
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको आर्थिक तथा वित्तीय सूचकहरू सुधार हुँदै अर्थतन्त्र लयमा फर्किन थालेको भए पनि बैंकहरूमा कर्जा असुलीमा केही समस्या रहेको बताउनुभएको छ । सोमबार कृषि विकास बैंकद्वारा आयोजित ५८औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा केही समस्या देखिएका कारण खराब कर्जा बढेको भन्दै गभर्नर अधिकारीले अर्थतन्त्र लामो समय शिथिल हुँदा र पछिल्लो समय केही अराजक गतिविधि तथा ऋण नतिर्ने अभियान चलाउने व्यक्ति र समूहका कारण पनि कर्जा असुलीमा समस्या भएको बताउनुभयो । तथापि मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरू हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख रहेको, बाहृय क्षेत्रमा सन्तुलन रहेको, बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै रहेको, बैंकमा तरलता पर्याप्त रहेको, ब्याजदर घटेको, गत वर्षको तुलनामा सरकारी राजस्व बढेको, आयात-निर्यात पनि बढ्न थालेको उहाँले बताउनुभयो ।
कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमताको प्रशंसा गर्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा नै बैंकको मुख्य योगदान रहेको बताउनुभयो । समावेशिता प्रवद्र्धन, ग्रिन फाइनान्स, प्रविधि प्रयोगलगायतका विषयमा बैंकले राम्रो गरिरहेको उहाँको भनाइ थियो ।
बैंक सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तरलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो । आधुनिक बैंकिङ सुविधा, संस्थागत सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिइएको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरूपमा बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । बैंकहरूमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको उहाँको भनाइ थियो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘पछिल्ला दिनमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षितरूपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ । बैंक सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रूपमा अगाडि बढ्नुपर्छ । व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ ।’
ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यसाथ २०२४ माघ ७ गते पाँच करोड अधिकृत पुँजीसहित स्थापना भएको बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यावसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ । हाल बैंकमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ । एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब दुर्ई खर्ब छ अर्ब कर्जा लगानी गरेको बैंकले करिब २० लाख ३४ हजार निक्षेपकर्ताको दुर्ई खर्ब ५९ अर्ब निक्षेप परिचालन गर्दै आएको छ । बैंकको अधिकृत पुँजी २५ अर्ब, जारी पुँजी १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय रहेको छ । संस्थापक सेयरधनी सरकारको ५१ प्रतिशतले हुन आउने सात अर्ब छ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह सेयरधनीको ४९ प्रतिशतले छ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात कायम हुनेछ । बैंकको पुँजीकोषको अवस्था पनि मजबुत रहेको छ । गत वर्ष १३.७५ प्रतिशत रहेको पुँजीकोष अनुपात गत मंसिरसम्ममा १३.१४ प्रतिशत रहेको बैंकले जनाएको छ । आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत कार्य गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी गराउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच