मेरो हिमालय टाइम्ससँगको सम्बन्ध सूत्र र कारक भनेको प्राध्यापक पुरुषोत्तम दाहालको हिमालय टाइम्समा प्रधान-सम्पादकमा भएको नियुक्ति हो । मलाई सम्झना छ २०७७ साल असार महिनामा हो आत्मीय मित्र दाहालको फोन आयो । फोनसँगै उहाँले हिमालय टाइम्समा म प्रधान–सम्पादक भएको छु भन्ने सुखद समाचार पनि पाएँ । अब आगामी दिनमा हिमालय टाइम्सको विचार शीर्षकमा प्रकाशित हुने हप्ताको एउटा लेख लेख्न अनुरोध गर्नुभयो । यी भनाइहरूपूर्व मेरा पनि अत्यन्तै नजिकका चिरपरिचित साथीहरूलाई यसअघि लेख्न अनुरोध गरेको तर असमर्थता व्यक्त गरेको नामनामेसीसमेतको जानकारी पनि गराउनुभयो ।
पुरुषोत्तमजी राजधानी दैनिकमा प्रधान-सम्पादक हुँदाका बखत सायद त्यो पचासको दशक हुनुपर्छ त्यस समयमा पनि राजधानी राष्ट्रिय दैनिकमा समसामयिक विषयहरूमा मेरा थुप्रै आलेखहरू प्रकाशित भएका थिए । अन्य पत्रपत्रिकाहरूमा पनि मेरा आलेखहरू प्रकाशन भएको पुरुषोत्तमजीलाई जानकारी भएको विषयले नै उहाँले मलाई लेख्न अनुरोध गर्नुभएको हो । उहाँले म जस्तो पुरानो र आत्मीय मित्रलाई अनुरोध गर्ने विषय स्वाभाविकै पनि हो । त्यो विश्वासलाई मैले आफ्नो पुँजी सम्झेको छु । तसर्थ मैले उहाँको अनुरोधलाई सकार्न अप्ठ्यारो हुँदाहुँदै पनि नकार्न भने सकिन ।
मैले सुरुवातमा त लेखनको काम छुटेको धेरै भएकाले यो झन्झट किन गर्ने भन्ने सोचले नकारात्मक उत्तर पनि दिएँ तर पुरुषोत्तमजीले लेख्ने बानी छुटेका कारण त्यस्तो अनुभूति भएको हो । लेख्न सुरु गर्नासाथ लेख्ने बानी स्वतः पुनस्र्थापितमात्रै होइन विकास पनि हुन्छ भन्ने भनाइले म नकार्न सक्ने अवस्थामा पनि भइन । त्यसपछि लेखन आफैं नियमित हुने र परिष्कृत हुँदै जाने विषयहरूबारे हामीबीच सिर्जनात्मक वार्तालाप भयो । बेला थियो कोरोना महामारीको । त्यसबखत कोरोना महामारीका कारण बाहिर हिँड्डुलमा राज्यले प्रतिबन्ध लगाएको समय भएको हुनाले घरभित्रै नजरबन्द हुनुपरेको अवस्था थियो । मानिसको मनमस्तिष्कमा मृत्यु घुमिरहेको थियो । त्यो अवस्थामा सिर्जनामा मन र मस्तिष्क प्रवेश नै गर्न नचाहने अनौठो अवस्था थियोे ।
लेख्दिन भनेको भए के हुन्थ्यो भन्ने विचार पनि मनमा बारम्बार विचरण नभएको होइन । त्यो मिति टरिसक्यो । अब म गर कि मर भने जस्तै लेख कि मरको परिस्थितिमा पुगेँ । होइन अब कोसिस गर्छु भनेपछि मैले लेख्नैपर्छ भन्ने मनोविज्ञान बलशाली बनाउने प्रयत्न पनि गर्दै छु ।
मानिसमात्रै होइन मस्तिष्कसमेत नजरबन्दमा थियो । कोरोनाबारे त्रासदीपूर्ण समाचारहरूका कारण अब बाँच्न पनि धौ–धौ भएको बेला भएकाले सिर्जनशीलतालाई नै कोरोनाले अपहरण गरेको अवस्थामा यो जिम्मेवारी किन लिने भन्ने मानसिकताले मैले सुरुमा नकारात्मक उत्तर दिएको हुँ । त्यस समयमा कोरोनाको संक्रमणबाट के बच्न सकिएला र भन्ने मनस्थितिको शिकार भएको अवस्था र मनोविज्ञानलाई जस्ताको त्यस्तै शब्दमा व्यक्त गर्न अहिले म सक्ने अवस्थामा छैन ।
वार्तालाप सकियो तर अब लेख्ने चुनौती र जिम्मेवारीले मन र मस्तिष्क दुवै गहु्रंगो भयो । हिजो कागजमा लेखेर चिठ्ठीका माध्यमले त्यहाँ पुग्थ्यो । टाइप गर्ने र प्रकाशित गर्ने जिम्मेवारी पत्रपत्रिकाको नै हुन्थ्यो । समय बदलिएको मात्रै छैन मूल्यमान्यता, गतिविधि, कार्यशैली आदि सबैमा भएको परिवर्तनको प्रभाव लेखनमा समेत परेको छ । आफूलाई टाइप गर्न नआउने विषयले अब विशेष छट्पटी सुरु भयो ।
कलमले लेखेर अर्कोलाई कम्प्युटरमा टाइप गर्न दिने विषय पनि खर्चिलो र झन्झटिलो भएको कुराले मनमा चिन्ता उत्पन्न हुने विषय स्वाभाविकै भयो । फेसबुक चलाउँदा केही आफ्ना विचारहरू स्ट्याटसका रूपमा नेपालीमा लेखेर सार्वजनिक गर्ने गरेको थोरै अनुभव छ । त्यो अनुभव अपूरो छ भन्ने पनि हेक्का छ । अब त्यसलाई नै उपयोग गरेर लेख लेख्न थाल्नुबाहेक मसँग अन्य कुनै उत्तम विकल्प त्यसबखत थिएन । म कोसिस गर्छु भन्ने वाक्यले मलाई छट्पटीको सुरुवात भयो । अब एउटा आलेखमा शब्द सीमा कति हो, त्यो पनि थाहा छैन । फेरि स्तरीय हुन्छ कि हुन्न भन्ने चिन्ता फेरि छुट्टै छ । कोरोनाको मनस्थितिले मानसिकरूपमा कमजोर भएको अवस्थामा अभिव्यक्ति पनि बिर्को पूरै नखुलेको भाँडोबाट सामान झिक्न जस्तै लेख्ने विषयवस्तु खोज्न कठिनाइ उत्पन्न भयो ।
लेख्दिन भनेको भए के हुन्थ्यो भन्ने विचार पनि मनमा बारम्बार विचरण नभएको होइन । त्यो मिति टरिसक्यो । अब म गर कि मर भने जस्तै लेख कि मरको परिस्थितिमा पुगेँ । होइन अब कोसिस गर्छु भनेपछि मैले लेख्नैपर्छ भन्ने मनोविज्ञान बलशाली बनाउने प्रयत्न पनि गर्दै छु । विविध सोच, द्वन्द्व, कमजोरी र वचनप्रतिको प्रतिबद्धतालाई पूरा गर्नुपर्छ भन्ने भावनालाई प्रबल बनाउँदै अब लेख लेख्न सुरुवात गरेँ । लेखनले अध्ययन गर्न बाध्य बनायो । त्यसले कोरोनाको त्रास बिर्सनलाई सहयोग गर्यो ।
२०७७ साउनको पहिलो मंगलबारबाट सुरुवात भएको स्तम्भ लेखनको यात्राले आजका दिनसम्म निरन्तरता पाइरहेको छ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट अवकाश प्राप्त गरेपछि मैले समयलाई तीर्थाटनका अतिरिक्त ऐतिहासिक, पुरातात्विकलगायत देशविदेशका दर्शनीय स्थलहरूको अध्ययन भ्रमणमा समयलाई धेरै उपयोग गर्दै आएको छु । त्यसरी घुम्दा, डुल्दा र हिँड्दा पनि यो लेखनको नियमिततालाई कायम गर्ने विषयमा कसैसँग कहिल्यै पनि सम्झौता गरेको छैन । कतिपय अवस्थामा सँगै गएका साथीहरूसँग घुम्ने रहरलाई केही समय परित्याग गरेको छु । घुम्दा, डुल्दा, हिँड्दा लागेको थकाइलाई बेवास्ता गर्दै लेखनमा जुटेको छु । कति रात नै निद्रालाई माया मारेर लेखनलाई प्राथमिकता दिएको छु ।
यसले कहिलेकाहीँ शारीरिक स्वास्थ्यलाई भन्दा लेखकीय मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदा भोग्नुपर्ने तितामिठा अनुभव र अनुभूति पनि अनगिन्ती जम्मा गरेको छु । कृषकले दस कर्म जस्तो कठिन अवस्था पूरा गरेर उत्पादन गरेको अन्न जस्तै शारीरिक र मानसिक श्रम प्रत्येक लेखमा पनि हुन्छ भन्ने कुरा पत्रपत्रिकाका व्यवस्थापनसँग सम्बन्धित सबैले बुझ्नुपर्ने विषयहरू हुन् । यस क्षेत्रमा कार्यरत जनशक्तिले शोषणको अनुभव गरेको त छैन भन्ने अध्ययन अनुसन्धान र खोजको जिम्मेवारी र दायित्व सरकारको हो तर सरकारसँग यस्ता विषयहरूमा ध्यान दिने ज्ञान कहिले आउला जस्ता विषयहरूलाई विषयवस्तु बनाएर लेख्ने काम नहुँदा यो क्षेत्रमा लाग्नेहरू निकट भविष्यमा शोषणमुक्त हुने सम्भावना कम छ ।
शोषण र उत्पीडनका विरुद्धमा सशक्त आवाज उठाउने गहनतम जिम्मेवारी निर्वाह गर्ने कलम आफैं शोषित र उत्पीडित भयो भने तिनीहरूको आवाज स्वतः कमजोर हुन्छ भन्ने गहिराइमा हाम्रो समाज र सरकार कहिले पुग्ला भन्ने विषयवस्तु अब छलफल र बहसको विषय बन्नुपर्छ । गोरुलाई पेटभरि खान नदिइकन जोत्नु अपराध हुन्छ भन्ने विषयमा राज्य सञ्चालकहरूको ध्यान यत्रतत्र सर्वत्र जानुपर्छ । त्यस दिनको पर्खाइमा नेपाली कलमजीवीहरूले कति प्रतीक्षा गर्नुपर्ला ? यो अहिले हामी अनुमान पनि गर्न सक्ने अवस्थामा छैनौँ । विश्वविद्यालयलगायत अन्य क्षेत्रका अवकाश प्राप्तहरू पनि अवकाश प्राप्त जीवनलाई क्रियाशील बनाउन र समाजलाई सेवानिवृत्तहरूले पनि योगदान गर्न सक्छन् भन्ने सन्देश दिने जिम्मेवारीबाट सेवानिवृत्तहरू पन्छनुहुन्न ।
त्यसैले राज्यले सेवानिवृत्तहरूलाई केन्द्रीकृत गरेर लेखनलगायतका अन्य प्रशिक्षणको व्यवस्था गर्न सके यसले समाजलाई क्रियाशील हुन र समयको सदुपयोग गर्न उत्प्रेरित गर्ने वातावरण बन्न सक्यो भने विकास र समृद्धिको पूर्वाधार तयार हुने विषयमा कसैको विमति हँुदैन ।
लेखकीय जिम्मेवारीमा रहँदा विविध विषयवस्तुहरूमा कलम चलाउनुपर्छ भन्ने सोच स्वतः विकसित हुँदै जाने रहेछ । अब यात्रामा हुँदा खड्केका विषयहरू, अनुभवहरू र स्थानविशेषका विशेषताहरूलाई सम्प्रेषण गर्ने काम सुरुवात गर्दा त्यसको प्रतिफल सकारात्मक देखियो । यसलाई पाठकहरूले आफू नगएको र जानेसमेत सम्भावना कम भएका स्थानहरूको विकास, जनजीवन, भूगोल, संस्कृति, संस्कार आदि विषयहरूमा पढ्न, बुझ्न र जान्न पाउने विषयहरू अत्यन्तै रुचिकर भएको कुरा पाठकहरूका प्रतिक्रियाहरूबाट जानकारी र ज्ञान भएकाले घुमफिरका क्रममा भोगेका, देखेका र अनुभव गरेका विषयवस्तुहरू पनि लेखनको विषयवस्तु बनाउने अभ्यास सुरु गरेँ ।
हिमालय टाइम्सले प्रजातान्त्रिक शासनलाई सुदृढ, सक्षम र प्रभावकारी बनाउन आफ्नातर्फबाट गर्न सक्ने सम्भावनाहरूलाई इमानदारीपूर्वक निर्वाह गर्न आगामी दिनमा महत्वपूर्ण भूमिका खेलोस् । हाम्रो शुभकामना ।
भर्खरै मात्रै करिब-करिब सात महिना अष्ट्रेलियाको बसाइका क्रममा त्यहाँको विकास, जनजीवन, प्रचलन, हावापानी, वनस्पति, भूगोल, चराचुरुंगी, पशुपालन, मानव अधिकार, पशु अधिकार, सडक अनुशासन र व्यवस्था जस्ता विविध विषयहरूमा थुप्रै लेखहरू सम्प्रेषण गर्ने अवसर हिमालय टाइम्सले दियो । यस्ता लेखहरूलाई पाठकहरूको सकारात्मक प्रतिक्रियाले रुचिकर प्रमाणित भएकाले घुम्दा, डुल्दा नयाँ ठाउँ, जनजीवन, विकास र भूगोल जस्ता विषयहरूलाई प्रस्तुत गर्दा लेख्ने नयाँ विषयवस्तुहरू घुमघामकै क्रममा प्राप्त हुने हुँदा निरन्तरतालाई यस्ता विषयवस्तुहरूको छनोटले भरथेग गरेको छ ।
अहिले नेपाली पत्रपत्रिकामा प्रकाशित हुने लेखहरूको विषयवस्तु भ्रष्टाचार, अनियमितता, भाइभतिजावाद, अपराध, अपवित्र क्रियाकलाप, घोटाला, मिसावट, चोरी निकासी पैठारी, भन्सार छली जस्ता विषयवस्तुहरू समाचार र लेखनमा प्राथमिकतामा पर्छन् । यस्ता विषयवस्तुहरूले नागरिकको रचनात्मक, सिर्जनात्मक, अन्वेषणात्मक, अनुसन्धानात्मक मानसिकता र मनस्थितिलाई नकारात्मक प्रभाव पारेका कारण समाचार र स्तम्भले सिर्जनात्मक, उत्प्रेरणात्मक विषयवस्तुहरू प्राथमिकतामा नै परेनन् भने हाम्रो उत्थान कसरी हुन्छ ? यसका लागि राजनीतिमा नैतिकता, अनुशासन, जवाफदेही र इमानदारी अनिवार्य विषयहरू हुन् ।
राजनीतिले विकास र सिर्जनात्मक, अनुसन्धानात्मक, अन्वेषणलाई उच्च प्राथमिकता दिने नीति, कार्यक्रम र मनस्थितिबिना सुधार र विकास असम्भव हुन्छ । सञ्चारको भूमिका र महत्व सर्वाधिक छ । यो क्षेत्र पनि जिम्मेवार बन्नुपर्छ । आफू गैरजिम्मेवार हुने राज्यका अंगहरूलाई जिम्मेवार हुन गर्ने खबरदारीको अर्थ छैन । आफूले कठोर अनुशासनको पालना नगरीकन अरूलाई अनुशासित बनाउँछु भन्नु भनेको हाम्रो राजनीतिले कानुनी व्यवस्था कायम गर्छु भने जस्तै हो । प्रजातान्त्रिक पद्धतिलाई उत्कृष्ट पद्धति बनाउने मुख्य भूमिका अदालत र मिडियाको हुन्छ । के सबै मिडिया र सबै न्यायाधीशहरूले यसलाई आत्मसात गरेका छन् ?
हिमालय टाइम्सले प्रजातान्त्रिक शासनलाई सुदृढ, सक्षम र प्रभावकारी बनाउन आफ्नातर्फबाट गर्न सक्ने सम्भावनाहरूलाई इमानदारीपूर्वक निर्वाह गर्न आगामी दिनमा महत्वपूर्ण भूमिका खेलोस् । हाम्रो शुभकामना । नेपालमा रहेका ठूला मिडियाहरूले खेल्नुपर्ने भूमिकाहरूमा कसरी उत्कृष्ट हुन सकिन्छ भन्ने विषयलाई हिमालय टाइम्सका सबै अंगहरूले प्रकाशनका माध्यमले असल भूमिका निर्वाह गरेको अनुभूति नेपाली जनताले गर्न पाऊन् । यस कार्यमा पुरुषोत्तम दाहालको सक्रिय र गुणस्तरीय नेतृत्वमा हिमालय टाइम्ससँग जोडिएका सबैले गौरवान्वित भएको अनुभूति गर्न पाउने वातावरण बनोस् । हाम्रो शुभकामना !
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच