
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको सांघातिक आक्रमणको सर्वत्र विरोध भएको छ । त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गर्नुभएको थियो । सहकारी पीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा बुधबार उहाँमाथि आक्रमण भएको थियो । कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ । त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसी पक्राउ परेका हुन् । प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक गंगा पौडेलका अनुसार उनलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । साथै, अन्य संलग्नको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ । त्रिपाठीले बिहीबार मात्रै आफूमाथि हातपात गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिनुभएको थियो । ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोसम्बन्धी कसुरमा त्रिपाठीले जाहेरी दिनुभएको हो ।
आक्रमण निन्दनीय भएको मानव अधिकार संगठनको टिप्पणी
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण निन्दनीय भएको नेपाल मानव अधिकार संगठनले बताएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले पेसागत मर्यादा र धर्म तथा व्यावसायिक आचरणमा रही गरेको बहस पैरवी र इजलासभित्र उठान भएका विषयलाई लिएर गरिएको कार्य स्वतन्त्र न्यायालयविपरीत भएको संगठनको ठहर छ । संगठनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई लोकतान्त्रिक प्रणालीको हिमायती हुँ भन्ने दलका समर्थक भन्नेहरूले गरेको व्यवहारले न्यायिक स्वतन्त्रता, निष्पक्ष सुनुवाइको अधिकार, कानुनी शासन, नेपालको संविधानले दिएको स्वतन्त्रता र अधिकार, प्रचलित कानुन तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय कानुनले समेत प्रत्याभूत गरेको न्यायिक प्रतिनिधित्व तथा निष्पक्षताको अधिकारमाथि कुठाराघात भएको यस संगठनको ठहर छ ।’
संगठनले पक्षका तर्फबाट स्वतन्त्रतापूर्वक दबाबरहित बहस पैरवी र न्यायपालिकाबाट निष्पक्ष स्वतन्त्र न्याय प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न माग गरेको छ । साथै विपक्षीको कानुन व्यवसायीमाथि आक्रमण गर्ने जस्ता अराजक, मर्यादाहीन र गैरकानुनी गतिविधि नगर्न नगराउन, दोषीउपर तुरुन्त कारबाही गर्न गराउन र कानुन व्यवसायीको सुरक्षाको उचित प्रबन्ध गर्नसमेत संगठनले अपिल गरेको छ ।
बार इकाइद्वारा विरोध, निष्पक्ष अनुसन्धानको माग
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको प्रयासका विरुद्ध विभिन्न बार इकाइले विरोध गरेका छन् । नेपाल बार, सर्वोच्च अदालत बार, विशेष अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गर्दै उक्त आक्रमणकारी कार्यको विरोध गरेका हुन् । कानुन व्यवसायीमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउने हक नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक हो भन्दै कानुन व्यवसायीमाथि हुने हातपात कुटपिट तथा कुनै पनि प्रकारको भौतिक तथा मानसिक आक्रमण कानुन व्यवसायीउपर मात्र नभई स्वतन्त्र न्यायपालिका र समग्रमा संविधान माथिकै सुनियोजित आक्रमण भएको विभिन्न बार इकाइको जिकिर छ । साथै यस घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न विभिन्न बार इकाइद्वारा माग गरिएको छ ।
कानुनका विद्यार्थी सडकमा
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा विद्यार्थीहरूले बिहीबार नेपाल कानुन क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो’, ‘नीलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो’ लगायतका नारा लगाउनुका साथै प्ले कार्डसमेत प्रदर्शन गरेका छन् ।
आक्रमण पराजित मानसिकताको उपज : डा. शेखर
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज भएको बताउनुभएको छ । बेलायत भ्रमणमा रहनुभएका कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत लोकतन्त्रमा कुनै पनि बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य नभएको बताउँदै आक्रमण कार्य पराजित मानसिकताको उपज भएको बताउनुभएको हो । ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो,’ उहाँले भन्नुभएको छ । उहाँले पराजित मानसिकताबाट भएको आक्रमणको घटनाको नागरिकस्तरबाटै निन्दा हुनुपर्ने पनि बताउनुभएको छ । ‘यस्ता कार्यको सबै मिलेर निन्दा गरौँ । दोषीमाथि कारबाही गर्न ढिला नगरौँ,’ कोइरालाले भन्नुभएको छ ।
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ । बिहीबार सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘यो देशमा लोकतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र कानुनविपरीत काम गर्ने जो सुकैलाई कारबाही हुन्छ’ उहाँले भन्नुभयो, ‘यो गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच