वलन बाली विदेशिन विवश नेपाली चेली कसरी बोल्छे अमेरिकाको बीचसडकमा भन्ने उच्च डायस्पोरिक चेतनात्मक उछाल छाम्न, छुन र बुझ्न गोर्खे चेली रश्मि भट्टको युगका आवाजहरू शीर्षक कवितासङ्ग्रहका जुनसुकै त्यसमा पनि ‘लुटिएका अस्मिता’ र ‘न्युओर्क’ भित्र गम्भीर रूपले छिरे पुग्छ ।
यता वा नेपालमै अथाह चेतना अर्जित गरिसकेका, कवित्व/साहित्यिक फाँटमा समेत स्थापित भइसकेका कवि/साहित्यकारहरू भौतिक लालसाका भीख माग्न, श्रम गर्न होइन, श्रम त यतै प्रशस्त थियो, छ उनीहरूका लागि विदेश छिर्छन्, पाएसम्म अमेरिकातिर । त्यहाँ उनीहरूले गरेका दुःख, भोगेका पीडा, सहनु परेका उत्पीडन, गुजार्नु परेका अन्तर आर्तनादका सुस्केराहरू, सुसेली र सङ्गीतलाई जीवन्त रूपमा व्यक्तिकृत भएका सिर्जनात्मक उछाल मात्र डायस्पोरिक हुन् । अधिकांश प्रवासमा रहेका वा विदेश छिरेका साहित्यकारका सिर्जनामा यी मर्म पाइन्नन् तर रश्मि भट्ट यसकै मुटुबाट सिर्जनाको मुख खोल्छिन् ।
रश्मिको चामत्कारिक कवित्वचेत यिनका कृतिका कवितामा एक न एक प्रकारले परिव्याप्त छ । कवित्वचेतको उचाइ जस्तै समाजसमक्ष प्रस्तुत हुने स्वभावमा, जिब्रोबाट उच्चरित हुने बोलीमा, व्यवहारमा गरिने समतामा, अनुभूतिगत हुनै पर्ने चौडापन वा व्यापकताको भने यिनमा अभाव छ ।
गोर्खे चेली रश्मि भट्टको लेखनशिल्प यसको सच्चाइमा सजीव ढङ्गले उभिएको छ । युगका आवाजहरू नामक दुई सय नब्बे पृष्ठको आयतन ओगट्ने यस कविता सङ्ग्रहभित्र फुट्कर मुक्त कविताहरू रहेका छन् । गद्यकवित्वचेतका छरिता बान्कीमा रहेका केही कविताले डायस्पोरिक मर्मबोध राम्ररी गराएका छन् । विदेशमा गएर भोग्नुपरेका मानवीय यातनाका चिरफार गरेका छन् । अपरिचित मुलुकमा भाषागत अस्पष्टता, स्थलगत अस्पष्टता, सांस्कारिक अस्पष्टता, सांस्कृतिक अस्पष्टता हुँदा कुहिरामा हराउन खोजेको काग जस्तै बनेर छट्पटाउनु परेका क्षणलाई संवेदित ढङ्गले चित्रण गर्न सक्नु जन्मजात प्राप्त प्रातिभ वरदान हो । सानो उदाहरण हेरिहालौँ ‘जेब्राक्रस र म’ शीर्षक कविताबाट-
शक्तिशाली बनेर
यिनलाई छली हाल्न पनि
सक्दिन म
पर्खिरहन पनि
चाहदै चाहन्न म
कति हतार छ
गन्तव्य पुग्न मलाई
अड्कलेको समय
स्वाट्टै निलिदिन्छ ।
धोती र टोपी, गुन्यु र चोलो राष्ट्रियता भनेर मख्ख पर्ने, तिनकै लम्मेतान बाहिरी वर्णनमा नाकका पोरा फुलाएर रमाउने साना मन, छुद्र बुद्धि, अन्धपरम्पराको बाक्लो सिरक ओढेर बसेका नेपाली फुर्ति लगाउँछौँ जय नेपाल भन्दै । भन्नु पर्नेहरू चाहिँ जय रुपैयाँ भन्दै सत्ताका आसनमा शासनका सिङ् फिजाएर भ्रष्टाचारका खेतीमा बिचौलियालाई खेताला बनाउँछन् । ठीक उल्टो विश्वलाई शासन गर्ने अमेरिकामा को छ अमेरिकन ? कुन छ पोशाक ? कसका ओठमा जय अमेरिका नारा लाग्छ ? उत्तर सहज छ । रश्मि उत्तर दिन्छिन्- सत्ताका शासकमा जय अमेरिकाका नारा गुञ्जन्छन् ।
त्यसभन्दा तल दृश्यमा आँखाका सामु चाइनिजहरू नाच्छन्, स्पेनिसहरू मुस्कन्छन्, जाप्निजहरू डल्ले कदमा लम्कन्छन्, रसियनहरू आफ्ना सौन्दर्य फैलिन्छन्, पोल्याण्डीहरू चट्ट उभिन्छन्, नेपालीहरू अङ्कमाल गर्छन्, हिब्रुहरू हत्केला हल्लाउँछन् । चाहे न्यूवोर्कको अग्लो छतमा उभिएर हेरौँ, चाहे ओहायोका किनारामा पाइला राखेर । समग्र विश्व मुछिएको छ एउटै गिलासमा सर्वतझैँ । समग्र विश्वभाषा गुजुमुज्ज भएर लामबद्ध छन् विशाल पुस्तकालयका कृतिका पानाहरूझैँ । यो जीवन्त चित्रण रश्मिले ‘न्युओर्क’ शीर्षक कवितामा गर्दै पिल्लरका सीमामा रमाउने, धर्मका अन्धतामा आँखा घुमाउनेहरूलाई कलात्मक आकर्षक व्यङ्ग्य झटारो हानेकी छन् ।
रश्मिको यो चामत्कारिक कवित्वचेत यिनका यस कृतिका पचासीवटै कवितामा एक न एक प्रकारले परिव्याप्त छ । कवित्वचेतको उचाइ जस्तै समाजसमक्ष प्रस्तुत हुने स्वभावमा, जिब्रोबाट उच्चरित हुने बोलीमा, व्यवहारमा गरिने समतामा, अनुभूतिगत हुनै पर्ने चौडापन वा व्यापकताको भने यिनमा अभाव छ । यो आउनै पर्छ नत्र सिर्जनामा उचाइ भएर पनि स्रष्टा विवादित रहन्छ माधव घिमिरे जस्तै, सम जस्तै, भीमनिधि जस्तै, हरिहर शास्त्री जस्तै लेखन माथि स्रष्टा तल खस्छ । रश्मिको यसभन्दा अगाडि प्रकाशित पद्य कविता सङ्ग्रहमा यी कसमसहरू छन् । पुरान अन्धविश्वासका घाउहरू छन् । राष्ट्रभक्तिका खाटाहरू छन् ।
मातृदेवो, पितृदेवो, देवो देवोका बाछिटाहरू छन् । ठीक उल्टो यस सङ्ग्रहका केही अपवादलाई छाडेर सम्पूर्ण कविताहरू कञ्चन झर्नाका रूपमा छङ्छङाएका छन् । कारण सच्चा स्रष्टत्वमा न कुनै धर्म हुन्छ, न कुनै देश । न कुनै जात हुन्छ, न कुनै बाबुआमा, न कुनै देवीदेवता । विराट् विश्व एउटा घर हो । मानवता नै उसको धर्म, जात, ईश्वर, बाबुआमा सबै हो । यस दिशामा वैचारिक चौडापनको आविर्भाव सिर्जनामा त छँदै छ व्यक्ति रश्मिमा पनि जन्मियोस् । यही शुभकामनाका साथ कलम बन्द गरेँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच