गठबन्धनका संवेदनशील दिनहरू

हिमालय टाइम्स
Read Time = 7 mins

नेपाली राजनीति र राजनीतिज्ञहरूका लागि अबका पाँच-छ दिन सबैभन्दा भयग्रस्त बनिरहेका छन् । कहिले एकातिर र कहिले अर्कातिर गठबन्धन गर्दै आएका पार्टीहरूको भर हुँदैन, ती जता पनि लाग्न सक्ने सम्भावना रहन्छ । इतिहासले यो प्रमाणित गरेकै तथ्य हो । हुन त यसो भनिरहँदा ठूला भनिएका पार्टीहरूको चरित्र पनि यस्तै हो । त्यसो नभएको भए गत तीन महिनादेखि यता जे जस्तो परिदृश्य देखिएको छ नेपाली जनताले यस्ता परिदृश्य देख्नु पर्दैनथ्यो । पहिलेको गठबन्धनमा रहेका पाँच दलहरू संसारकै इतिहासमा दुर्लभ देखिएको चुनावी गठबन्धन पनि गर्ने तर चुनाव सकिनासाथ त्यही गठबन्धन छिन्नभिन्न हुने नै थिएन ।

के होला, कसो होलाको अवस्था सधैं रहिरहृयो तर सानो पराले झुपडीलाई ठूलो हुण्डरीले उडाए जसरी साढे दुई महिना हुँदा नहुँदै सरकारको गठबन्धन टुट्न पुगेको छ । यसको कारण जेजुकै होस् र जसरी टुटेको होस् टुटेको कुरा चाहिँ निश्चित हो । दोष भन्ने कुरा चाहिँ एउटाले अर्कालाई र अर्काले अर्कालाई लगाउँछन्, त्यो स्वाभाविक हो । किनभने बिग्रेको अवस्थामा अरूलाई र सप्रेको जति चाहिँ आफूले गरेको हुँ भनेर जस लिन चाहने त मानव स्वाभाव नै हो । गत १३ गते विभिन्न आठ दलको गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्रको उम्मेदवारी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा दाखिल भएको छ ।

उहाँको विजय सुनिश्चित देखिएको छ तर नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङको पनि उक्त पदमा उम्मेदवारी परेको छ । त्यस कारण अहिले जो सबल देखियोस् र जो दुर्बल देखियोस् त्यसले कुनै फरक पार्दैन फरक पार्ने चाहिँ आगामी निर्वाचन हुने फागुन २५ गतेको मतदान र प्राप्त मत परिणामले हो । अमेरिकारको तत्कालीन राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनको विजयको सुनिश्चितता सबैले आकलन गरिरहेको अवस्थामा एकाएक डोनाल्ड ट्रम्पको विजयले सबैलाई आश्चर्यचकित त पारेकै थियो नि ∕ त्यसरी नै परिणाम उल्टिने अवस्था रहला कि भनेर सतर्कता सबैले अपनाउँनै पर्छ । बाहिर जति नै ढुक्क भए पनि भित्र चाहिँ मनोवैज्ञानिक त्रास नेपाली कांग्रेसलाई पनि नहोला भन्न सकिँदैन ।

त्यसैले त उसले विपक्षी विशेषतः नेकपा एमालेलाई चेतावनी दिएको छ । मतहरू खेर नजाउन् भन्ने अभिप्रायले सातै प्रदेशका सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ । यसरी वर्तमान दिनहरूमा राजनीति चलायमान बनिरहेको छ, अहिलेसम्म चाहिँ आठ दलीय गठबन्धनतर्फको पल्ला नै भारी भएको छनक छ । आठै दल एक ढिक्का भएर लागेको खण्डमा रामचन्द्र पौडेलका पक्षमा बहुमत नपुग्ने कुरै भएन तर ‘भोट क्रस’को सम्भावनालाई नकार्न नमिल्ने तर्कले समेत बलियो स्थान जमाएको छ । त्यसैले हाल चलिरहेको एक पक्षले मत तान्ने प्रयास गर्ने र अर्को पक्ष जोगाउनेतर्फ लाग्ने अवस्था एक प्रकारको लुकामारीकै रूपमा चलिरहेने अवस्था छ ।

त्यसकारण आठदलीय गठबन्धनले आफ्ना पक्षका उम्मेदवारलाई विजयी गराउन निर्वाचनका दिनसम्म पनि अडिक भएरै लागि पर्नुपर्ने अवस्था छ । यस्तै त्रासकै कारण हुनसक्छ नेपाली कांग्रेसले गठबन्धन नभत्काउन आफ्नो प्रतिस्पर्धी पक्षलाई कडा चेतावनी दएको । चेतावनी भनेको मौखिक कुरा हो त्यतिले मात्रै अर्को पक्ष केही नगरी बस्छ भन्ने होइन । प्रतिस्पर्धीले चेतावनी दिँदैमा उसले आफ्नो चुनावी अभियान रोक्दैन । आपूm विजयी बन्ने अभियानमा सक्रिय रहिरहन्छ । त्यसकारण बाहिर अरूलाई चेतावनी दिनेभन्दा आफ्नो निर्वाचन रणनीति सबल बनाउनेतर्फ लाग्नु बुद्धिमत्तापूर्ण हुन आउने कुरामा द्विमत छैन । बाहिर आएका हल्लाहरूलाई आधार मान्न सकिँदैन र तिनमा प्रामाणिकता हुँदैन तर ती सबै निराधार नै हुन् भन्ने पनि होइन । बाहिरी चर्चानुसार भोटक्रसको सन्दर्भले पूर्णरूपमा विश्वस्त भएर बसेकाहरूकै अवस्था बिग्रन कत्ति बेर लाग्दैन ।

त्यसतर्फ गठबन्धनले सोच्नै पर्ने हुन्छ । एमालेले अरू दललाई आफ्ना पक्षमा पार्न अनेकौं हर्कत गरिरहेको भन्ने चर्चा आमरूपमा बाहिर आइरहेको छन् । एमालेको आस पनि गठबन्धनका दलहरूको ‘भोट क्रस’ गराउन सक्छु कि भन्ने नै हो, नत्र उसका पक्षमा आवश्यक मत पुग्न सक्ने सम्भावनै छैन । अहिलेको सन्दर्भमा भोट क्रसको अपेक्षा नभएको भए नेकपा एमालेले राष्ट्रपतिका लागि आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार खडा गर्ने थिएन । गठबन्धनमा रहेका आठ दलहरूले यस कुरालाई गम्भीरतापूर्वक मनन् गर्नुपर्ने यही हो । नत्र निर्वाचन सकिएर सरकार बनाउने क्रममा नेपाली कांग्रेसबाट जुन गम्भीर त्रुटि हुन पुग्यो र अहिले पछुतो गरेर बसिरहेको छ, त्यसकै पुनरावृत्ति फेरि भयो भने नेपालको राजनीति पुनःफरक बाटोबाट अगाडि बढ्ने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?